भनिन्छ राम्रो पढ्नेहरू नै राम्रो नेता बन्छन् । राम्रो सिक्नेहरू नै राम्रो कमाउने हुन्छन् । सिकाउन कहिल्यै नथाक्ने शिक्षक र सिक्न जहिल्यै उत्सुक विद्यार्थीले नै देशको मुहार फेर्छन् । युरोप–अमेरिका लगायत विकसित देशहरूको प्रगतिले यो यथार्थ प्रस्ट पार्छ । तर नेपालमा स्थिति यस्तो छैन ।
नेपालमा विद्यार्थीमा अध्ययनप्रतिको रुचि घट्दो छ । स्कूल, कलेज सबैतिर नतिजा खस्कँदो छ । विचलन बढ्दो छ । यो अत्यन्तै दुःखद् कुरा हो । देश विकास र सफल विद्यार्थी निर्माणका लागि विद्यार्थीको यो अरुचि र विचलन हटाउनै पर्छ । त्यसनिम्ति यसका कारण र निराकरणबारे प्रस्ट हुनुपर्छ ।
विचलनका तत्व हटाउने : एक जना सिद्धहस्त मूर्तिकारलाई एक पटक तपाईं कसरी यति अद्भुत सुन्दर मूर्ति बनाउनुहुन्छ भनेर सोध्दा उहाँले भन्नुभएको थियो, ‘म केही गर्दिनँ, मात्र राम्रो मूर्ति बन्नका लागि अनावश्यक भागहरू खोपेर यी ढुंगाबाट हटाउँछु ।’
सफल विद्यार्थी बन्न पनि विद्यार्थी जीवनबाट विद्यार्थी कालका विचलनका तत्वहरू हटाउनुपर्छ । फेसबुक, टिकटक, रेडिट, स्नापच्याट जस्ता सामाजिक सञ्जाल, खेलकुद, मोबाइल गेम, राजनीति, लागूऔषध लगायतका अनावश्यक विचलनका तत्वहरूबाट मुक्त हुनसके भने मात्र पनि विद्यार्थी जीवन सफल हुन्छ । अनावश्यक चिजमा धेरै समय दिइयो भने आवश्यक चिजको लागि समय अपुग हुने भएकोले विचलनका तत्वबाट ध्यान विकेन्द्रित गर्नु अनिवार्य छ ।
एक क्षण पनि समय खेर नफाल्ने : भनिन्छ एक गेडी त हो नि भनेर अन्न खेर फाल्नेले धन कमाउन सक्दैन, एक क्षण त हो नि भनेर समय खेर फाल्नेले विद्या कमाउन सक्दैन । विद्यार्थीले यो भावनाका साथ काम गर्न सकेन भने अर्थात् एक क्षण मात्र हो नि भनेर समय खेर फाल्ने बानी बसाल्यो भने त्यो विद्यार्थी सफल हुँदैन ।
विद्यार्थीले सबै काम सिध्याएर घरमा दिनमा ५–६ घन्टा फ्री समय पाउँछ । यो समय कसरी प्रयोग गर्छ भन्नेमा नै सफलता भर पर्छ । यो समय पनि सामाजिक सञ्जाल लगायत विचलनमा बितायो भने असफल भइन्छ, पढाइमा बितायो भने सफल भइन्छ ।
समय खेर फाल्ने, दुरुपयोग गर्ने काम गर्दै गयो भने त्यही अनुसारको लत बस्दै जान्छ । समय सदुपयोग गर्ने अभ्यास गर्दै गयो भने त्यही अनुसारको बानी र रुचि बस्दै जान्छ । पूर्वतिर हिंड्यो भने झन्–झन् पूर्व पुगिन्छ, पश्चिमतिर हिंड्यो भने झन्–झन् पश्चिमतिरै पुगिन्छ । दिशा महत्वपूर्ण होस् बानी भनेको राम्रै बसाल्नुपर्दछ भनेको यही हो ।
विद्यार्थी सुखार्थी हुनुहुँदैन, सुखार्थी विद्यार्थी हुन सक्दैन : आजकलका विद्यार्थी धेरै सौखिनदार छन् । धेरै सुख–सुविधा खोज्छन् । खेलकुद, मनोरञ्जनमा बढी ध्यान दिन्छन् । तर वास्तवमा सुखार्थी मानिस विद्यार्थी हुन सक्दैन र विद्यार्थी सुखार्थी हुनुहुँदैन । विद्यार्थी जीवन भनेको त मिहिनेत गर्ने संघर्षको जीवन हो । भनिन्छ, कुकुरको जस्तो निद्रा, बकुल्लाको जस्तो ध्यान, कागको जस्तो प्रयत्न, थोरै खानु, घर छोड्नु– विद्यार्थीका पाँच लक्षण हुन् ।
संघर्षको सुख नै सर्वश्रेष्ठ सुख हो भन्ने कुरा विद्यार्थीले मन्त्रको रूपमा लिनुपर्छ । विद्यार्थी जीवनमा जति दुःख, कष्ट, संघर्ष गर्यो, पछि त्यति नै सुख हुने हो, मीठो फल प्राप्त हुने हो । राम्रो पढे, राम्रो अंक आउने, राम्रो अंक ल्याए, राम्रो काम र अवसर पाउने हो ।
लेखेर पढ्ने बानी बसाल्ने : किताब हेर्दा आउँछ जस्तो लाग्ने तर त्यही कुरा परीक्षा लेख्न नसकिने हुनुको मुख्य कारण लेखेर पढ्ने बानी नहुनु हो । बुझ्नु ठूलो कुरा हो भने बुझाइलाई पुस्तिकामा उतार्नु झन् ठूलो कुरा हो । लेखेर पढ्यो भने मात्र बुझाइलाई उत्तरपुस्तिकामा उतार्न सजिलो हुन्छ । त्यसैले लेखेर पढ्नुपर्छ । लेखेर पढ्दा स्मरण शक्ति, शुद्धता र आत्मबल वढ्छ । हिसाब जस्तो विषयमा त लेखेरै अभ्यास गर्नुपर्छ । विज्ञान आदिमा चित्र र तथ्यांक सहित पढ्नुपर्छ ।
प्रतिभालाई निरन्तरताले जित्ने : झरनामा नरम पानीले पनि कडा चट्टानलाई खियाउँछ, निरन्तरताले गर्दा । त्यसै गरी नियमित पढ्ने औसतको विद्यार्थीले पनि प्रतिभावान् विद्यार्थीलाई उछिन्न सक्छ । त्यसैले विद्यार्थीले नियमित पढ्ने बानी बसाल्नुपर्छ । नियमित पढ्ने भन्नाले कक्षामा नियमित बस्ने र अनुशासित बन्ने भन्ने पनि पर्छ ।
सफलता भनेको प्रतिभा र मिहिनेतको योगफल हो । प्रतिभाले कडा परिश्रम गर्दैन भने कडा परिश्रमले प्रतिभालाई हराउँछ भन्ने भनाइ नै छ । अघिल्लो रात अनिंदो बसेर हैरान हुनुभन्दा नियमित अध्ययन गर्नु सबै हिसाबले श्रेष्ठकर छ ।
किताब नै पढ्ने : प्रविधिको जति विकास भए पनि ज्ञानको मुख्य स्रोत किताब नै हो । अहिले कतिलाई प्रविधिको विकासले गर्दा किताब पढ्नुपर्दैन, सबै इन्टरनेटमा छ, त्यहींबाट बुझ्न सकिन्छ भन्ने लाग्छ । तर कुरा त्यस्तो होइन । किताबमा जति सही र गहिरो ज्ञान अरूबाट प्राप्त हुँदैन । अझ भ्लगर, युट्युबर, टिकटिकर वा सामाजिक सञ्जालमा विश्वास गर्नु या भर पर्नु त बेकार नै छ ।
किताब भनेको दाल, भात, तरकारी या मुख्य खुराक हो भने इन्टरनेट वा अरू भनेको अचार जस्तै मात्र हो । खाना खाँदा अचार मात्र खानुहुँदैन । बिरामी भइन्छ । शरीर स्वस्थ र बलियो बनाउन दाल, भात, तरकारी नै खानुपर्छ । तर अहिलेका युवाहरू अचार मात्र खान खोज्छन् । यो गलत छ । सफल विद्यार्थी बन्न किताब नै अध्ययन गर्नुपर्छ । विचलन र भ्रममा पर्नुहुँदैन । तर पूरकको रूपमा सूचनाप्रविधि र अरूको पनि प्रयोग गर्न सकिन्छ ।
सूचनाप्रविधिको सदुपयोग गर्ने : सूचनाप्रविधिको दुरुपयोगले विद्यार्थीलाई बहकाउँछ भने सदुपयोगले सघाउँछ । सूचनाप्रविधिको सदुपयोगले अध्ययन–अनुसन्धानमा महत्वपूर्ण सहयोग लिन सकिन्छ । इन्टरनेट मार्फत आफ्नो रुचि अनुसारको अध्ययन सामग्री, अनुसन्धान पत्र, दस्तावेज प्राप्त गर्न सकिन्छ । अध्ययन–अनुसन्धान गर्न सकिन्छ । सूचनाप्रविधिको सदुपयोग गर्नु या गर्न जान्नु ज्ञानको नयाँ आँखा हुनु जत्तिकै भइसकेको छ ।
प्रविधिको विकासले सानो चिप्समा पनि धेरै चिज अटाउने, एउटै मोबाइलमै हजारौंको फोन नम्बर, लाखौं फोटो, दस्तावेज र भिडिओ राख्न सकिने, अथाह तथ्याङ्क र सूचनाहरू सुरक्षित गर्न सकिने भएकोले अध्ययनमा नयाँ मोड आएको छ ।
प्रविधिसँगै विकास भएको भ्रमबाट बच्ने : विकाससँगै ‘विनास’ भने जस्तै प्रविधिको विकाससँगै भ्रमको पनि ‘विकास’ भएको छ । प्रविधिको विकाससँगै सूचना–सञ्चारमा आएको बाढीले कुन सही, कुन गलत छुट्याउन गाह्रो छ । एकातिर जीवन उपयोगी भन्दा क्षणिक मनोरञ्जनको लागि प्रविधिको प्रयोग हुँदा चेतनालाई उत्तेजनाले जितेको छ भने अर्कोतिर धुवाँदार गलत प्रचारले गर्दा युवा पुस्ता प्रचारबाजीको शिकार बनेको छ । ग्राहमको नियम अनुसार बजारमा खोटो सिक्काले असल सिक्कालाई विस्थापित गरेको छ ।
पढ्न किन पर्यो र कलेज छोडेका पनि सफल भएका छन्, अर्बपति भएका छन् भन्ने जस्ता एकतर्फी धुवाँदार प्रचारले कलेज छोड्नेलाई प्रश्रय मिलेको छ । तर ती कलेज छोडेका अर्बपतिहरूले हप्ताको कति वटा पुस्तक पढ्छन्, रातो–दिन कति मिहिनेत गर्छन् भन्ने प्रचार नहुनाले कलेज छोड्ने तर नपढ्नेको लर्को बढेको छ ।
विदेश गएपछि स्वर्ग नै पुगे जस्तो, विदेशको भन्ने वित्तिकै जुनै शिक्षा पनि स्तरीय शिक्षा जस्तो प्रचार छ, गरिन्छ । यो ठूलो सांस्कृतिक आक्रमण हो । वास्तवमा विदेशमा जाने भनेको हामी तिनीहरूको सस्तो मजदुर र दोस्रो, तेस्रो दर्जाको नागरिक बन्न जाने हो । विदेशमा काम गरेर पढ्नुपर्ने र नेपालको भन्दा कम क्रेडिट आवरको पढाइ हुने भएबाट त्यो पढाइ राम्रो होइन भन्ने प्रमाणित हुन्छ ।
सफल विद्यार्थी बन्नका लागि प्रदर्शनी प्रभाव, मिडिया माइन्ड म्यानुपुलेसन, झुटा प्रचार आदिबाट बच्न आवश्यक छ ।
कखरा सिके पो कविता : अहिले कति मानिसलाई स्कूल, कलेज किन पढ्न पर्यो र इन्स्टिच्युटतिर केही सीप सिके भैहाल्यो भन्ने छ । शिक्षालाई श्रमसँग जोड्नुपर्ने एउटा पक्ष त छ तर कखरा नसिकी कविता लेख्न सकिंदैन । लेखे पनि धेरै त्रुटि हुन्छ । आधारभूत कुरा सबै जान्नैपर्छ । सुमधुर गीत निकाल्न शास्त्रीय संगीत सिक्नुपर्छ भने जस्तै ज्ञान विज्ञान बुझ्न शास्त्रीय अध्ययन चाहिन्छ ।
अहिले केही विशेष घटना या अपवादलाई देखाएर त्यसलाई नै नियम मान्ने वा नियम झैं गरी व्याख्या गर्नेहरू पनि धेरै छन् । कुनै चिजलाई घटनाको आधारमा होइन शास्त्रीय ज्ञानको आधारमा विश्लेषण गर्नुपर्छ । अनि मात्र वैज्ञानिक विश्लेषण हुन्छ र सही निचोडमा पुग्न सकिन्छ ।
भाग्यमा होइन मिहिनेतमा विश्वास गर्ने : आजकल पढे–लेखेको भए पनि कतिपय मानिस असफल भएपछि भाग्यलाई दोष दिन पुग्छन् । परीक्षामा असफल भयो भने वा कतै प्रवेश परीक्षामा नाम निस्केन भने, भाग्यमै रहेनछ भन्छन् । वास्तवमा भाग्यमा नभएको होइन मिहिनेत नपुगेको हो । सफलता भनेको मिहिनेत र प्रतिभाको योगफल हो । त्यो नपुगेको हो ।
भाग्य नै निर्णायक हुने भए त, भाग्य अति नै बलियो भनिएको दिनमा कोही गाडी चलाउन नै नआउने मानिस ट्रायल दिन गए पास हुनुपर्ने; तर पास हुन्न । पास हुनको लागि सिक्नु पर्यो, जान्नु पर्यो, अभ्यास गर्नु पर्यो, खुबी र सीप हुनुपर्यो । त्यसैले निर्णायक भाग्य होइन मिहिनेत हो ।
भाग्य नै सबथोक हुने भए बाटो काट्दा जेबाक्रसमा किन दायाँ–बायाँ हेर्न पर्यो र भन्ने स्टेफन हकिन्सको भनाइ नै छ नि ! अर्को कुरा भाग्यमा विश्वास गर्नाले मान्छेलाई अल्छी बनाउँछ भने मिहिनेतमा विश्वास गर्नाले मान्छेलाई मिहिनेती बनाउँछ ।
धारणा स्पष्ट गरेर पढ्ने : पढ्दाखेरि घोकेर भन्दा पनि बुझेर पढ्नुपर्छ । धारणा स्पष्ट गरी पढ्नु र कण्ठ गर्नुमा गुणात्मक रूपमा धेरै फरक हुन्छ । किताब पढ्नु र सामाजिक सञ्जाल या इन्टरनेट हेर्नुमा यही फरक छ । २ गुणा २+२.४ हुन्छ भन्ने जान्ने तर कसरी हुन्छ भनेर नजान्नेलाई १+३ कति हुन्छ, १+१+१+१ कति हुन्छ थाहा हुन्न । घोकेर पढ्नेले वास्तविक जीवनको समस्या हल गर्न सक्दैन । त्यसैले बुझेर पढ्नुपर्छ ।
परिश्रम, परिश्रम, परिश्रम : विश्वका धेरै विद्वान्ले जति ज्ञान प्राप्त गरे ती सबैको आधार विद्यार्थीकालको अध्ययन नै भनेका छन् । त्यसैले विद्यार्थीकालको मिहिनेत अति नै महत्वपूर्ण हुन्छ । र, मिहिनेतको विकल्प पनि छैन । क, ख, ग नसिकी कविता पढ्न, लेख्न सिकिन्न । र त, नवआगन्तुक विद्यार्थीलाई विश्मार्कले भनेका थिए, “नव आगन्तुकहरूलाई मेरा तीन शब्द परिश्रम, परिश्रम, परिश्रम ।”
(लेखक काठमाडौं इन्जिनियरिङ कलेजका एसोसिएट प्रोफेसर तथा कम्प्युटर इन्जिनियर हुन् ।)
प्रतिक्रिया 4