गर्भ रहेको ४० सातापछि गर्भावस्थाको अवधि करिब-करिब पूरा हुन्छ । यसपछि कतिबेला प्रसव व्यथा सुरु हुन्छ पत्तो हुँदैन । कहिलेकाहीं चिकित्सकले दिएको मितिमै प्रसव नभई केही दिन ढिलो वा छिटो पनि हुनसक्छ ।
यस्तोमा केही शंकास्पद असामान्य लक्षण देखियो भने सतर्क हुनैपर्छ । किनकि ती लक्षण व्यथा लाग्नुपूर्वको सङ्केत हुनसक्छ । केही असामान्य सङ्केत देखिए तुरुन्त अस्पताल जानुपर्छ ।
के कस्ता सङ्केत देखिन्छ ?
अत्यधिक थकान अनुभव हुनु
गर्भावस्थाको नौ महिने अवधिभर नै थकान महसुस भइरहन्छ । तर व्यथा लागेको खण्डमा थकाइ थप बढ्छ, पूरा शरीर कुनै भारले थिचेको अनुभव हुन्छ । यदि गर्भावस्थाको महिना अवधि सकिन लाग्दा थकाइ अनुभव हुन थाल्नु व्यथा लागेको बुझ्नुपर्छ ।
आँखा धमिलो हुनु र टाउको दुख्नु
कसैलाई मिति आउने समयमा व्यथा लाग्ने बेला आँखा धमिलो वा टाउको दुखाइ हुनसक्छ । यो सबैलाई नभई त्यो समयमा रक्तचाप बढेमा रक्तचापको परीक्षण गर्नुपर्छ । रक्तचापको परीक्षण गर्दा तीन पटकसम्म पनि १४०/९० भन्दा बढी आएमा तुरुन्त अस्पताल जानुपर्छ । यो व्यथा लागेको संकेतका साथै आकस्मिक भर्ना हुनुपर्ने बेला पनि हो ।
तल्लो पेट दुख्नु
तल्लो पेट दुखाइ तीव्र रूपमा बढ्दै जान्छ । पेट पनि ढुङ्गा जत्तिकै साह्रो हुन थाल्छ । पहिला मन्द दुखाइ केही सेकेन्ड हुने र हराए जस्तो हुन्छ । त्यो पहिलो मन्द दुखा दोस्रो चरणमा पुग्दा कडा हुँदै जान्छ । केही मिनेट हुँदै दुखाइको अवधि लम्बिन थाल्छ ।
यस्तोमा कुनै औषधि खाएर पनि निको हुँदैन । मिति पुगेको खण्डमा व्यथा लागेको बुझिन्छ ।
रगत मिश्रित योनीस्राव
तीव्र पेट दुखाइसँगै योनीबाट हल्का रगत मिश्रित श्राव बग्न थालेमा पनि व्यथा सुरु भएको सङ्केत हो । रगत बग्नु भनेको गर्भाशयबाट शिशु जन्मिन तयार छ भन्ने सङ्केत पनि हो ।
पानी फुट्ने
दुखाइ वा बस्न र उठ्न समस्या छैन । तर योनीबाट चौलानी जस्तो स्राव बग्न थाल्यो भने शिशु वरिपरिको थैलो फुटेको अवस्था पनि व्यथा लागेको सङ्केत हो ।
तल्लो ढाड दुख्नु
शरीर प्रसवका लागि तयार हुँदा महिलालाई प्रायः पेटको तल्लो भागमा दुखाइ हुन थाल्छ । कहिलेकाहीं यो दुखाइ धेरै तीव्र हुन्छ । सुत्केरीको पीडा सुरु हुनुभन्दा केही समयअघि ढाड दुख्ने गर्छ । यो पीडा आउने र जाने भइराख्छ । यदि योनीस्रावको साथै ढाड दुख्ने समस्या छ भने शरीर छिट्टै प्रसवका लागि तयार भएको बुझिन्छ ।
पखाला लाग्ने
व्यथा लाग्नुपूर्व पखाला चल्न सक्छ । वास्तवमा यो समय महिलाको हड्डी तथा जोर्नीहरु लचिलो हुन्छ । आराम गराउने हर्मोनको वृद्धिले शरीर पहिलेको भन्दा लचिलो हुन्छ । यो हर्मोनले प्रभाव पाचनमा पार्ने भएकाले पखाला लाग्न सक्छ ।
यी सङ्केत देखिएको छ भने तुरुन्त अस्पताल जानुपर्छ । त्यस्तै, शिशु दिनमा आठ पटकभन्दा कम चले पनि एकपटक चिकित्सकलाई भेट्नैपर्छ ।
बेचैन हुने
कुन ठाँउमा दुखेको ठयाक्कै थाहा नहुने तर छटपट भइरहन्छ भने पनि व्यथा लागेको सङ्केत हुनसक्छ ।
सङ्केत नदेखिए पनि अस्पताल जानुपर्छ
प्रसवको मिति नजिकिंदै छ वा मिति नाघिसक्यो तर व्यथा लागेको कुनै सङ्केत देखिएको छैन भने ढुक्कसँग बस्नु हुँदैन । कुनै सङ्केत नदेखिए पनि चिकित्सकसँग समय लिएर अस्पताल भर्ना बस्नुपर्छ ।
प्रसव हुनुपर्ने मितिभन्दा समय बढी कटेमा गर्भेशिशुले आफ्नो दिसा खानेदेखि अन्य जटिलता आउन सक्ने हुँदा प्रसव गराउनैपर्ने हुन्छ । त्यसका लागि चिकित्सकले स्वास्थ्य अवस्था परीक्षण गरी व्यथा चल्ने औषधि चलाउन सक्छन् । औषधि लिएको केही क्षणमा व्यथा लाग्न सुरु हुन्छ ।
प्रतिक्रिया 4