+
+

शेखर सम्झँदै गगनले भने– सबैलाई ठाउँ चाहिन्छ, मान चाहिन्छ

शेखरकै गृह नगरमा आयोजित प्रदेश सम्मेलनमा बाेल्दै महामन्त्री थापाले भनेका छन्, ‘पार्टीमा टेक्निकल कुरा गरेर मात्रै हुँदैन, राजनीतिक कुरा हो मिलाउनुपर्छ, सबैलाई मिलाउनुपर्छ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २२ गते १५:५७
फाइल तस्वीर

२२ मंसिर, विराटनगर । नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाले नेता डा. शेखर कोइरालाले कोशी सम्मेलन बहिष्कार गरेकोप्रति लक्षित गर्दै सबैलाई ठाउँ र मान चाहिने बताएका छन् ।

कोइरालाकै गृहनगर विराटनगरमा आयोजित सम्मेलनमा सहभागी हुन पुगेका महामन्त्री थापाले टेक्निकल कुरा गरेर पार्टीभित्र एकता हुननसक्ने जिकिर गरे ।

‘पार्टीभित्र एकता अनिवार्य छ, सबैलाई मिलाएर लैजाने कुरा अनिवार्य छ,’ महामन्त्री थापाले भने, ‘पार्टीमा टेक्निकल कुरा गरेर मात्रै हुँदैन, राजनीतिक कुरा हो मिलाउनुपर्छ, सबैलाई मिलाउनुपर्छ।’

कोइरालाले शनिबार विराटनगरमा चलिरहेको पार्टीको प्रदेश सम्मेलन बहिष्कार गरेका छन् । कोइराला चितवन पुगेर त्यहाँ आयोजित दुई शोकसभामा सहभागी भएका छन् । प्रदेश सम्मेलनको मञ्चमा सभापतिपछिको वरियता कोइरालाले मागेका थिए ।

सोहीप्रति लक्षित गर्दै महामन्त्री थापाले भने, ‘सबैलाई ठाउँ चाहिन्छ, सबैको मान चाहिन्छ, जित्ने हार्ने सबैलाई मिलाएर लैजानुपर्छ, किन कि हामी सबै खालका छौं नि त ।’

नेतृत्वले सबै पक्षलाई मिलाएर लैजानुपर्ने गगनको भनाइ छ ।

कोइराला समूहले गत १८ मंसिरमा विराटनगरमा आयाेजना गरेकाे भेलालाई लक्षित गरी गगनले भनेका छन्, ‘मोरङको एउटा पालिकाको एउटा वडाले सबै मोरङका मान्छे बोलाउँछु जिल्ला सभापति बोलाउँदिन र सुनसरीको सभापति ल्याएर गर्छु भन्यो भने त्यो गर्न पाइन्छ भन्ने कि पाइँदैन ? केन्द्रीय कार्यालयले भनेको त्यति मात्रै हो ।’

पार्टीभित्र विवाद पनि हुने बताउँदै उनले सबैलाई मिलाएर लैजाने विषय अनिवार्य रहेको जिकिर गरे ।

पार्टीका नेताले मिसन २०८४ को बहाना आवश्यक नरहेको बताउँदै महामन्त्री थापाले सरकारमा भएकाले पनि अहिलेदेखि नै काम गर्नुपर्ने बताए ।

‘पार्टी एकातिर सरकार एकातिर भएर होइन, एकिकृत भएर जनतासम्म जान सक्यौं भने ०८४ आफैं हाम्रो पोल्टामा आउँछ,’ उनले भने,‘ ८४–८४ भन्दै भन्दै कराएर आउँदैन । नागरिकको मन जित्न सक्यो भने ०८४ आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?