२४ मंसिर, इलाम । सात मिनेटको अन्तरमा लगातार दुई गोल गरेपछि लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड फुटबल क्लब इलाममा जारी एनआरएनए दोस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
उपाधिको दाबेदार मानिएको बिभागीय टिम त्रिभुवन आर्मीलाई २–१ गोल अन्तरले पाखा लगाउँदै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको दोस्रो मिनेटमै आर्मीका निरज चौधरीले पेनल्टी मार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । खेलको अन्तिम १४ मिनेट सम्हालिन नसक्दा आर्मी क्वार्टरफाइनलबाटै घर फर्कन बाध्य भएको छ ।
७६ औं मिनेटमा चर्च ब्वाइजका रोहन कार्कीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । खेलको ८३ औं मिनेटमा चर्च ब्वाइजका बिदेशी खेलाडी अर्मान्डोले गरेको गोल खेलको निर्णयक गोल बन्यो ।
राष्ट्रिय टिममा आवद्ध खेलाडीहरूले भरिएको दुबै टिमले खेल अवधिभर गोल गर्ने थुप्रै अवसरहरू खेर फालेका थिए । पहिलो हाफमा आर्मीले चर्च ब्वाइजलाई दबाबमा राखेपनि दोस्रो हाफपछि चर्च ब्वाइज आर्मीविरुद्ध हावी भएको थियो । आजको खेलमा बिजयी टिमका रोहन कार्की ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ८ हजार प्राप्त गरे ।
चर्च ब्वाइजले आयोजक रेडहर्ष फूटबल क्लब इलामसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । भोलि मंगलबार अन्तिम क्वार्टरफाइनल खेल मच्छिन्द्र फूटबल क्लब काठमाडौं र रेडस्टार फूटबल क्लब झापा बीच प्रतिष्पर्धा हुनेछ ।
मंगलबारको विजयी टिमले सेमिफाइनलमा फाइनल प्रबेशका लागि न्यूरोड टिम (एनआरटी)को सामना गर्नेछ । नेपाल र भारतका आठवटा फूटबल क्लबले सहभागिता जनाएको यस गोल्डकपको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । इलाम गोल्डकपको फाइनल खेल मंसिर २९ गते हुनेछ ।
प्रतिक्रिया 4