+

एनपीएलमा लुम्बिनी र काठमाण्डुबीचको महत्वपूर्ण प्रतिस्पर्धा

२०८१ मंसिर  २६ गते ७:०७ २०८१ मंसिर २६ गते ७:०७
एनपीएलमा लुम्बिनी र काठमाण्डुबीचको महत्वपूर्ण प्रतिस्पर्धा

२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।

काठमाण्डुको कप्तानी करण केसीले गर्दैछन् भने लुम्बिनीमा रोहित पौडेल कप्तान छन् । काठमाण्डुले पाँच दिनको ग्यापपछि खेल खेल्न लागेको हो भने यसबीचमा लुम्बिनीले आफ्ना लगातार चार खेल खेलिसकेको छ ।

अंकतालिकामा काठमाण्डु ३ खेलमा २ अंकका साथ छैटौं स्थानमा छ । त्यस्तै लुम्बिनी ५ खेलमा समान २ अंक भएपनि नेटरनरेटका आधारमा काठमाण्डुभन्दा एक स्थानमाथि पाँचौंमा छ ।

यहाँबाट लुम्बिनीको प्लेअफ सम्भावनाको झिनो आशा बाँकी नै रहँदा काठमाण्डुलाई पनि जित्नुपर्ने दबाब हुनेछ । आजको खेलमा लुम्बिनी विजयी भएमा प्लेअफको आशा बाँकी नै रहनेछ भने काठमाण्डुलाई धक्का लाग्ने छ ।

काठमाण्डु विजयी भएमा प्लेअफको दौडमा ठुलो सहयोग पुग्ने छ भने लुम्बिनी बाहिरिने पक्का हुनेछ । त्यसैले आजको यो खेल दुवै टोलीका लागि महत्वपुर्ण हुनेछ ।

काठमाण्डुले पनि प्रतियोगिताको सुरूवातमा हार व्यहोरेको थियो भने त्यसपछिको खेल जित्दा तेस्रो खेलमा हार व्यहोरेको थियो । पहिलो खेलमा चितवनविरुद्ध कम स्कोरमा अलआउट भएको काठमाण्डुले दोस्रो खेलमा ३ विकेटको जित निकाल्दा तेस्रो खेलमा फराकिलो हार व्यहोरेको थियो ।

काठमाण्डुले हात पारेको त्यो एउटा जित पनि सहज भने थिएन । ३ विकेटको जितमा करण केसीको क्यामिओ र सुमित महर्जनको शान्त इनिङ समावेश थियो ।

काठमाण्डुको टप अर्डरबाट सोचेअनुरूप प्रदर्शन हुन सकिरहेको छैन । विदेशी खेलाडीहरू स्टेफेन एस्किनाजी र माइकल लेभिटले पाएको सुरूवातलाई ठुलो स्कोरमा परिणत गर्न सकेका छैनन् ।

त्यस्तै जेरार्ड एरासमसले ब्याटिङ एकेनासको गरेका छैनन् भने बलिङबाट भने राम्रो गरेका छन् । काठमाण्डुले ब्याटिङमा देखिएको समस्या हल गर्न सकेमा बाँकी चार खेलमा सहज हुनेछ । पेस बलिङमा करण केसी र राशिद खान ठिकै देखिएका छन् भने स्पीनमा एरासमससँगै शाहब आलम र नाथन सोटर ठिकठाक देखिएका छन् ।

काठमाडौंले अब लुम्बिनीपछि जनकपुर, पोखरा र विराटनगरसँग खेल्न बाँकी छ ।

उता लुम्बिनीको अवस्था भने आफ्नो सबै खेल जितेर अन्य नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ । लुम्बिनीले पाँचौं खेलमा आएर मंगलबार जित निकालेको थियो ।

कप्तान रोहित पौडेलले राम्रो अलराउण्ड प्रदर्शन गर्दा अन्यबाट भने कन्सिस्टेन्ट प्रदर्शन हुन सकेको छैन । ओपनिङ कम्बिनेशनमै तीन परिवर्तन गरिसकेको लुम्बिनीले हालसम्म ओपनिङमा राम्रो गर्न भने सकेको छैन । विदेशीबाट साद बिन जफरले राम्रो गरिरहँदा ठुला नाम बेन कटिङ चलेका छैनन् ।

मंगलबारको खेलमा पनि रोहित पौडेलले अलराउण्ड प्रदर्शन गर्दै खेल जिताएका थिए । पेस बलिङमा दुर्गेश गुप्ता र रामोन सिमोण्ड्स ठीकै देखिएका छन् भने स्पीनमा जफर र कप्तान रोहितले राम्रो गरेका छन् भने युवा बलर अभिशेष गौतमले पनि विकेट निकालेका छन् ।

लुम्बिनीले अब काठमाण्डुपछि कर्णालीसँग खेल्न बाँकी छ । लुम्बिनीलाई दुईवटै खेल जित्नुपर्ने दबाब छ भने अन्य नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ ।

खेल : लुम्बिनी लायन्स भर्सेस् काठमाण्डु गुर्खाज

मिति र समय : २६ मंसिर, दिउँसो १ बजे

लुम्बिनी लायन्स सम्भावित ११ : आशुतोष घिरैया, अर्जुन साउद, रोहित पौडेल, टम मूर्स, उन्मुक्त चन्द/बेन कटिङ, सन्दीप जोरा, विवेक यादव, साद बिन जफर, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता/सुर्य तामाङ, अभिशेष गौतम

काठमाण्डु गुर्खाज सम्भावित ११ : माइकल लेभिट, स्टेफेन इस्किनाजी, भीम सार्की, सुमित महर्जन, शंकर राना, जेरार्ड एरासमस, नाथन सोटर, करण केसी, रासिद खान, शाहब आलम, दिपेश कँडेल

नेपाल प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय