जाडो महिनामा दिन छोटो हुन्छ, तापमान घट्छ र सूर्यको उज्यालो पनि कम हुन्छ । यो मौसम शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यका लागि पनि चुनौतीपूर्ण हुनसक्छ । धेरै मानिसलाई जाडोमा मौसमी असर चिन्ता र डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्या देखिन्छन् ।
तर उचित हेरचाह र केही कुरामा विशेष ध्यान दिएमा जाडो महिनामा मानसिक स्वास्थ्यलाई व्यवस्थापन गर्न सकिन्छ ।
पर्याप्त सूर्यको प्रकाश लिने
जाडोयाममा मानसिक स्वास्थ्य समस्या निम्तिनुमा घामको कमीको महत्वपूर्ण भूमिका हुन्छ । सूर्यको प्रकाशले हाम्रो निद्रा र मस्तिष्कमा हुने सेरोटोनिनको उत्पादनलाई प्रभावित गर्छ, जसले मुडमा सुधार ल्याउँछ । त्यसैले जाडोमा मानसिक स्वास्थ्यलाई राम्रो बनाउन घाम ताप्ने, घाममा हिंड्डुल गर्नु राम्रो हुन्छ ।
यदि सूर्यको प्रकाश कम पाइन्छ भने प्राकृतिक सूर्यको प्रकाशलाई नक्कल गर्ने लाइट थेरापीको प्रयोग गर्न सकिन्छ । यसले मौसमी असर भएका व्यक्तिको मानसिक स्वास्थ्यमा मद्दत पुर्याउन सक्छ ।
शारीरिक रुपमा सक्रिय रहने
मानसिक स्वास्थ्य राम्रो बनाउने अर्को उपाय व्यायाम पनि हो । जाडो महिनामा धेरै व्यक्ति घरमै बस्न चाहन्छन्, तर शारीरिक सक्रियता मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । त्यसैले दैनिक व्यायाम गर्नुपर्छ ।
शरीरलाई चलायमान बनाउन हिंडाइ, योग वा जिम जाने जस्ता गतिविधि गर्न सकिन्छ । यसले तनाव घटाउन र मुडमा सुधार ल्याउन मद्दत पुर्याउँछ । यदि जाडो मौसममा बाहिर व्यायाम गर्न जान सम्भव हुँदैन भने नृत्य, स्ट्रेचिङ, योगा जस्ता इन्डोर व्यायाम विकल्प हुनसक्छन् ।
स्वस्थ आहार लिने
जाडो महिनामा धेरैले तातो र भारी खानेकुरा खान्छन् जसले अस्थायी सान्त्वना दिन्छ । तर यस्ता खानेकुराका साथै मानसिक स्वास्थ्यका लागि लाभदायक पौष्टिक खाद्य पदार्थको सन्तुलन पनि महत्त्वपूर्ण हुन्छ । ओमेगा–३ फ्याटी एसिड (जस्तै ओखर), एन्टिअक्सिडन्ट (जस्तै हरियो साग) र भिटामिन (जस्तै भिटामिन डी र बी १२ ) युक्त खाद्य पदार्थले मानसिक स्थिति स्थिर राख्न र ऊर्जाको स्तर बढाउन मद्दत गर्छ ।
अरूसँग सम्पर्कमा रहने
जाडो महिनामा धेरै मानिस एक्लो महसुस गर्न थाल्छन्, जसले मानसिक स्वास्थ्यलाई असर पुर्याउन सक्छ । यसले उदासी र डिप्रेसनलाई बढाउन सक्छ । त्यसैले परिवार र साथीहरूसँग सम्पर्कमा रहनु महत्त्वपूर्ण हुन्छ । चाहे त्यो भर्चुअल नै किन नहोस् । फोन कल वा भिडियो च्याटको माध्यमबाट नियमित रूपमा सम्पर्क रहनु राम्रो हुन्छ ।
पर्याप्त निद्रा लिने
निद्रा मानसिक स्वास्थ्यकालागि अत्यन्त महत्त्वपूर्ण हुन्छ । जाडोको कम उज्यालोले हाम्रो निद्रालाइनलाई असर पार्न सक्छ । जाडो महिनामा शरीरको जैविक घडीमा अनियमितता आउन सक्छ, जसले बिहान उठ्न र राति सुत्नमा कठिनाइ ल्याउँछ । यस्तोमा नियमित निद्राको तालिका बनाउनुपर्छ । सुत्ने बेलामा क्याफिनयुक्त पेय पदार्थको सेवन वा स्क्रिनको प्रयोग कम गर्नुपर्छ । आरामदायी निद्रालाई बढावा दिन लागि सुत्ने वातावरण आरामदायी, शान्त र अँध्यारो छ भनी सुनिश्चित गर्नुपर्छ ।
तनाव घटाउने अभ्यास गर्ने
जाडोको मौसममा विभिन्न कारणले तनाव उत्पन्न हुनसक्छ । यस्तोमा तनाव कम गर्न र मानसिक शान्तिका लागि ध्यान गर्ने, गहिरो सास फेर्ने जस्ता अभ्यास गरेर तनाव कम गर्न र मानसिक स्पष्टता सुधार गर्न सकिन्छ । दैनिक ध्यान वा मनोविज्ञान अभ्यासका लागि केही समय छुट्याउनुपर्छ । जसले दीर्घकालीन मानसिक स्वास्थ्यमा मद्दत पुर्याउँछ ।
सहज र सकारात्मक वातावरण सिर्जना गर्ने
भौतिक वातावरणले मानसिक स्वास्थ्यमा ठूलो भूमिका खेल्छ । त्यसैले वरपरको वातावरण र घरलाई सुरक्षित तथा आरामदायक बनाउन कोसिस गर्नुपर्छ । तातो प्रकाश, आरामदायक कम्बल र सकारात्मक सजावट समावेश गर्नाले वातावरणमा राम्रो असर पार्न सक्छ । साथै बिरुवा वा सुमधुर सङ्गीतले पनि शान्ति ल्याउन मद्दत गर्छ । यसले जाडो महिनामा एक्लोपनको भावना घटाउन मद्दत पुर्याउन सक्छ ।
जाडोको गतिविधिमा रमाउने
जाडो केवल विश्रामको समय मात्र होइन, सिजनसँग मेल खाने गतिविधिमा रमाइलो गर्नुपर्छ । हिउँ खेल्ने, हाइकिङ जाने, स्वादिलो खाना पकाउने वा रुचि भएको गतिविधिमा संलग्न हुँदा मुड सुधार हुन्छ ।
विशेषज्ञको सल्लाह लिने
जाडो महिनामा निरन्तर उदासी, थकान, चिन्ता, निद्रा र खानपानमा परिवर्तन जस्ता गम्भीर मानसिक स्वास्थ्य समस्या भइरहेकव छ भने विशेषज्ञको सल्लाह लिनुपर्छ । मानसिक रोग विशेषज्ञ वा स्वास्थ्य सेवा प्रदायकले मानसिक समस्या व्यवस्थापन गर्न उचित परामर्श र उपचार दिन्छन् ।
प्रतिक्रिया 4