+

वैद्यखानाका निर्देशक भन्छन्- ‘ठिमाहा बीउ रोपेपछि धान कसरी फल्थ्यो र ?’

२०८१ पुष  ५ गते १४:०४ २०८१ पुष ५ गते १४:०४
वैद्यखानाका निर्देशक भन्छन्- ‘ठिमाहा बीउ रोपेपछि धान कसरी फल्थ्यो र ?’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बिहीबार सिंहदरबार वैद्यखानाको निरीक्षण गरी तीन दिनभित्र सुधारको योजना ल्याउन निर्देशन दिए ।

मन्त्रीले निर्देशन दिएको १२ घण्टा पनि नबित्दै वैद्यखानाका निर्देशक डा. प्रदीप केसीले सामाजिक सञ्जालमार्फत पाँचबुँदे समस्या देखाउँदै ती समाधान नभएसम्म कुनै पनि उत्पादन हुन नसक्ने बताएका छन् ।

उनले अहिलेको गठन आदेशले ठिमाहा बीउ रोपेको र त्यसमा धान नफल्ने व्यंग्यात्मक टिप्पणी गरेका छन् । केसीले आफू दुई पटक इच्छा नहुँदा नहुँदै पनि जबर्जस्ती निर्देशक बनाइएको उल्लेख गरेका छन् । उनले कर्मचारी स्वार्थबेगर काम नगर्ने परिपाटी रहेको औंल्याएका छन् ।

अहिलेको गठनादेशले व्यवस्था गरेको कार्यकारी निर्देशकको प्रावधान राख्नु हुँदैन भनेर २०७७ सालमै सुझाव दिएको उनले बताए ।

‘अहिलेको व्यवस्थाले यदि कसैलाई फाइदा गर्‍यो भने त्यो केवल आयुर्वेद समूहका केही नवौं र १० औं तहका कर्मचारीलाई मात्र गर्‍यो तर संस्था झनै टाट पल्टियो’ डा. केसीले भनेका छन्, ‘एक जना मात्र प्रबन्ध निर्देशक हुने समयावधिमा यसले १२ जना कार्यकारी निर्देशक पाइसकेको छ । जसमा म पनि इच्छा विपरीत दुई पटक सामेल भइसकेको छु । ठिमाहा बीउ रोपेपछि धान कसरी फल्थ्यो र ?’

डा. केसीले ठेकेदारसँग साँठगाँठ गरी उत्पादन प्रणाली ध्वस्त पार्ने र संस्था टाट पल्टाएर आफ्नो रोटी सेक्नेलाई समितिले कारबाहीको दायरामा ल्याउनुपर्ने तर अहिलेको समितिमा त्यो तागत नभएको बताएका छन् ।

वैद्यखानालाई विकास समितिले नै सञ्चालन गर्ने २०७७ साल अघिकै समिति गठनादेश ब्युँताएर चारवर्षे कार्यकालसहितको प्रबन्ध निर्देशकलाई राजनैतिक नियुक्ति मन्त्रिपरिषदबाट गर्नुपर्ने उनले सुझाव दिएका छन् ।

वैद्यखानालाई ११ औं तहको कार्यकारी कर्मचारीका लागि विज्ञता, कार्यविवरण, योग्यतासहित पद र दरबन्दी सिर्जना गर्नुपर्ने डा. केसीको भनाइ छ ।

प्रदीप पौडेल सिंहदरबार वैद्यखाना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय