७ पुस, चितवन । गत २ कात्तिकमा पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका–१ लक्ष्मीटाँडीका ६३ वर्षीय जीवबहादुर थिङको बाघको आक्रमणबाट मृत्यु भयो । तीनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाँदा जीवबहादुरको मृत्यु भएको भनिएको थियो । तर, जीवबहादुर घाँस काट्न नभई बाघ मार्न जाँदा पासोबाट फुत्किएको बाघको आक्रमणबाट मारिएको निकुञ्ज प्रशासनको जिकिर छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आइतबार बिहान कसरामा पत्रकार सम्मेलन मार्फत जीवबहादुरको मृत्यु पासोबाट फुत्किएको बाघको आक्रमणबाट भएको र उनी बाघ मार्नका लागि जंगल गएको दाबी गरेको छ ।
बाघ मार्न पासो थाप्ने कार्यमा संलग्न रहेको आरोपमा सोही ठाँउका २० वर्षीय अमृत न्यौपानेलाई निकुञ्ज प्रशासनले नियन्त्रणमा लिएको छ । उनी पक्राउ परेसँगै घटनाको रहस्य खुलेको निकुञ्ज प्रशासनको भनाइ छ।
निकुञ्ज प्रशासनका अनुसार सो क्षेत्रमा घटना भएको केहीदिन अगाडि बाघले बाख्रा मारेपछि बाघ जंगलमा भएको आशंकाले जीवबहादुरले बाघ मार्न पासो थापेका थिए । वन्यजन्तुका लागि शिकार गर्न प्रयोग गरिने १ थान तार घटनास्थल नजिकै देखिएपछि निकुञ्जका कर्मचारी तथा नेपाली सेनाको टोलीले घटनाको रहस्य अर्को भएको हुन सक्ने आशंकामा थप अनुसन्धान गर्दा बाघ मार्नका लागि जीवबहादुरसहित न्यौपाने पुगेको निष्कर्ष निकालेको थियो ।
घटनास्थलबाट सवारीसाधनको ब्रेकको तार, केबलमा प्रयोग हुने तार र रौं अल्झेको जस्तो देखिने तार फेला पारेको थियो । निकुञ्जले विषेश सुराकीको आधारमा गत २९ कात्तिकमा सोही ठाँउका न्यौपानेलाई पक्राउ गरेको थियो ।
नेपाली सेनाको नयाँ गोरख गण तमासपुर पोष्ट र निकुञ्जको तमासपुर रेञ्जपोष्टका कर्मचारीहरूको टोलीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गर्दा न्यौपानेले आफू र जीतबहादुरले बाघ मार्नका लागि जंगलमा पासो थापेको स्वीकार गरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।

निकुञ्जले बरामद भएको रौं अल्भिएको तारलाई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा डीएनए चेक गर्न पठाउँदा उक्त रौं पाटेबाघको भएको पुष्टि भएको थियो ।
रौं बाघको शरीरको माथिल्लो र तल्लो घाँटी जस्ता बाघको भएको र अत्यधिक संर्घषबाट तारमा रौं अड्किएको रिपार्टमा देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए ।
साथै प्रतिवादी न्यौपानेले प्रयोग गरेको मोबाइलको कल डिटेलसहितको डिजिटल परीक्षण गर्दा उनको मोबाइलबाट पासोमा परेको बाघको फोटोसमेत प्राप्त भएको थियो । उनले रुखमा चढेर बाघको फोटो खिचेको स्वीकार गरेको बयान अनुसन्धानका क्रममा दिएको प्रमुख संरक्षण अधिकृत डा. पन्तले बताए ।
पासोबाट फुत्किएको बाघले जीवबहादुरलाई आक्रमण गर्न थालेपछि आफू रुखमा चढेर ज्यान बचाएको बयान न्यौपानले दिएक पन्तले बताए ।
पक्राउ परेका न्यौपानेलाई संरक्षित वन्यजन्तु बाघ मार्ने उद्योग मुद्दामा आवश्यक सजायको माग दाबीसहित जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दायर गरिएको छ । उनलाई आजै अदालत उपस्थित गराइने प्रमुख संरक्षण अधिकृत डा. पन्तले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन (पाँचौं संसोधन) २०२९ को दफा २६ को उपदाफा ५(घ) बमोजिमको कसुर गरेकोले उनलाई सोही दफाको उपदफा १ बमोजिम सजायको माग गरिएको छ ।
ऐनको सो दफामा पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिबाना र पाँच वर्षदेखि १५ बर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. पन्तले बाघको आक्रमणबाट मृत्यु भएका जीवबहादुर वन्यजन्तु मार्ने जस्ता विभिन्न कान्डमा यसअघि पनि पटक–पटक पक्राउ परेका व्यक्ति भएको दाबी गरे ।
उनले बस्तीमा बाघ आएर पशु चौपायलाई क्षति पुर्याएरभन्दा पनि बाघ मारेर त्यसको अखेटोपहार बेचबिखन गर्ने उद्देश्यले पासो थापेको हुनसक्ने आशंका गरिएको बताए । समूहमा गाउँले बसेर छलफल गरेर बाघ मार्ने योजना नबनेको हुँदा जीवबहादुर आफैंले बाघ आउने क्षेत्र खोजेर पासो थापेको हुनसक्ने देखिएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

पक्राउ परेका न्यौपानेलाई उनले साथीका रूपमा प्रयोग गरेको तर भित्री मनसाय भने नखुलाएको न्यौपानेसँगको बयानबाट देखिएको डा. पन्तले बताए । उनीहङले घटनाभन्दा तीन दिन अगाडि सो स्थानमा पासो थापेको देखिएको अनुसन्धान अधिकृत सुजिता श्रेष्ठले बताइन् ।
जीवबहादुरको मत्यु भएपछि उनको परिवारले निकुञ्जसँग १० लाख क्षतिपूर्तिसमेत माग गरेको थियो । जीवबहादुरले थापेको पासोबाट फुत्किएको बाघ अहिलेसम्म पनि जिउँदै रहेको डा. पन्तले बताए ।
‘बाघ वयस्क जस्तो नै छ, हामीले घटना पनि डार्ट गरेर बाघको अवस्था र आवश्यक परे उपचारको प्रबन्ध गर्नुपर्ने हो कि भनेर पनि खोज्यौं । तर, बाघ वयस्क भएकोले घाइते भएको जस्तो देखिएन,’ प्रमुख संरक्षण अधिकृत पन्तले भने, ‘बाघले जीवबहादुरलाई मारेको मात्रै थियो, मासु खाएको पनि थिएन, त्यसले यसलाई नरभक्षी भनिहाल्न पनि मिलेन, पटके पनि देखिएन ।’
वयस्क बाघले हत्तपत्त आक्रमण गर्ने र उसले आफ्नो ‘टोरियोटोरी मेन्टेन’ गर्ने प्रमुख संरक्षण अधिकृत डा. पन्तले बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4