+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

काठमाडौंको एउटै वडाले ४ महिनामा उठायो साढे १० करोड बढी राजस्व

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते १६:१३

९ पुस, काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्बर १० ले चालु आर्थिक वर्ष २०८१/८२ मंसिर मसान्तसम्म साढे १० करोडभन्दा बढी राजस्व उठाएको छ ।

१० वडाले चालु आव पहिलो चार महिनामा १० करोड ५७ लाख ४५ हजार ८ सय ७२ रुपैयाँ बराबर राजस्व उठाएको हो ।

वडाले चार महिना अवधिमा २ करोड ७ लाख ४४ हजार १ सय ७९ रुपैयाँ खर्च गर्दा दोब्बर राजस्व उठाएको हो ।

वडा सचिव सुवोध खड्काका अनुसार आयतर्फ सबैभन्दा धेरै घर बहाल कर ६ करोड ३० लाख ३७ हजार ४ सय ४४ रुपैयाँ संकलन भएको छ ।

दोस्रोमा सम्पत्ति करतर्फ २ करोड १६ लाख ४६ हजार ६ सय २६ र तेस्रोमा व्यवसाय रजिस्ट्रेसन दस्तुर १ करोड ५७ लाख ८९ हजार ९ सय ६० रुपैयाँ संकलन भएको छ ।

१५ करोड खर्च लक्ष्य

‘चालु आर्थिक वर्ष वडाले करिब १५ करोड रुपैयाँ खर्च गर्न सक्छ,’ वडाध्यक्ष रामकुमार केसीले भने, ‘पूँजीगत खर्चमा हामी लक्ष्यमा पुग्छौं । त्यसका लागि अहिले थालिएका काम सकिएमात्र पनि पुग्छ ।’

सुविधा वितरणमा चुनौती रहेको उनको भनाइ छ । ‘परिवार बस्न बनाएको घरमा होस्टल चलाउन दिएर सयौँ व्यक्ति बस्ने अभ्यास मौलाएको छ । पाँच जना बस्ने ठाउँमा ५० जना बस्न थालेपछि खानेपानी कम हुन थालेको छ । ढल निकासको चाप बढेको छ । होस्टलमा कहाँबाट को आउँछ, को कता जान्छ थाहा नभएर असुरक्षा बढेको छ,’ वडाध्यक्ष केसीले भने, ‘यसकारण घरधनीहरूलाई पैसाको मात्र मुख नहेर्न, आवासीय भवनमा व्यावसायिक होस्टल राख्दा हुने नकारात्मक प्रभाव महसुस गर्नुपर्ने बेला भएको छ ।’

चालु आवका लागि वडामा ८२ वटा कार्यक्रम स्वीकृत छन् । जसअन्तर्गत सडक कालोपत्र गर्ने, ब्लक छाप्ने, मर्मत गर्ने, मंगाल सफा गर्ने, ढकन खरिद गर्ने, सोलार राख्ने, ओपन ट्रस राख्ने, सीसीटीभी क्यामरा जडान गर्ने, मर्मत गर्ने, पर्खालमा रङरोगन गर्ने, मन्दिर, ढुङ्गेधारा जस्ता सम्पदा क्षेत्र संरक्षण गर्ने, नदी सफाइ, प्रवेशद्वार निर्माण, बत्ती जडान गर्ने, सूचना प्रविधिका कार्यक्रमको परामर्श सेवा लगायत छन् ।

वडाध्यक्ष केसीका अनुसार वडाले अहिलेसम्म जात्रापर्व सञ्चालन, स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन, सामुदायिक विद्यालयको शैक्षिक सुधार, लक्षित वर्गलाई सिपमूलक तालिम जस्ता कार्यक्रम सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?