
९ पुस, काठमाडौं । नेपालमा मुख्य चाडबाड सकिएसँगै कामको खोजीमा विदेशिने नेपालीको संख्या ह्वात्तै बढेको छ ।
मंसिर २०८१ मा ८४ हजार २ सय २६ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसमध्ये ८ हजार ६ सय ७१ महिला छन् । यो चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा सबैभन्दा बढी नेपाली विदेशिएको महिना हो ।
मंसिरमा विदेशिने नेपालीको संख्या २०८० मंसिरको तुलनामा समेत धेरै हो । विभागका अनुसार सो वर्ष मंसिरमा ७१ हजार २ सय ७६ नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएको तथ्यांक छ ।
यस वर्ष असोजमा ५३ हजार ५ सय २५ र कात्तिकमा ७० हजार ९ सय ९० जना कामको खोजीमा विदेशिएका छन् । यी दुई महिनामा दसैं, तिहार र छठजस्ता मुख्य चाडपर्व पर्ने गर्छन् ।
पाँच महिनामा विदेशिए सवा ३ लाख नेपाली
चालु आव पहिलो पाँच महिनामा सवा ५ लाख नेपालीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा देखिन्छ । विभागका अनुसार साउनदेखि मंसिरसम्म ३ लाख २५ हजार ८ सय ९ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका हुन् ।
यस वर्ष साउनमा ५९ हजार ५ सय ७५ र भदौमा ५७ हजार ४ सय ९३ हजारले श्रम स्वीकृति लिएका थिए । गत वर्ष पहिलो पाँच महिनामा २ लाख ७७ हजार ५ सय ९२ नेपालीले श्रम स्वीकृति लिएका थिए ।
यूएई र साउदीमा नेपालीको आकर्षण
यस वर्ष मंसिरमात्र यूएईमा २४ हजार ७ सय ६९ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । जसमा २ हजार ८ सय ८२ महिला छन् ।
दोस्रो आकर्षण साउदी अरबमा देखिन्छ । त्यहाँ १८ हजार १ सय १५ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ७५ महिला छन् । कतारमा १४ हजार ८ सय ४४ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा १ हजार १ महिला रहेको तथ्यांकमा देखिन्छ ।
मलेसियाको रोजगारी भने निरन्तर ओरालो लागेको देखिन्छ । मलेसियामा मंसिरमा मात्र ४ हजार ४ सय ६९ जनाले श्रम स्वीकृति लिएका छन् । कुवेतमा ६ हजार ६ सय ९०, जापान २ हजार ३ सय ७१ र कोरियाका लागि १ हजार २ सय २५ जनाले श्रम स्वीकृति लिएको तथ्यांक छ ।
मंसिरमा विदेशिनेमध्ये सिरहाका ३ हजार २ सय ९३, सर्लाही २ हजार ४ सय ५४, रुपन्देही २ हजार ६ सय ५४, सुनसरी २ हजार ७ सय ५३, स्याङ्जा १ हजार ७ सय ८० र मनाङका १५ जना छन् ।
सबैभन्दा धेरै धनुषाका ४ हजार ३ सय ७३ जना विदेशिएको तथ्यांक छ । यस महिना विदेशिएका मध्ये अदक्ष कर्मचारीका रूपमा २१ हजार ७ सय १६ जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये २ हजार ३ सय ४० महिला छन् ।
प्रतिक्रिया 4