+
+

फिल्म रिलिज र सह-निर्माणबारे चिनियाँ टोलीसँग चलचित्र विकास बोर्डको छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १९:२६

काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ फिल्मकर्मीको टोली र चलचित्र विकास बोर्डबीच विहिबार फिल्म रिलिज, संस्कृति आदानप्रदान र प्रविधि हस्तान्तरणबारे द्धिपक्षीय छलफल भएको छ ।

बोर्ड अध्यक्ष दिनेश डीसी र चाइना फिल्म एडमिनिस्ट्रेसनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङ नेतृत्वको टोलीबीच प्रस्तुत एजेन्डाहरूमा छलफल भएको हो ।

नेपाली फिल्मलाई चीन र चिनियाँ फिल्मलाई नेपालमा प्रदर्शन गर्न सकिने सम्भावना तथा संयुक्त लगानीमा फिल्म बनाउने बारे छलफल भएको अध्यक्ष डीसीले जानकारी दिए । नेपाली फिल्ममेकरलाई प्रविधि हस्तान्तरण र तालिमको विषयमा पनि कुरा भएको उनले जनाए ।

दुई मुलुकबीच संस्कृति आदानप्रदानलाई बलियो बनाउनेबारे छलफल भएको डीसीले जनाए । उनका अनुसार निर्देशक याङले नेपालले प्रस्तुत गरेका एजेन्डा कार्यान्वयनको लागि आफूले चीन सरकारसँग प्रस्तुत गर्नको लागि समन्वय गर्ने बताए ।

चीनको ठूलो फिल्म निर्माता कम्पनी टाइगर पिक्चर्स इन्टरटेनमेन्टका उपाध्यक्ष ओबेन यङले हङकङ फिल्म मार्टमा आफ्ना योजना पिचिङका लागि बोर्डलाई आग्रह गरेका थिए । हङकङ मार्टसहित चीनको एक फेस्टिभलमा पनि यी कुरा राख्न यङले आग्रह गरेका थिए ।

अध्यक्ष डीसीको कार्यकक्षमा १४ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नै सहभागि थियो । उक्त अवसरमा बोर्डको तर्फबाट नेपालका उत्कृष्ट फिल्म छायांकन गन्तव्यको जानकारी समेटिएको पुस्तक प्रदान गरिएको थियो ।

विहिबार क्यूएफएक्सको छायाँ सेन्टरमा आयोजना गरिएको ‘चाइना फिल्म डे’मा सहभागि हुन चिनियाँ टोली काठमाडौं आइपुगेको हो । टोली विहिबार राती नै बंगलादेशको ढाकातर्फ ढाका फिल्म फेस्टिभलमा सहभागि हुन जाने कार्यक्रम रहेको नेपाल कल्चर एण्ड फिल्म एकेडेमीका प्रमुख केपी पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?