
२५ पुस, काठमाडौं । सर्वपक्षीय सहमति विपरीत सगरमाथा राष्ट्रिय निकुञ्जले सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यवसायिक उडान खुलाएको भन्दै स्थानीय सरकारले आपत्ति जनाएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै निकुञ्जको कदमप्रति आपत्ति रहेको जनाएको हो ।
हेलिकप्टर उडानका सन्दर्भमा यस क्षेत्रका नागरिकको चासो, वर्तमान अव्यवस्था अन्त्य गर्न गाउँपालिका, निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र स्थानीयवासिन्दाको पहलमा हेलिकप्टर उडान व्यवस्थित गर्न गरिएको निर्णय निकुञ्जले तोडेको समेत गाउँपालिकाको भनाइ छ ।
गाउँपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरण र सगरमाथा निकुञ्जको पछिल्लो सूचनाप्रति आपत्ति जनाएको हो । यसअघि उडान रोक्ने वा अनुमति दिने विषय प्राधिकरणको भएको भन्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएका थिए ।
१९ पुसमा जनप्रतिनिधि र अन्य सरोकारवालाबीच छलफल गर्न स्थानीय तहले बैठक डाकेको भन्दै बैठक बस्नु अगाडि नै वायुसेवा कम्पनीबाट अत्यावश्यक उडान रोक्ने निर्णयमा समेत आपत्ति जनाएको छ ।
गाउँपालिका अध्यक्ष मिङमाछिरी शेर्पाले भनेका छन्, ‘वर्तमान समय अन्तरनिर्भरताको हो, निषेधको होइन ।’ विभिन्न बहाना देखाइ हेलिकप्टर उडान स्थगित गर्नु कम्पनीहरू सामाजिक उत्तरदायित्वबाट विमुख हुने र नाफा केन्द्रित प्रवृत्तिमा रहेको पुष्टि हुने समेत उनले बताएका छन् ।
यसअघि गाउँपालिका, निकुञ्ज र स्थानीय सरोकारवालाको सहमतिमा सगरमाथा क्षेत्रमा निश्चित स्थानसम्म व्यावसायिक उडान रोक्ने र आपतकालीन तथा उद्धार उडानमात्र गर्न पाउने गरी निर्णय गरेका थिए । उक्त निर्णय विपरीत सगरमाथा राष्ट्रिय निकुञ्जले उडान गर्न दिने विज्ञप्ति जारी गरेपछि गाउँपालिकाले आपत्ति जनाएको हो ।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4