+
+

पूर्व पोर्नस्टारसँग जोडिएको अभियोगमा ट्रम्पलाई सफाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते २२:२०

२६ पुस, काठमाडौं । अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको एक मुद्दामा उनलाई सफाइ दिएको छ ।

पूर्व पोर्नस्टारसँगलाई आफूहरुबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको मुद्दामा उनले उन्मुक्ति पाएका हुन् ।

समाचार संस्था एएफपीका अनुसार एक न्यायाधीशले शुक्रबार डोनाल्ड ट्रम्पलाई पोर्न स्टारलाई दिइएको गुप्त रकम लुकाएको मुद्दामा बिना शर्त रिहाइको सजाय सुनाए । योसँगै ट्रम्प जेल वा जरिवाना दुवै सजायबाट मुक्त भएका छन् । यही मुद्दामा उनलाई सन् २०२४ मे महिनामा दोषी ठहर गरिएको थियो ।

तर न्युयोर्कका न्यायाधीश जुआन मर्चनले ट्रम्पलाई उन्मुक्ति दिएका छन् जसलाई तुलनात्मक रूपमा उन्मुक्तिको दुर्लभ उपाए भनिएको छ ।

‘यस अदालतलाई पहिले कहिल्यै यस्तो अद्वितीय र उल्लेखनीय परिस्थितिको साथ प्रस्तुत गरिएको थिएन’, न्यायाधीश मर्चनले भने, ‘मुलुकको सर्वोच्च पदमा हस्तक्षेप नगरी दोषी ठहर गर्न अनुमति दिने एकमात्र कानुनी सजाय बिना शर्त रिहाइ हो ।’

ट्रम्प भर्चुअल रूपमा आफ्नो सजाय सुनुवाइमा उपस्थित थिए । न्यायाधीश, वकिल र मिडियाले म्यानहट्टनको अदालत कक्षमा खचाखच भरिएका थिए ।

‘यो निकै डरलाग्दो अनुभव भएको छ । मलाई लाग्छ यो न्युयोर्क र न्युयोर्कको अदालत प्रणालीका लागि ठूलो धक्का हो’ आरोपमुक्त हुनुअघि ट्रम्पले भने, ‘मैले चुनाव हारौँ भन्ने अभिप्रायले यो मेरो प्रतिष्ठालाई हानि पुर्याउनका लागि गरिएको थियो ।’

पूर्वराष्ट्रपति आफ्नो पछाडि दुईवटा ठूला अमेरिकी झण्डा लिएर अदालत कक्षमा पर्दामा देखा परेका थिए । उनले सेतो धर्काहरू भएको रातो टाई लगाएका थिए र छोटो कार्यवाही चलिरहँदा अधीर भएर हेरिरहेका थिए ।

७८ वर्षीय ट्रम्प योसँगै चार वर्षसम्म जेल बस्नुपर्ने सजायबाट बचेका छन् । अब उनले कानुनी रूपमा दोषी राष्ट्रपतिको रूपमा ह्वाइट हाउस प्रवेश गर्नुपर्ने अवस्थाबाट मुक्ति पाएका छन् ।

मुद्दा के हो ?

सन् २०१६ को चुनावअघि पूर्वपोर्नस्टार स्टोर्मी ड्यानल्ससँग ट्रम्पको यौन सम्बन्ध रहेको विषय सार्वजनिक भएको थियो ।

त्यसपछि यो विषयमा उनलाई चुप लगाउन ट्रम्पले १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप लागेको थियो । यो कसुरमा ट्रम्प दोषी ठहरिएका थिए । ट्रम्पले भने उक्त आरोप अस्वीकार गर्दै आफूले गलत काम नगरेको जिकिर गर्दै आएका छन् ।

सन् २०२४ को चुनाव प्रचार अघि यी सहितका अन्य फौजदारी अभियोगको सामना ट्रम्पले गर्नुपरेको थियो । त्यतिबेला उनले आफूलाई राष्ट्रपतिको निर्वाचनमा रोक्ने उद्देश्यले गलत आरोपहरु लगाइएको टिप्पणी गर्दै आएका थिए ।

यद्यपि उनी सन् २०२४ मा राष्ट्रपति पदको निर्वाचनमा विजयी भएका थिए । केही पदहरुमा नियुक्ति समेत गरिसकेका ट्रम्पले जनवरी २० देखि अमेरिकी सत्ता सम्हाल्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?