२७ पुस, काठमाडौं । एक वर्षअघि १२ जनवरी २०२४ नेपाली स्वास्थ्यक्षेत्रको लागि विशेष दिन थियो । किनकी, यो दिन नेपाली इतिहासमै नेपाली चिकित्सकले पहिलोपटक कलेजनो प्रत्यारोपण गरेका थिए ।
त्यसयता एक वर्षको अवधिमा त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण टिमले सातवटा सफल प्रत्यारोपण गरिसकेको छ ।
‘गत वर्षको १२ जनवरी नेपाली कलेजो प्रत्यारोपणको इतिहासमा महत्वको दिन थियो,’ त्रिविमा कलेजो प्रत्यारोपणको नेतृत्व गरिरहेका कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीले भने, ‘त्यो नेपाली इतिहासमै नेपाली चिकित्सकले नै गरेको पहिलो कलेजो प्रत्यारोपण थियो ।’
त्यसयता त्रिविको कलेजो प्रत्यारोपण टिम स्वतन्त्र रूपमा कलेजो प्रत्यारोपण गर्दै आएको छ । डा. भण्डारीका अनुसार पछिल्लो दुई साताअगाडि ५४ वर्षीया महिलाको कलेजो प्रत्यारोपण गरिएको थियो । उनलाई छोराले कलेजो दान गरेका थिए ।
‘एक वर्षमा हामीले सातवटा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिसकेका छौं । यसले हामीलाई ठूलो आत्मविश्वास दिलाएको छ । अब हामी यो संख्यालाई बढाउँदै लैजान्छौं,’ डा. भण्डारीले भने । उनका अनुसार कलेजो प्रत्यारोपण गरेकी महिलाको स्वास्थ्यअवस्थामा सुधार भइरहेको छ भने छोराको डिस्चार्ज गरिसकिएको छ ।
स्वतन्त्र कलेजो प्रत्यारोपण कार्यक्रम सुरु गरेको एक वर्षमा समाजका हरेक क्षेत्रबाट प्राप्त समर्थन र शुभकामनाले आफूहरूलाई उत्साहित बनाएको बताउँदै उनले नेपालमा कलेजो प्रत्यारोपण कार्यक्रमलाई दिगो बनाउन त्रिवि शिक्षण अस्पतालको टोली सक्षम रहेको बताए ।
यो सँगै त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण संख्या १६ पुगेको छ । भण्डारीले स्वदेशी टिम सक्षम बनेपछि महिनामा एउटा प्रत्यारोपण नियमित हुँदै आएको र यसलाई बढाउँदै लानुपर्ने देखिएको बताए ।
एक वर्षअघि नेपाली चिकित्सकले नै सफल प्रत्यारोपण गरेसँगै कलेजो प्रत्यारोपणको लागि भारत जानुपर्ने बाध्यता अन्त्य भएको थियो । भारतमा ५० देखि ७० लाख रुपैयाँ खर्च लाग्ने कलेजो प्रत्यारोपण नेपालमा २५ लाख रुपैयाँमा सम्भव हुँदै आएको छ ।
अंग प्रत्यारोपणमध्ये कलेजो प्रत्यारोपणलाई बढी जटिल मानिन्छ । नेपालमा वार्षिक दुई सय हाराहारी कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अनुमान छ । प्रत्यारोपण सेवालाई दिगो बनाउन नसके नेपालमा समस्या बढ्दै जाने स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् ।
शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने सन्देश बिरामीमाझ नपुग्नु, पुगे पनि नेपाली विशेषज्ञ टिमको क्षमतामा विश्वास स्थापित हुन नसक्नुलगायतका कारण भने सेवा विस्तारमा बाधक बनेको विज्ञ बताउँछन् ।
यस्तै, त्यसबाहेक कलेजो लिने–दिने व्यक्तिको रक्तसमूह, कलेजोको आकार, शरीरको बनावट, कानुनले निर्धारण गरेको पारिवारिक नाता नमिलेका कारण पनि कलेजो प्रत्यारोपण विस्तार हुन नसकेको उनीहरू बताउँछन् ।
प्रतिक्रिया 4