
३ माघ, नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू एसडिएक्स०१ (चेजर) र एसडिएक्स०२ (लक्ष्य) अन्तरिक्षमा डक गरेको छ । स्पेस डकिङ भनेको अन्तरिक्षमा दुईवटा अन्तरिक्ष यान जोड्नु हो ।
डकिङ प्रक्रिया हालका साताहरूमा कम्तीमा दुईपटक ढिलाइ भएको र अन्ततः बिहीबारको लागि निर्धारित गरिएको थियो । अन्तरिक्ष एजेन्सीका अनुसार डकिङपछि दुईवटा उपग्रहलाई एउटै वस्तुको रूपमा नियन्त्रण गर्न सफलता मिलेको छ । यसबाट आगामी दिनमा अनलकिङ र पावर ट्रान्सफरबारे अनुसन्धान गरिने छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्टमार्फत देशका वैज्ञानिकहरूलाई उपलब्धि हासिल गरेकोमा बधाई दिएका छन् । ‘आगामी वर्षहरूमा भारतको महत्वाकांक्षी अन्तरिक्ष अभियानका लागि यो महत्वपूर्ण कदम हो,’ प्रधानमन्त्री मोदीले भनेका छन् ।
रुस, अमेरिका र चीनपछि स्पेस डकिङ हासिल गर्ने भारत चौथो देश बनेको छ ।
प्रतिक्रिया 4