
६ माघ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बाहुनधारामा रहेको एक स्नुकर हाउसमा खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको छ ।
१६ पुसमा ङेमा दुर्जे लामाले सञ्चालन गरेको स्नुकर हाउसमा अजय तामाङ, राजु लामा र हुइसेर पाख्रिन नाम गरेका युवामाथि खुकुरी प्रहार भएको थियो ।
उनीहरूमाथि खुकुरी प्रहार भएको आरोपमा पाँचथर घर भएका २३ वर्षीय रोहन बुढाथोकी, ताप्लेजुङ घर भएका २३ वर्षीय लोटस आङबुहाङ, भोजपुर घर भएका २५ वर्षीय बिहान राई र धनकुटा घर भएका २६ वर्षीय विधान राईविरुद्ध ज्यान मार्ने उद्योगमा कारबाही अघि बढाइएको छ ।
प्रहरी वृत्त बौद्धको हिरासतमा रहेका उनीहरूविरुद्ध काठमाडौंं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । स्नुकर हाउसमा हो–हल्ला गरेको भन्दै सञ्चालक ङेमाले उनीहरूलाई स्नुकर हाउसबाट बाहिर पठाएका थिए । सोही दिन साँझ साढे ६ बजेतिर अजय, हुइसेर र राजु स्नुकर हाउसबाट बाहिर निस्केका थिए ।
त्यही बेलामा चार जनाको समूहले उनीहरूमाथि खुकुरी प्रहार भएको बताइएको छ । खुकुरी प्रहारबाट अजयको बायाँ हात र टाउकामा र हुइसेरको दायाँ हातमा र राजुको शरीरको विभिन्न भागमा चोट लागेको थियो ।
अजयको राष्ट्रिय ट्रमा सेन्टरमा र हुइसेरको नेपाल अर्थोपेडिक अस्पताल नारायणटारमा उपचार गराइएको थियो ।
प्रहरीले पक्राउ परेकाहरूबाट घटनामा प्रयोग भएको खुकुरी समेत बरामद गरेको थियो ।
प्रतिक्रिया 4