+

हङकङ इन्टरनेसनल म्याराथन : नेपाली दिदीबहिनीले रचे कीर्तिमान

२०८१ माघ  ८ गते २१:३० २०८१ माघ ८ गते २१:३०

हङकङमा आयोजना भएको हङकङ १०० अल्ट्रा म्याराथनमा सुनमाया र राममाया बुढाले हात पारेको जित नेपाली खेलकुदका लागि पनि ऐतिहासिक क्षण बन्यो ।

हङकङ इन्टरनेसनल म्याराथन : नेपाली दिदीबहिनीले रचे कीर्तिमान

८ माघ, काठमाडौं । पछिल्ला केही दिन सुनमाया र राममाया बुढा दिदीबहिनीका लागि विशेष रह्यो । यी दुई दिदी बहिनीले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमै चर्चा पाउने काम गरे ।

हङकङमा आयोजना भएको हङकङ १०० अल्ट्रा म्याराथनमा सुनमाया र राममाया बुढाको कोर्स रेकर्डसहित जित हात पारे । यो उनीहरूको लागि मात्र नभई नेपाली खेलकुदका लागि पनि ऐतिहासिक क्षण बनेको छ ।

एकै परिवारबाट एक नभई दुई खेलाडीले एकै प्रतियोगितामा स्वर्ण जित्नु आफैँमा गज्जबको संयोग हो । अझ त्यसमा पनि दुवैले कोर्स रेकर्डसहित कीर्तिमानी समयमा स्वर्ण जित्नु अर्को अनौठो कीर्तिमान बन्यो । एकै रेसमा कवर्स रेकर्डसहित स्वर्ण जितेर दुवैले नयाँ कीर्तिमान नै बनाए ।

दिदी सुनमाया यसअघि अल्ट्रा रेसमा विश्वमै चर्चित बनिसकेकी खेलाडी हुन् । उनी निरन्तर अन्तर्राष्ट्रिय रेसमा सहभागी हुँदै आएकी छिन् र अधिकांशमा पहिलो नै बनेकी छन् ।

बहिनी राममायाको लागि भने यो विदेशमा सहभागी भएको पहिलो अल्ट्रा रेस हो र त्यसमै उनले ऐतिहासिक स्वर्ण जितेकी हुन् । ‘एकदमै खुसी लागेको छ । अझ दिदी बहिनीले नै एकैपटक जित्नु रमाइलो संयोग भयो ।’ राममायाले अनलाइनखबरसँग भनिन् ।

हङकङ १०० अल्ट्रा म्याराथनअन्तर्गत सुरुमा भएको ५० किमिमा राममायाले महिलातर्फ कीर्तिमानी समयमा स्वर्ड जितेकी हुन् । त्यसपछि जित्ने पालो दिदी सुनमायाको थियो । उनले पनि कीर्तिमानी समयमै स्वर्ण जितिन् ।

दिदी सुनमायाले पनि दुवैजनाले एकसाथ जित्दा एकदमै रमाइलो भएको बताइन् । ‘रेस धेरै प्रतिस्पर्धात्मक थियो, तर हामी दिदी बहिनीले नै जित्दा खुसी लागेको छ ।’

जुम्लाको पातारासी गाउँपालिका– २ पेरेगाउँका जन्मिएकी यी दिदीबहिनीको उमेर अन्तर तीन वर्ष मात्र छ । स्कुलदेखि नै दौड सुरु गरेकी दुवैजना अहिले अन्तर्राष्ट्रियस्तरमै चर्चित हु पेरेगाउँकै लागि पनि खुसीको माहोल बनेको छ ।

सुनमायाको व्यवस्थापन हेर्दै आएको एसिया प्यासिफिक एड्भेन्चरले आइतबार साँझ दिदीबहिनीको फोटो पोस्ट गर्दै यो ऐतिहासिक क्षण रहेको उल्लेख गरेको छ । ‘यी दुई विशेष नेपाली महिलाहरूका लागि ऐतिहासिक सप्तान्ह । इभेन्टमा र अनलाइनमा हौसला र समर्थनको लागि सबैलाई धेरै धेरै धन्यवाद । समुदायको माया र साथले सुनमाया र राममायाका साथै नेपालका सबै प्रतिभाशाली पर्वतीय खेलाडीहरूका लागि जीवन परिवर्तन गर्ने ढोका र अवसरहरू खोल्न मद्दत गर्दछ ।’

फोटोमा बुढा दिदीबहिनीको मुस्कान निकै लोभलाग्दो थियो । जसरी दुवैले लोभलाग्दो तरिकाले स्वर्ण जितेका थिए । दिदीबहिनीले एकै प्रतियोगिताको दुई फरक इभेन्टमा स्वर्ण जितेको जित्दा निकै उत्साहित बनेका थिए ।

कर्णाली स्पोट्र्स क्लबका अध्यक्ष सरोज शाहीले दिदीबहिनीले नै कोर्स रेकर्डसहित पहिलो हुनु ऐतिहासिक उपलब्धी भएको बताए । ‘यो ऐतिहासिक क्षण नै हो । यस्तो उपलब्धी निकै कम मात्र हुन्छ,’ जुम्ला अल्ट्रा रारा म्याराथन आयोजकसमेत रहेका शाहीले अनलाइनखबरसँग भने, ‘सुनमाया त अल्ट्रा रेसमै चर्चित नै भइसकिन् । तर राममायाको अल्ट्रा ट्रेलमा रेसमा यो पहिलो सहभागिता हो र त्यसमा पनि उनले कीर्तिमान बनाइन् ।’ शाहीले राममाया ट्रयाक एण्ड फिल्डमा जमिरहेको खेलाडी भएको बताए ।

पहालमा उकालो, ओरालोदेखि समथर भू–बनोटमा दौडनुपर्ने हङकङ १०० अल्ट्रा म्याराथको रुट छिचोल्नु सहज थिएन । यसका लागि शारीरिक र मानसिक दुवैमा बलियो हुनुपर्छ र दबाबसमेत झेल्न सक्ने हुनुपर्छ । बुढा दिदीबहिनीले गरेको मिहिनेत र परिश्रमले गर्दा उनीहरू इतिहास रच्न सफल भएका हुन् ।

सुनमायाले मारेको बाजी

सुनमायाले ११ घण्टा ११ मिनेट ४७ सेकेण्डसहित पहिलो स्थान हात पारेकी हुन् । उनले सन् २०२० मा चिनकी जियाङ फुझाओले बनाएको ११ घण्टा २८ मिनेट २१ सेकेण्डको कोर्स टाइम ब्रेक गरेकी हुन् ।

शनिबार बिहान सुरु भएको रेसमा २ हजार २ सय एथ्लेटले भाग लिएका थिए । जसमा स्लोभाकियाकी भेरोनिका लेङले ११ घण्टा २५ मिनेट २२ सेकेण्ड समय निकाल्दै रजत जित्दा भियतनामकी हाउ हाले १२ घण्टा ९ मिनेट २२ सेकेण्डमा दूरी पूरा गर्दै कांस्य जित्न सफल भइन् ।

सुनमाया र भेरोनिकाबीच कडा टक्कर भएको थियो । तर, अन्तिममा सुनमायाले बाजी मारिन् । ‘मैले एकदमै खुसी महसुस गरिरहेको छु । तर, मैले आराम गर्नुपर्छ । यो कडा ब्याटल थियो । सुनमायाले कोर्स रेकर्डसहित स्वर्ण जितेपछि भनिन् ।

सुनमायाले आधा दौड समथल भए पनि त्यसपछि उकालो ओरालो भएको र टेक्निकल रेस भएको बताइन् । ‘लगभग ८० किलोमिटर निकै प्रतिस्पर्धात्मक थियो, र दौडको समयमा यो धेरै गाह्रो हुन्छ । पहिलो ५० किलोमिटर समतल थियो, तर अन्त्यमा धेरै आरोहणहरू थिए र धेरै प्राविधिक थिए ।’

निर्णायक क्षण तब आयो जब दोस्रो भएकी लेङ र शीर्ष तीनमा फिनिस गरेका पुरुष खेलाडीहरूभन्दा फरक, ट्रेकिङ पोलहरू प्रयोग नगरेकी बुढाले चेकपोइन्ट ४ मा नाटकीय तरिकाले हङकङकी लेङलाई उछिनिन् ।

त्यसपछि लेङले केरा खान लाग्दा सुनमायाले कुनै रिफ्रेसमेन्ट लिइनन् ।

वर्ष २०२४ मा अन्तर्राष्ट्रिय स्तरमा छाएकी सुनमायाले २०२५ को सुरुवात नै हङकङमा विजयी हुँदै थालेकी थिइन् । उनको अबको लक्ष्य आगामी सेप्टेम्बरमा स्पेनमा आयोजना हुने वल्र्ड च्याम्पियनसिप हो ।

नयाँ स्टार राममाया

सुनमाया जस्तै राममायाका लागि उकालो ओरालो दौडनु कुनै नौलो कुरा होइन । तर, पहिलो पटक विदेशमा गएर भाग लिँदा नै उनले सानदार प्रदर्शन गरिन् ।

शुक्रबार भएको ५० किमी महिलातर्फ रामायाले सुनमायाकी बहिनी राममायाले पनि कोर्स रेकर्डसहित जित हात पारिन् ।

राममायाले ५ घण्टा ३४ मिनेट ५ सेकेण्डमा दौड पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले यसअघि चीनका झाउ रुइफाङले बनाएको ५ घण्टा ५८ मिनेटको टाइमिङ ब्रेक गरेकी हुन् ।

यसअघि घरेलु प्रतियोगिताहरूमा सहभागी हुँदै विभिन्न उपलब्धी हात पारेकी राममाया पनि अन्तर्राष्ट्रिय स्तरमा अल्ट्रा रेसमा नयाँ स्टार बनेकी छन् । उनले दुई वर्षअघि काठमाडौंको गोकर्णमा भएको एथ्लेटिक्सअन्तर्गत एसियन क्रस कन्ट्री प्रतियोगितामा रजत पदक जितेकी थिइन् ।

May be an image of 3 people and text

अब उनले पनि अल्ट्रा रेसमा पनि सम्भावना देखाएकी छिन् । राममायाले दौड जित्ने लक्ष्य राखे पनि कवर्स रकेर्डबारे भने नसोचेको बताइन् । ‘जित्ने लक्ष्य थियो, तर कोर्स रेकर्ड नै बन्ला भन्ने थिएन । रेकर्ड नै बनेपछि धेरै खुसी लाग्यो ।’

जापानकी नम्बर वान ट्रेल रनर युरो योशिजुमी दोस्रो भइन् । उनले ५ घण्टा ५८ मसनेटमा दूरी पूरा गरिन् । यस्तै, ६ घण्टा १३ मिनेटमा दौड पूरा गरेकी चीनकी याङ यान तेस्रो भइन् ।

५० किमी पुरुषतर्फको रेसमा पनि कडा प्रतिस्पर्धा भएको थियो । तर, यसमा पनि चिनियाँ धावकहरूकै वर्चस्व रह्यो । चीनका याङ जियाजिनले ४ घण्टा ३६ मिनेटमा दौड पूरा गर्दै स्वर्ण जिते । उनी भन्दा ३ मिनेटपछि रहेका जाङ शेङले ४ घण्टा ३९ मिनेट लगाउँदै रजत जिते । यसैगरी, तेस्रो भएका लुओ कान्हुवाले ४ घण्टा ४३ मिनेट समय निकाले ।

पुरुषतर्फ मनकुमार सातौं

१०० किमी म्याराथनको पुरुषतर्फ चीनको वर्चस्व रह्यो । शीर्ष तीनमै चिनियाँ खेलाडी आउँदा नेपालबाट प्रतिस्पर्धा गरेका मनकुमार रोका मगर भने सातौँ स्थानमा रहे ।

चीनका गुअङ फु मेङले ९ घण्टा ४३ मिनेट १० सेकेन्ड टाइमिङमा स्वर्ण जिते । गत वर्ष पनि मेङले नै स्वर्ण जितेका थिए । चीनकै गुई दु क्विनले रजत र गुओ मिन देङले कांस्य जिते । क्विनले ९ घण्टा ५१ मिनेट ११ सेकेण्ड तथा देङले १० घण्टा ७ मिनेट ५२ सेकेण्डमा दुरी सकाए ।

सातौँ भएका मन कुमारले दौड पूरा गर्न १० घण्टा ५८ मिनेट ०४ सेकेण्ड लगाए । यसअघि स्वीट्जरल्याण्डदेखि दक्षिण कोरियामा समेत दौडिसकेका मन कुमार पछिल्लो समयम अल्ट्रा रेसमा उदाउँदो धावकको रुपमा रहेका छन् ।

तस्बिर : एसिया प्यासिफिक एड्भेन्चर एथ्लेट्स र हङकङ १०० अल्ट्रा म्याराथन

राममाया बुढा सुनमाया बुढा हङकङ १०० अल्ट्रा म्याराथन

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय