+
+

कालीगण्डकी कोरिडोरको मार्फाखोलामा बन्यो मोटरेबल पुल, गुड्न थाले गाडी   

रासस रासस
२०८१ माघ ९ गते १४:२४
Photo Credit : RSS

९ माघ, म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले एक सय २० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । आयोजना प्रमुख ध्रुवकुमार झाले पुलको सबै संरचना र पहुँचमार्ग निर्माण सकेर सवारीसाधन सञ्चालन हुन थालेका जानकारी दिए ।

‘चिसोका कारणले रोकिएको पुलको पहुँचमार्ग कालोपत्र गर्ने काम गर्मी सुरु भएपछि हुन्छ,’ उनले भने, ‘मार्फाखोलामा बाढी आउँदा बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध हुने समस्या हटेको छ ।’

धौलागिरि दोस्रो र टुकुचेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा मार्फाखोलामा चैतदेखि असोज महिनासम्म दिउँसो र साँझपख मार्फाखोलामा बाढी आउने गर्छ ।

पक्कि पुल सञ्चालन भएपछि कच्चि र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको आयोजना प्रमुख झाले बताए ।

मार्फाखोला र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङको नरसिङखोलामा मोटरेबल पुल निर्माणका लागि छ वर्षअघि हिमदुङ एन्ड थोकर इमोटल कन्ट्रक्सनले २१ करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

जोमसोम देखि कागबेनी–छुसाङ –उपल्लो मुुस्ताङ हुदै चिनको सिमाना कोरला नाका जोड्ने सडक अन्तर्गत रहेको नरसिङ खोलाको ९० मिटर लामो मोटरेबल पुल गत भदौमा निर्माण सकिएको थियो । कोरोना महामारी, प्रतिकूल भूगोल, मौसम, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव लगायतका कारणले ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि सुदिप खड्काले बताए ।

पर्वतको मालढुंगादेखि म्याग्दी हुदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दुरीको बेनी–जोमसोम कोरला सडक अन्तर्गत २४ मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १२ निर्माण सकिएको, दुई निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँचवटा पुल निर्माणको प्रक्रीयामा छन् । २०७३/७४ देखि सुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?