 
																			२५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विनिता कठायतले सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा जिल्ला जिल्ला घुमाउँदैमा आफ्नो पार्टी नडराएको दाबी गरेकी छिन् ।
शुक्रबार प्रतिनिधिसभामा शून्य समय लिएर बोल्ने क्रममा सांसद कठायतले रास्वपालाई तर्साउने र बदनाम गराउने काम भएको हो भने त्यसबाट नडराउने बताएकी हुन् ।
‘रास्वपालाई तसाईदिउँ, बदनाम गराउँ, ठगको बिल्ला भिराउँ, रविलाई सिध्याएर रास्वपा सकिन्छ भन्ने सोचेको हो भने रास्वपा डराएको छैन,’ सांसद कठायतले दाबी गर्दै भनिन्, ‘रविको सट्टामा सय रवि यही सदनमा प्रवेश गर्नलाई ०८४ साल कुरेर बसेका छन् ।’
सरकारले प्रतिशोध साँधेर सभापति लामिछानेलाई हिरासतमा राखेको, अहिले जिल्ला जिल्लामा बयान भन्दै घुमाउने काम गरेको उल्लेख गर्दै उनले सहकारी पीडितको समस्या समाधान नभएकोप्रति प्रश्न गरिन् ।
‘राज्यले प्रतिशोध साँधेर माननीय रवि लामिछानेलाई ८४ दिनसम्म हिरासतमा पनि राख्यो । तर, सहकारी समस्या समाधान भयो त ?,’ उनले प्रश्न गर्दै भनिन्, ‘बचतकर्ताको करिब ३ सय अरब हिनामिना भएको उल्लेख छ । पीडित बचतकर्ताको रकम फिर्ता गर्ने विषय कहाँ पुग्यो ?’
सांसद कठायतले जिल्ला–जिल्ला घुमाएर मात्रै सहकारी पीडितको रकम फिर्ता हुने भए आफ्नो सभापति ७७ वटै जिल्ला घुम्न तयार भएको बताइन् ।
‘एउटा व्यक्तिविशेषलाई लक्षित गरेर राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले हाम्रो पार्टी सभापतिलाई बयान गराउने नाममा जिल्ला जिल्ला घुमाउने काममा व्यस्त देखिन्छ । जिल्ला जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ ?,’ उनले अघि भनिन्, ‘हुन्छ भनिदियोस् सरकारले, हाम्रो सभापति दुई तीन जिल्लामात्रै होइन, ७७ वटै जिल्ला घुम्न तयार हुनुहुन्छ ।’
 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4