टाउको दुखाइको कारण एक मात्र नभई धेरै हुन सक्छन्। कतिपय दुखाइ केही समयपछि आराम गरेमा आफैँ ठिक हुन्छ । जसलाई सामान्य टाउको दुखाइ भनिन्छ । कतिपय दुखाइ हटाउन औषधि उपचार गर्नुपर्छ।
यदि टाउको दुखाइसँगै आँखा दुख्ने, थकान, बान्ता आउने र वाकवाकी लाग्ने समस्या पनि भइरहेको छ भने, यो सामान्य टाउको दुखाइबाहेक माइग्रेनको लक्षण हुनसक्छ । जुन न औषधिले ठिक हुन्छ, न त आरामले ठिक पार्छ।
यी दुखाइमा सबैभन्दा घातक माइग्रेन हुन्छ । किनकी यो समस्या नियन्त्रण हुनसक्छ तर निको हुन समय लाग्छ ।
कस्तो हुन्छ सामान्य टाउको दुखाइ ?
टाउको दुखाइ विभिन्न प्रकारका हुन्छन्। सबैभन्दा सामान्य भनेको तनावका कारण हुनसक्ने टाउको दुखाइ हो। लगभग १ देखि ३ प्रतिशत वयस्कहरूलाई दीर्घकालीन तनावका कारण बेलाबखतमा टाउको दुखाइको अनुभव हुनसक्छ।
कहिलेकाहीँ मदिरा सेवन, निद्राको ढाँचामा परिवर्तन वा निद्राको कमी, खराब शरीरको आसन, अत्यधिक थकान, लामो समयसम्म स्क्रिनमा बिताउने कारणले टाउको दुख्ने गर्छ । व्यायाम जस्ता शारीरिक गतिविधिको कमी वा समयमा खाना नखाने कारणले पनि टाउको दुख्ने समस्या हुन सक्छ।
त्यस्तै, माइग्रेनको टाउको दुखाईलाई सामान्य मान्न सकिँदैन । किनकी यो दुखाई एकैछिनमा ठिक हुँदैन। दुखाईको असर पनि लामोसमय रहन्छ ।
टाउको अत्याधिक दुखाउने जटिल स्वास्थ्य समस्या ‘माइग्रेन’
टाउको दुखाइको जटिल प्रकारमध्ये माइग्रेन एक हो । माइग्रेन हुँदा टाउकोकाे एक भागमा असह्य टाउको दुखाइ हुन्छ । जसकारण यसलाई अर्ध टाउको दुखाइ पनि भनिन्छ । र, यो एक प्रकारको ‘न्युरोजेनिक डिसअर्डर’ हो ।
माइग्रेनबाट पीडित व्यक्ति अरूको तुलनामा तनाव र डिप्रेसनबाट पीडित हुने सम्भावना बढी हुन्छ। कहिलेकाहीँ डिप्रेसन वा चिन्ताको कारणले पनि माइग्रेन हुनसक्छ। यो समस्या वंशाणुगत पनि हुनसक्छ ।
यीबाहेक हर्मोनल परिवर्तन, मौसम, आहार, निद्राको कमी, उज्यालो प्रकाशजस्ता केही अवस्थाहरूले माइग्रेन गराउन सक्छ। नेपालमा सात वर्षको बालबालिकादेखि ६० वर्षका वृद्धवृद्धामा समेत माइग्रेनको समस्या रहेको पाइन्छ । यो समस्या एकपटक भएमा जीवनभर रहिरहने हुँदा यसलाई समयमै पहिचान गरी नियन्त्रण गर्नुपर्छ ।
पुरुषको तुलनामा महिलालाई बढी
अहिलेसम्म यसको यही कारण भनेर पुष्टि भएको छैन। तर विभिन्न अध्ययनअनुसार पुरुषको तुलनामा महिलाहरू माइग्रेनको शिकार हुने बताइएको छ । जसअनुसार महिलामा माइग्रेनको दुखाइ महिनावारीको समयमा हुनेगर्छ ।
किनभने महिनावारी हुने समयमा हर्मोनको गडबडी (प्रोजेस्टेरोन र ईस्ट्राेजेन हर्मोनको उतारचढाव) हुने, परिवार नियोजनको साधन पिल्स प्रयोग गर्दा पनि माइग्रेनको समस्या हुनसक्छ । यद्यपि महिलामा हुने सबै टाउको दुख्ने समस्यालाई माइग्रेन भन्न मिल्दैन ।
सामान्य टाउको दुखाइ र माइग्रेनको टाउको दुखाइ बीच के फरक ?
टाउको दुखाइको लक्षणलाई आधार मानेर माइग्रेन र सामान्य टाउको दुखाइको भिन्नता पहिल्याउन सकिन्छ । सामान्य टाउको दुखाइले सम्पूर्ण टाउकोमा हल्का वा मध्यम दबाब भएको अनुभूति हुन्छ । माइग्रेनको दुखाइ टाउकोको एक भागमा मात्र गम्भीर दुखाइ हुन्छ ।
त्यस्तैगरी, सामान्य टाउको दुखाइ केही मिनेटदेखि केही घण्टासम्म रहन्छ । जबकि माइग्रेन ४ देखि ७२ घण्टासम्म रहन सक्छ।
सामान्य टाउको दुखाइमा सामान्यतया दुखाइबाहेक अरू गम्भीर कुनै लक्षण हुँदैन । तर माइग्रेनले वाकवाकी लाग्ने, बान्ता हुने वा बान्ता आउन लागेको अनुभव हुने, चहकिलो प्रकाश भएको बत्ती र आवाजप्रति संवेदनशीलता बढ्ने, हात खुट्टा झमझमाउने र दृष्टि समस्या निम्त्याउन सक्छ।
माइग्रेनले टाउको दुखेको अवस्थामा के गर्ने ?
माइग्रेनलाई ट्रिगर गर्ने कुराबाट टाढा रहनुपर्छ । जस्तो कि, आवाज र ठूलो आवाजबाट टाढा रहेर शान्त ठाउँमा बस्ने, प्रशस्त पानी पिउने, टाउको मसाज गर्ने, प्राकृतिक जडीबुटी जस्तै-जिरा, तुलसी, पुदिना र बेसारपानी खाने गर्दा राहत मिल्न सक्छ ।
अर्को भनेको, अकुप्रेसरले पनि केही हदसम्म निको पार्न मद्दत गर्छ । जसमा हातको बुढी औंलाको साइडमा (हेगु) प्वाइन्ट र खुट्टाको बुढी औंला (टायचोंग) जस्ता विन्दुमा मसाज गर्ने, प्राणायाम, अनुलम बिलुलम, कपालभाती र भ्रमरी प्राणायम गर्न सकिन्छ।
लक्षण बढ्दै गएमा चिकित्सकलाई भेटेर सोही अनुसारको परामर्श र औषधि उपचार आवश्यक हुन्छ ।
केही खानेकुराले पनि माइग्रेनको समस्या बढ्न दिँदैन । म्याग्नेसियम र भिटामिन बी १२ (जस्तै बदाम, हरियो पातदार तरकारी र अण्डा) युक्त आहारले माइग्रेन रोक्न मद्दत गर्न सक्छ।
अत्यधिक क्याफिन, रक्सी र प्रशोधित खानाहरूबाट टाढै रहनुपर्छ । किनकी यसले माइग्रेन निम्त्याउन सक्छ। योग, ध्यान र हल्का व्यायाम (जस्तै-हिँड्ने, साइकल चलाउने) गर्दा तनाव कम गरेर माइग्रेन ट्रिगरहरूलाई रोक्न सक्छ।
यदि माइग्रेन बारम्बार हुन्छ, टाउको अत्याधिक दुखिरहन्छ भने लक्षण बढ्दै गएमा चिकित्सकलाई भेटेर सोही अनुसारको परामर्श र औषधि उपचार आवश्यक हुन्छ ।
प्रतिक्रिया 4