३ फागुन काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई सरकारमार्फत औषधि उपब्ध गराउन सम्झौता भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच शुक्रबार औषधि उपलब्ध गराउने सम्झौता भएको हो।
विश्व हेमोफिलिया महासंघमार्फत प्राप्त हुने यो औषधि यसअघि हिमोफिलिया सोसाइटी नेपालको पहलमा वितरण हुँदै आएको थियो। निकै महँगो मूल्य पर्ने यो औषधि सरकार आफैँले वितरण गर्न बिरामी तथा सरोकारवालाले माग गर्दै आएका थिए।
औषधि व्यवस्था विभागमा महासंघ र मन्त्रालयबीच शुक्रबार सम्झौता भएको हो।अब महासंघबाट प्राप्त आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउनेछ।
निजामति कर्मचारी अस्पताल, वीर तथा कान्तिसँगै देशभरका प्रादेशिक गरी १२ अस्पतालमार्फत औषधि उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । यसका लागि ती अस्पतालका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिने मन्त्रालयको तयारी छ ।
गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका थिए । मन्त्री पौडेलले राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेको उल्लेख गरेका थिए।
नेपालमा हिमोफिलिया पहिचान भएका बिरामी करिब ९०० छन् । तर विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका करिब ५ हजार हिमोफिलिया बिरामी रहेको अनुमान गरेको छ। २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएका मध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने अनुमान छ ।
के हो हिमोफिलिया ?
हिमोफिलिया वंशाणुगत समस्या हो। तर, कसैमा वंशानणुगत नभएर अन्य कारणले पनि हुन सक्छ। रगतमा विशेष प्रकारको प्रोटिन फ्याक्टरको कमी भए वा सो फ्याक्टरको अनुपस्थिति भएमा रगत जम्न ढिलाई हुन्छ र लामो समयसम्म रगत नरोकिन सक्छ। यही समस्यालाई हिमोफिलिया भनिन्छ।
रक्तस्रावको स्थितिमा हाम्रो शरीरले सो रक्तस्राव रोक्न तीन चरणको कार्य गर्दछ। रक्तस्राव भएको स्थानको रक्तनलीहरूमा सङ्कुचन हुन्छ। प्लेटलेट प्लगको निर्माण हुन्छ। छालामा फाइब्रिन जालोको निर्माण भई रक्तस्राव रोकिन्छ। तर हिमोफिलिक व्यक्तिमा फ्याक्टर आठ वा फ्याक्टर नौ को मात्रा रगतमा कम हुने भएकोले छिटै फाइब्रिन जालोको निर्माण हुन सक्दैन र रक्तस्राव धेरै समयसम्म जारी रहन्छ।
यसका साथै सामान्य वा ठूलो चोटपटक लागेमा वा ठोकिएमा हिमोफिलिकहरूमा आन्तरिक रक्तस्रावको कारणले गर्दा घुडा, कुहिना जस्ता जोर्नी वा मांशपेशीहरू सुन्निने र दुख्ने हुन्छ।
हिमोफिलिया प्रायः पुरुषहरूमा हुन्छ। महिलाहरू नगण्य रूपमा मात्र पीडित हुन्छन्। प्रति दश हजार शिशुहरूमा एक जना हिमोफिलिक हुने सम्भावना हुन्छ। हिमोफिलिया महिलाहरू मार्फत सर्ने हुन्छ त्यसैले महिलाहरूलाई बाहक पनि भनिन्छ। हिमोफिलिया एक्स क्रोमोजोमबाट मात्र सर्दछ। सानो बालकको शरीरमा निल डाम देखिन सक्छ। दात फेरिँदा, लड्दा वा शल्यक्रिया गर्दा धेरै समयसम्म रक्तस्राव हुन सक्छ, जुन हिमोफिलियाको स्पष्ट लक्षण हो।
हिमोफिलियाको उपचार रगत तथा रक्ततत्वहरू प्रतिस्थापन गरेर गरिन्छ। धेरै रक्तस्राव भएको अवस्थामा ताजा रगत दिएर उपचार गरिन्छ तर आन्तरिक रक्तस्राव भई जोर्नी वा मांशपेशी सुन्निएको अवस्थामा प्लाज्मा वा क्रायो प्रेसिपिटेट दिनुपर्दछ।
यी रक्ततत्वमा भएको फ्याक्टरले रक्तस्राव रोक्नमा मद्दत गर्ने भएकोले बिरामीले छिट्टै स्वास्थ्य लाभ गर्दछ तर मस्तिष्क रक्तस्राव वा गम्भीर आन्तरिक रक्तस्रावको अवस्थामा रगतबाट विशेष प्रकारले बनाइएका एन्टी हिमोफिलिक फ्याक्टर लगाएर उपचार गनुपर्दछ। यी औषधिहरू नेपालमा पाइदैनन, विदेशबाट झिकाउनु पर्ने हुन्छ।
नेपालमा पनि यसको उपचार सम्भव छ। नेपाल हिमोफिलिया सोपाइटीको पहलमा थोरै मात्रामा भएपनि फ्याक्टर आठ र नौ उपलब्ध गराइँदै आएको थियो ।
प्रतिक्रिया 4