
६ माघ, फागुन । गत २७ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिका–४ मा विद्यार्थी बोकेको जुनकिरी स्कुलको बस दुर्घटना हुँदा दुई जनाको ज्यान गयो । एक विद्यार्थी थिए भने अर्का बसका चालक ।
तीन दिनपछि नै ३० माघमा काठमाडौंको शंखरापुरमा चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा पर्यो ।
पिकनिक गएर फर्किंदै गरेका विद्यार्थी बोकेको बस दुर्घटनामा पर्दा चार विद्यार्थीले ज्यान गुमाए । थुप्रै घाइते भए । केही घाइतेको अहिले पनि उपचार चलिरहेको छ ।
४ फागुनमा बाजुराको बुढिगङ्गा नगरपालिकाको भानुदय विद्यालयको बस कर्णाली राजमार्गमा दुर्घटनामा पर्यो । विद्यार्थीको टोली पोखरा भ्रमणमा हिंडेको थियो । कोही हताहत नभए पनि केही घाइते भए ।
पछिल्ला केही दिनयता विद्यार्थी बोकेका बस लगातारजसो दुर्घटना भइरहेका छन् । त्यसैले ट्राफिक प्रहरीले निगरानी बढाएको छ । चिन्ताको कुरा, यस्ता चेकिङमा बस चालकहरूले मादक पदार्थ सेवन गर्ने गरेको भेटिएको छ । सुन्दर भविष्यको सपना बोकेका कलिला बालबालिकालाई सुरक्षित रूपमा विद्यालयसम्म पुर्याउने जिम्मेवारी निभाउनुपर्ने चालकहरू नै मदिराको तलमा रहेको भेटिनुले विद्यार्थीको सुरक्षामा गम्भीर चिन्ता बढाएको छ ।
‘विशेष जाँच गरिरहेका छौं । विद्यालयको बसलाई फोकस गरेका छौं,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जयबहादुर राउतले भने । ट्राफिक चेकिङका क्रममा विद्यालयको बस चालकहरूले माधक पदार्थको सेवन गर्ने गरेको भेटिएको छ । ‘हिजो मात्र विद्यालय बसका तीनजना चालकले मापसे गरेको भेटियो । चालकहरूको लापरबाही देखिन्छ,’ प्रवक्ता राउतले भने ।
पिकनिक र भ्रमणमा निस्कँदा शिक्षकहरूले विशेष ध्यान दिनुपर्ने बताउँछन् प्रवक्ता राउत । ‘रमाइलोमा भुलिँदा चालकहरूले कतै गएर मापसे गर्न सक्छन् । शिक्षकहरूले विशेष ध्यान दिनुपर्ने हो,’ उनले भने, ‘बालबालिका बोक्ने बसको चालक राख्दा विद्यालयले सबै अध्ययन गर्नुपर्छ ।’
स्कुल बसलाई नियमन गर्न सरकारले ६ वर्षअघि निर्देशिका बनाएको थियो । तर, विद्यालयहरूले ‘स्कुल बस निर्देशिका–२०७४’ विपरीत स्कुल बस सञ्चालन गर्ने गरेको पाइएको छ ।
निर्देशिकाले स्कुल बसमा कसैले पनि धुम्रपान तथा मध्यपान गर्न नपाइने भनिएको छ । स्कुल बसको बाहिरको रंग पहेंलो हुनुपर्ने, अगाडि र पछाडि ‘स्कुल बस’ लेख्नुपर्ने मापदण्डमा भनिएको छ ।
विद्यालय बसमा आपतिकालीन ढोका, झ्यालको ग्रिल, प्राथमिक उपचार बक्स, अग्नि नियन्त्रण उपकरण, अनुभवी चालक, चालकको पोसाक र परिचयपत्र हुनुपर्ने भनिएको छ । तर, धेरैजसो विद्यालयले मापदण्ड पालना गरेको पाइँदैन ।
‘सबै विद्यालयले आफ्नै बस किन्न सकेका हुँदैनन्, त्यसैले भाडाका बस राख्ने गरेका छन् । जसका बसको नियमित चेकजाँच तथा मर्मत नभए–नभएको थाहा हुँदैन । छिटो विद्यार्थी पुर्याएर यात्रु लिन जानु पर्ने हुनाले त्यस्ता बसका चालक हतारमा हुन्छन्,’ प्रवक्ता राउतले भने ।
दिन प्रतिदिन स्कुल बस दुर्घटना हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका कार्यान्वयन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।
‘विद्यार्थी ओसारपसार गर्ने सवारीसाधन पहिचानको मापदण्ड तथा भौतिक मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ । विद्यालय बस सञ्चालनका लागि तोकिएका मादण्ड पालना गर्ने गराउने, अनुगमन गर्ने र दुर्घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाई दोषीउपर हदैसम्मको कारबाहीका लागि पहल गर्ने सम्बन्धमा सम्बन्धित मन्त्रालय, ट्राफिक प्रहरी र स्थानीय प्रशासनसमक्ष हार्दिक अनुरोध छ,’ शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
निजी विद्यालयहरू भने विद्यालय र चालकको दोष नभई बाटोका कारण दुर्घटना हुने गरेको बताउँछन् । ‘दुर्घटना गर्छु भनेर चालकले चलाएको हुँदैन । एजुकेसन टूर टाढा–टाढा लैजानुपर्छ । बाटोको अवस्था कस्तो छ ? यसमा सडक विभाग पनि दोषी छ,’ प्याब्सनकी उपाध्यक्ष दीपिका रिमालले भनिन्, ‘मन्त्रालयले धम्कीसहितको विज्ञप्ति निकाल्यो । धम्की भन्दा पनि बोलाएर छलफल गर्नुपर्ने हो ।’
सरकारले बाटोको अनुगमन गर्नुपर्ने तर्क उनको छ । ‘मापदण्ड कार्यान्वयन गर्न हामी तयार छौं । प्रिन्ट गरेर मापदण्ड विद्यालय विद्यालयमा पुर्याउँछौं । तर, सरकारले पनि बाटोको अनुगमन गर्नुपर्यो,’ उनले भनिन् ।
सरकारले दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसँग छलफल गर्ने तयारी गरेको छ । ‘प्याब्सन, एनप्याब्सन, अभिभावक, विद्यार्थी सबै स्टेक होल्डरलाई बोलाएर छलफल गर्छौैैैैं,’ ट्राफिक प्रहरी प्रवक्ता राउतले भने । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि सबै निकायसँग छलफल गर्ने भएको छ ।
शिक्षा मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बसको नियमन गर्न भनिरहेको छ । ‘स्कुल बस दुर्घटना बढेपछि यातायात मन्त्रीसँग नियमनको लागि भनेका छौं । सबै स्टेक होल्डरलाई बोलाएर मापदण्ड पालनामा सहजीकरण गछौं,’ शिक्षामन्त्री विद्या भट्टराईले भनिन् ।
प्रतिक्रिया 4