 
																						७ फागुन, काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा नेपाली विद्यार्थीको रहस्यमय मृत्युको घटनामा न्याय दिलाउन नेपाल सरकारले कुटनीतिक प्रयास जारी राखेको छ ।
नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत भेटिएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबाट पीडित नेपाली विद्यार्थीको न्यायका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पहल गरिरहेकी छन् ।
मन्त्री राणाले सामाजिक सञ्जालमार्फत् यसबीच ओडिसा सरकारका अधिकारीहरूसँग निरन्तर संवाद गरिरहेको जनाएकी छन् । राणाले ओडिसा सरकारका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग टेलिफोन संवाद गरी दोषीलाई कडा कारबाही तथा त्यहाँ रहेका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित पठनपाठनको वातावरण बनाउन आग्रह गरेकी छन् ।
‘भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा हामीले निरन्तर फलो अप गरिरहेका छौं । आज पनि मैले ओडिसाका हायर एजुकेशन मिनिस्टर सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गरेकी छु,’ डा. राणाले भनेकी छन्, ‘उहाँसँग मैले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरें ।’
ओडिसाका मुख्यमन्त्री माझीले पनि न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत् मुख्यमन्त्रीको कार्यालयले मुख्यमन्त्री माझीले नेपाली अधिकारीहरूसँग पनि कुराकानी गरेको र प्रकृति लम्सालको मृत्युको घटनामा न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेको छ ।
मुख्यमन्त्रीको कार्यालयले नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उच्च शिक्षामन्त्री सूर्यवंशी सरजसँग पनि यस विषयमा कुराकानी गरेको जनाएको छ । ‘मुख्यमन्त्रीले नेपाली काउन्सिलरहरू सञ्जीवदास शर्मा र नवीनराज अधिकारीसँग कुराकानी गर्दै मृतक विद्यार्थीको घटनामा न्याय दिने आश्वासन दिनुभएको छ । साथै, उनले क्याम्पसमा शान्ति र सामान्यता पुनर्स्थापित गर्ने आश्वासन पनि दिँदै मुख्यमन्त्रीले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्केर आफ्नो पढाइ सुचारु गर्न आग्रह गर्नुभएको छ,’ मुख्यमन्त्रीको कार्यालयले भनेको छ ।
परराष्ट्रमन्त्री राणाले यस घटनालाई ओडीसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी आफूलाई गराइएको बताएकी छन् ।
साथै, उनले त्यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरूलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरूलाई होस्टलमा फर्काएर पठन पाठनको व्यवस्था मिलाइएको जानकारी आफूलाई दिइएको बताएकी छन् ।
‘यस्तै कलेजमा विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको जानकारी पनि मन्त्री सुरजले दिनुभएको छ,’ राणाले भनेकी छन्, ‘कुराकानीका क्रममा मन्त्री सुरजले नेपालसँगको महत्वपूर्ण सम्बन्धलाई आगामी दिनमा पनि अहिलेजस्तै सुमधुर बनाउँदै लगिने बताउनुभएको थियो । यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।’
 
                









 
                     
                                 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4