
काठमाडौं । आगामी अगस्टमा स्वस्तिमा खड्काको फिल्म करिअरले १० वर्ष पुरा गर्दैछ । अगस्ट २१, २०१५ मा उनको पहिलो फिल्म ‘होस्टेल रिटर्न्स’ प्रदर्शनमा आएको थियो ।
प्रदर्शन तयारीमा रहेको ‘वसन्त’ उनको चौधौं फिल्म हो । यसबीचमा, स्वस्तिमाले ‘छक्कापञ्जा’का २ र ४ श्रृंखला, पशुपति प्रसाद २ : भस्मे डन, दिमाग खराब, चिसो मान्छे, दिमाग खराब, घामड शेरे, दुई रुपियाँ लगायतका चर्चित फिल्ममा अभिनय गरिन् ।
निर्मात्रीको रुपमा ‘बेहुली फ्रम मेघौली’ उनको पहिलो फिल्म हो । आगामी रिलिजको तयारीमा ब्यस्त स्वस्तिमाले यसैसाता अनलाइनबरसँग पहिलो दशक र आगामी समयको बारेमा चर्चा गरिन् ।
उनले अबको १० वर्ष आफ्नो लागि विशेष हुने बताइन् । बितेको वर्ष सिकेको अनुभवलाई आउने वर्ष प्रयोग गर्न पाउने आशा उनले व्यक्ति गरिन् । भन्छिन्, ‘मैले बितेको १० वर्षमा जति कुरा सिकेँ, अब ती अनुभवलाई आगामी १० वर्षमा प्रयोग गर्न पाउँछु होला । मेरो लागि अबको १० वर्ष विशेष हुन्छ ।’
भन्छिन्, ‘कलाकारको करिअर अवधि ५/७ वर्षमात्र हुन्छ भन्छन् तर, मेरो लागि अब आउने १० वर्ष झन विशेष हुन्छ जस्तो लाग्छ ।’ आफूलाई यतिबेला अभिनयभन्दा पनि निर्माणतर्फ रुचि जागेको बताउँदै उनले आगामी दिनमा निर्माताको भूमिकामा फिल्ममा काम गर्न मन लागेको बताइन् ।
आफूले फिल्म करिअर थाल्दा नेपाली फिल्मको निर्माण शैलीमा परिवर्तन सुरु भएकाले आफूलाई काम गर्न सजिलो भएको अनुभव उनको छ । ‘मेरो पहिलो फिल्म जतिबेला रिलिज भयो, भाग्यवश त्यतिबेला नेपाली फिल्म परिवर्तनको क्रममा थियो । नयाँ निर्माता आइरहनुभएको थियो । नयाँ शैलीमा फिल्मको कथा वाचन हुन थाल्या थियो । भर्खर भर्खर ‘लुट’ र ‘कबड्डी’ रिलिज भएका थिए’ उनले सम्झिइन् ।
भन्छिन्, ‘त्यतिबेलादेखि मेनस्ट्रिममा कथाले डोर्याइने र यथार्थवादी फिल्म आउन सुरु भएको थियो । मैले त्यतिबेला पहिलो फिल्मको सुरुवात गरेँ । अहिले आएर खुसी लाग्छ कि म यस्तो युगमा छु कि, यस्तो खालका फिल्मलाई दर्शकले स्वीकार्नुभएको छ । बक्सअफिसमा पनि राम्रो गरिरहेको छ ।’
पछिल्ला १० वर्षमा महिलाप्रधान फिल्मले राम्रोे काम गरेको बताउँदै स्वस्तिमाले ‘बोक्सीको घर’ र ‘अञ्जिला’को उदाहरण पेश गर्दै महिलाप्रधान फिल्मले राम्रो ब्यापार गरेको बताइन् ।
‘मैले १० वर्षअघि सुरुवात गर्दा, महिलाप्रधान फिल्म बन्नुपर्छ भन्ने चरणमा थियौं । पछिल्ला २, ३ वर्षको बक्सअफिस डेटा हेर्दा महिलाप्रधान फिल्मले राम्रो गरेका छन् । ‘बोक्सीको घर’ र ‘अञ्जिला’ पछिल्लो उदाहरण हुन्’ उनले भनिन्, ‘अहिलेसम्म मेरो १० वर्षको अनुभव छ, अर्को १० वर्षमा त मैले अझै राम्रो गर्न सक्छु नि ।’
उनले अहिले पनि मलाई जति फिल्मबाट अफर आइरहेको छ, ती सबैजसो कथावस्तुप्रधान फिल्म रहेको बताइन् । २२ चैतमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘वसन्त’मा स्वस्तिमाले शान्ति शर्मा नामक ग्रामिण ब्राम्हण युवतीको भूमिका निर्वाह गरेकी छन् ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4