
२० चैत, हेटौंडा । बागमती प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले अधिवेशन अन्त्य गरेका हुन् ।
सरकार र प्रतिपक्षबीच बजेटका सम्बन्धमा विवाद जारी रहँदा मंगलबार १ बजेलाई बोलाइएको प्रदेश सभा बैठक प्रभावित बनेको थियो । आज बुधबार १ बजेका लागि बैठक बोलाइए पनि बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुख देवकोटा समक्ष सिफारिस गरेको हो ।
गत १८ माघदेखि सुरु अधिवेशनमा ७ वटा बैठक बसेको छ । विधेयक अधिवेशनको रूपमा चिनने हिउँदे अधिवेशनबाट नयाँ विधेयक पास नभएको प्रदेश सभा सचिवालयका प्रवक्ता कानुन अधिकृत मनोजकुमार गुप्ताले जानकारी दिए ।
मंगलबार बस्ने भनिएको बैठकमा सरकारले तीन वटा संशोधन विधेयक प्रस्तुत गर्न लागेको थियो । मदन भण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
उक्त विधेयकलाई आगामी वैशाखदेखि सुरु हुने बजेट अधिवेशनमा प्रस्तुत गरिने मन्त्री लामिछानेले जानकारी दिए ।
‘अहिले विपक्षी दलहरुले उठाएको योजनामा बजेट थप्ने मागलाई आर्थिक वर्षको अन्तिममा आएर कार्यान्वयन गर्न पनि नसकिने, टेण्डर प्रक्रियाबाट जानुपर्ने भएकाले समय पनि अपुग भएको अवस्था थियो । अब बजेट पनि निर्माण गर्ने समय आएकाले यो अधिवेशन अन्त्य गरेका हौं,’ मन्त्री लामिछानेले भने ।
विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादीले गत ६ असोजमा सरकारसँग सांसदका योजनामा बजेट थप्ने विषयमा भएको सहमति कार्यान्वयनको माग गरेका थिए । यस्तै, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीयको आत्महत्या प्रकरणमा संसदीय छानबिन समितिको माग गरिएको माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बताए ।
गत असोजको बाढीपहिरोपीडितलाई सरकारले दिने बाचा गरेको सहयोग रकम उपलब्ध गराउनु पर्ने विषय पनि विपक्षी दलहरूले उठाएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू राप्रपा, नेकपा एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टीले अवरोध गर्ने संकेत पाएपछि मंगलबार बिहान ९ बजेको बैठक दिउँसोका लागि सारेर सहमतिको प्रयास भएको थियो । तर, सभामुख पाठकले राखेको सर्वदलीय बैठकमा सहमति जुट्न सकेको थिएन ।
सरकार संसद् छलेर भाग्यो : विपक्षी दल
बागमती प्रदेश सभाका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दल राप्रपा, नेकपा एकीकृत समाजवादीले सरकार संसद् छलेर भागेको आरोप लगाएका छन् ।
आज बुधबार अधिवेशन अन्त्य भएसँगै प्रदेश सभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै विपक्षी दलहरूले सरकार गैरजिम्मेवार ढंगबाट अगाडि बढेको आरोप लगाएका छन् । सरकार आफनो कमिकमजोरी र असफलतालाई ढाकछोप गर्न संसद् छल्ने कार्यले चाँडै हुने वर्षे अधिवेशनलाई समेत प्रभावित पार्ने विपक्षी दलले चेतावनीसमेत दिएका छन् ।
सरकारले नीति, कार्यक्रम र बजेट समेत ल्याउने नैतिकता गुमाएको भन्दै बजेट अधिवेशनसमेत अनिश्चित दिशामा धकेलिने सम्भावन बढेको विपक्षी दलहरुको चेतावनी छ । सरकारलाई वार्ता र सहमतिमार्फत अगाढी बढ्न विपक्षी दलहरुले माग गरेका छन् ।
चालु अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुले कार्यपालिका र व्यवस्थापिका बीचको दुरी बढाउने दिशामा सरकार उन्मुख देखिएको माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बताए । दलहहरू बीच छलफल चलिरहँदा अधिवेशन अन्त्य गर्ने निर्णयले सरकारको अपरिपक्वता र ठूला दल मिलेर बनेको सरकारको दम्भ, घमण्ड र निरंकुश शैली उदांगो भएको एकीकृत समाजवादीका नेता लक्ष्मण लम्सालको दाबी छ ।
चालु आर्थिक वर्षको बजेट पारित हुनुअघि प्रदेश सरकार र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरू बीच भएको सहमतिको साझा एजेन्डालाई कार्यान्वयन गर्नुको सट्टा आलटाल गर्ने र अलमल्याउने नीति सरकारको देखिएको राप्रपा उपनेता गिरबहादुर तामाङले बताए ।
प्रतिक्रिया 4