 
																			२१ चैत, काठमाडौं । नागरिक समाजको सक्रिय समूह नागरिक प्रथम अभियानले १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक घटनाको स्वतन्त्र न्यायिक छानबिनको माग गरेको छ।
अभियानको तर्फबाटट प्रवक्ता प्रशान्त सिंहले बिहीबार विज्ञप्ति जारी गर्दै तीनकुनेमा भएको हिंसात्मक घटनाको स्वतन्त्र न्यायिक छानबिनको माग गरेका हुन् । विज्ञप्तिमा सरकार र राजावादी प्रदर्शनकारीहरू दुवैको भूमिकालाई आलोचना गर्दै दुवै पक्ष असफल र गैरजिम्मेवार रहेको बताइएको छ।
वक्तव्यमा, नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धन सरकारको गतिहीनता, प्रतिपक्षको निस्क्रियता, सडकमा देखिएको राजावादी प्रदर्शन र मुलुकको अस्थिर राजनीतिक अवस्थाले नागरिकलाई निराश तुल्याएको उल्लेख गरिएको छ ।
सरकार र प्रदर्शनकारी दुवै दोषी
वक्तव्यमा तीनकुने हिंसामा राज्यको सुरक्षा कमजोरी र प्रदर्शनकारीहरूको उत्तेजक रणनीति दुवै कारण रहेको उल्लेख छ।
घटनामा सरकारको सुरक्षा संयोजन असफल भएको, स्थिति नियन्त्रण गर्न नसकेको र निर्दोष नागरिकलाई जोगाउन नसकेको अभियानको निष्कर्ष छ ।
त्यस्तै, प्रदर्शनकारीको भूमिका सुनियोजित रूपमा उत्तेजक र हिंसात्मक गतिविधि गरी स्थिति भड्काउने प्रकृतिको देखिएको विज्ञप्तिमा उल्लेख छ ।
वक्तव्यमा भनिएको छ, ‘जुनसुकै विचार राख्नेले पनि लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार राख्छ, तर हिंसा, तोडफोड, आगजनी, र लुटपाट गर्न पाउँदैन।‘
स्वतन्त्र छानबिनको माग
नागरिक प्रथम अभियानले घटनाको छानबिन गर्ने न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ । आयोगले हिंसा कसले र किन भड्कायो, राज्यले किन उपयुक्त सुरक्षा प्रबन्ध गर्न सकेन, निर्दोष नागरिकको मृत्यु कसको लापरबाहीले भयो र प्रदर्शनकारीहरू किन अराजक बने जस्ता प्रश्नको जवाफ खोज्नुपर्ने अभियानको निष्कर्ष छ ।
वक्तव्यमा मृतक सविन महर्जन र पत्रकार सुरेश रजकको निधनप्रति दुःख व्यक्त गर्दै दोषीहरूलाई कारबाही गर्न आग्रह गरिएको छ।
अभियानले विद्यमान राजनीतिक अन्योल हटाई लोकतन्त्रलाई बलियो बनाउन नागरिक आन्दोलनको आवश्यक्ता रहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ।
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4