
काठमाडौं । चर्चित भारतीय डान्सर तथा अभिनेत्री नोरा फतेहीले नेपाली दर्शकलाई नचाउने भएकी छन् । ३ जेठमा बौद्धस्थित हायातको चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ आयोजना हुँदैछ ।
वर्ल्डवाइर्ड फिल्मस् नेटवर्क प्रालिले शिक्षाबाट बञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘हुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ च्यारिटी कार्यक्रम गर्न लागेको हो ।
मनु मिडिया प्रालिले इभेन्ट व्यवस्थापन हेर्नेछ । नेपालमा आयोजना हुँदै आएका अन्तर्राष्ट्रिय कलाकारका शोबीच यो कार्यक्रम उत्कृष्ट हुने इभेन्ट म्यानेजर मनिष कार्की बताउँछन् । यसका लागि मुम्बईबाट नोरासहित २० बढी कोरस डान्सरहरू प्रस्तुति दिन नेपाल आउनेछन् ।
पूर्ण मनोरञ्जनसहितको कार्यक्रम हेर्न नेपालीसँगै सीमावर्ती क्षेत्रका भारतीय दर्शक समेत नोरालाई हेर्न आउने आशा आयोजकको छ । नोराले पहिलोपटक नेपालमा प्रस्तुति दिन लागेकी हुन् ।
आयोजक संस्थाका अध्यक्ष देव मगरका अनुसार कार्यक्रममा चर्चित नेपाली कलाकारले पनि प्रस्तुति दिनेछन् । टिकटको मूल्य २ हजार, ४ हजार, ७ हजार र १६ हजार तय गरिएको छ । दर्शकले आइतबारदेखि खल्ती एपबाट टिकट किन्न सक्नेछन् ।
नोरा अभिनेत्री मात्र होइनन, चर्चित नृत्यांगना समेत हुन् । दिलबर दिलबर, कुसु कुसु, ओ साकी साकी, नाच मेरी रानी नाच सुपरडुपर हिट गीतमा नोराले नाचेकी छन् । ‘स्नेक’ उनको पछिल्लो विश्वब्यापी चर्चित गीत हो जुन ग्लोबल ट्रेन्डिङमा समेत छ । भारतको हिन्दी, तेलुगु र मलायलम फिल्ममा पनि उनले अभिनय गरेकी छन् ।
प्रतिक्रिया 4