२७, चैत, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको ११औं शिखर सम्मेलन आयोजना गर्ने भएको छ । यही चैत २८ गतेदेखि ३० गतेसम्म काठमाडौंको सोल्टी होटलमा सम्मेलन आयोजना हुने परिषद्का सदस्य सचिव डा.प्रमोद जोशीले जानकारी दिए ।
परिषद्को स्थापनाको ३४ वर्ष प्रवेश गरेको अवसरमा गतवर्ष जस्तै यसवर्ष पनि सम्मेलन आयोजना गर्न लागिएको सदस्य सचिव जोशीले बताए । ११औं शिखर सम्मेलनबारे जानकारी दिन परिषद्ले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
डा.जोशीका अनुसार चैत २८ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सम्मेलको उद्घाटन गर्नेछिन् ।
स्वास्थ्य र जनसंख्याका क्षेत्रमा भएका अनुसन्धानलाई प्रवर्द्धन गर्नु सम्मेलनको मूल उद्देश्य रहेको सदस्य सचिव डा.जोशी बताए । साथै प्रमाणमा आधारित निर्णय प्रक्रियालाई सुदृढ गर्नु, वैज्ञानिक अनुसन्धानकर्ता तथा नीति निर्माताहरू बीच समवन्य र सहकार्यलाई थप मजबुत बनाउनु पनि यस सम्मेलनको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
डा.जोशीका अनुुसार यस वर्षको सम्मेलन जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएका र हुनसक्ने सम्भावित चुनौतीको विषयमा केन्द्रित हुनेछ । स्वास्थ्य प्रणालीको उत्थानशिलता र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता जस्ता विषय पनि सम्मेलनमा समेटिनेछ ।
यसका साथै स्वास्थ्य बीमा कार्यक्रम, दक्ष स्वास्थ्यकर्मी र विज्ञहरूको पलायन, जनसंख्याको परिवर्तनसँग सम्बन्धित विविध पक्षहरूबारे छलफल हुनेछ । मानसिक रोग, सर्ने तथा नसर्ने रोगहरु र अनुसन्धान नियमन जस्ता स्वास्थ्य क्षेत्रका जल्दाबल्दा विषयमा केन्द्रीत भएर छलफल र प्रस्तुतिकरण गरिने डा.जोशीले बताए ।
सम्मेलनमा भारत, चीन, बेलायत, स्विजरल्यान्ड, जर्मनी, अमेरिकालगायत देशका विज्ञहरूको भौतिक तथा भर्चुअल माध्यमबाट सहभागी हुनेछन् ।
सम्मेलनमा प्रस्तुतीका लागि ८७ वटा मौखिक र ११५ वटा पोस्टर प्र्रस्तुतिकरण छनोट भएको परिषद्ले जानकारी दिएको छ ।
परिष्दका अनुसार पहिलो दिन उद्घाटनपछि मुख्य सत्रहरु र समानान्तर सत्रहरू सञ्चालन हुनेछन । दोस्रो दिन, दुईटा प्यानल डिस्कसन तथा समानान्तर सत्रहरू सञ्चालन हुनेछन्।
प्राविधिक सत्र समाप्त भएपछि सांस्कृतिक कार्यक्रम गरी दोस्रो दिनको सम्मेलन हुनेछ ।
तेस्रो दिन एउटा मुख्य र तीनवटा समानान्तर सत्रहरू सञ्चालन हुनेछन ।
कार्यक्रममा विभिन्न १४ विधाहरुमा उत्कृष्ट व्यक्तिहरूलाई पुरस्कारसमेत दिइने परिषद्ले जनाएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालका करिब १००० र अन्तर्राष्ट्रिय सहभागी १०० भन्दा बढी उपस्थित हुने आँकलन गरिएको छ ।
प्रतिक्रिया 4