 
																			२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवलपुरको देवचुली नगरपालिका–१६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको अवलोकन गरेका छन् ।
जनतासँग माओवादी, तराई–मधेश जागरण अभियानअन्तर्गत रजहर पुगेका प्रचण्डले प्राकृतिक चिकित्सालयको अवलोकन गरेका हुन् । माटो, पानी, बाफ र जडिबुटीमा आधारित रहेर उपचार गरिने यो प्राकृतिक चिकित्सालय समुदायस्तरबाट सञ्चालित छ ।
त्यसक्रममा आयोजित छलफल कार्यक्रममा उनले प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रूपमा विकास गर्ने प्रयासमा आफूले पनि सहयोग गरिरहेको बताए । ‘हाम्रै पार्टीका पनि धेरै साथीहरूले यहाँ आएर उपचार गरेपछि विभिन्न रोगबाट छुटकारा पाएको अनुभव सुनाउने गर्नु भएको छ,’ प्रचण्डले भने, ‘यो चिकित्सालयलाई अब शिक्षण अस्पतालकोे रूपमा विकास गर्नुपर्छ भनेर यहाँहरू लागिरहनु भएको छ । त्यसका लागि आवश्यक बजेट विनियोजनमा मैले पनि पहल गरिरहेको छु ।’
प्रचण्डले आफू प्रधानमन्त्री भएका बेला चिकित्सालयलाई संघीय सरकारबाट १३ करोड रुपैयाँ विनियोजन गरेको बताउँदै शिक्षण अस्पतालका लागि आवश्यक पर्ने पूर्वाधार विकासमा सरकार र समुदायले मिलेर काम गर्नु पर्ने बताए । उनले विपक्षी दलको हैसियतले सरकारसँग र अर्थ मन्त्रालयसँग पनि पूर्वाधार विकासका निम्ति आवश्यक बजेट विनियोजनका निम्ति पहल गर्ने बताए ।

‘म पछिल्लोपटक प्रधानमन्त्री भएको बेला झन्डै १३ करोड रुपैयाँ बराबरको सहयोग गरेको थिएँ । यस्तै, प्रदेश सरकारलाई पनि मैले आर्थिक सहयोगका निम्ति निर्देशित गरेको थिएँ । यसको आवश्यकता बुझेरै मैले त्यो पहल गरेको हुँ । अब यसलाई शिक्षण अस्पताल बनाउने प्रक्रियामा हाम्रो पार्टीको पूर्ण सहयोग रहनेछ,’ उनले भने ।
माओवादी अध्यक्ष प्रचण्डले सामुदायिक प्राकृतिक चिकित्सालयलाई प्राकृतिक विश्वविद्यालय बनाउने लक्ष्य लिएर अघि बढ्न सुझाव दिए । ‘त्यसो भयो भने मात्रै अन्य उपचार विधिभन्दा प्राकृतिक उपचार विधि कति प्रभावकारी छ, कति कम खर्चमा उपचार सम्भव छ र मानवजीवनलाई रोगमुक्त बनाउन कसरी सकिन्छ भन्ने सन्देश देशभर प्रवाह हुन सक्छ,’ उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4