१६ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापा फिफाको १० वर्षे प्रतिबन्ध सकिएपछि एन्फा साधारण सभामा सहभागी हुने भएका छन् ।
थापा सुर्खेतको आरसी ३२ क्लबको प्रतिनिधि बनेर साधारणसभामा सहभागी हुने भएका हुन् । क्लबका कार्यवाहक अध्यक्ष सुदिप चन्दले थापा र सुरेन्द्र बस्नेतलाई साधारण सभामा प्रतिनिधिको रुपमा सहभागी गराउने निर्णय गरेको हो ।
एन्फाको साधारण सभा आगामी वैशाख २६ गते हुँदै छ । नियमित साधारण सभा (एन्फा कंग्रेस) बैठकको तयारीस्वरूप सदस्य संस्थाहरूलाई विधानको धारा २६ को उपधारा (२) र (४) अनुसार तोकिएको ढाँचामा प्रतिनिधिहरुको नामावली पेश गर्न आग्रह गरेको छ।
सम्बन्धित सदस्य संस्थाले मिति २०८२ वैशाख १६ गतेभित्र, बैठक बस्ने मितिभन्दा कम्तीमा १० दिन अगावै, कार्यसमिति बैठकको निर्णयसहितको फारम एन्फा सचिवालयमा अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
साथै, विधानको धारा २६ को उपधारा (१) को (ख), (ग), (अ), र (ई) अनुसार शहिद स्मारक ‘बि’ डिभिजन, ‘सि’ डिभिजनका क्लबहरू, कोशी र गण्डकी प्रदेशका जिल्ला फुटबल संघहरूले तोकिएको संख्यामा मताधिकार प्रतिनिधि छनोट गरी सोही आधारमा नामावली पेश गर्नुपर्ने व्यवस्था रहेको एन्फाले स्मरण गराएको छ।
प्रतिक्रिया 4