
काठमाडौं । अक्षय तृतीयको अवसरमा फिल्म ‘बिगुल’को शुभसाइत गरिएको छ । बुधबार कोटेश्वरको महादेवस्थानमा शुभु मुहूर्त पूजा गर्दै फिल्मको निर्माण थालिएको हो ।
रमेश कोइरालाले निर्देशन गर्ने यो फिल्मको छायांकन भने बैशाख तेस्रो सातादेखि सुरु गर्ने तयारी छ । मुहूर्त सटमा बेनिशा हमाल र नरेन खड्काले अभिनय गरेका थिए ।
सामाजिक जागरण, राजनीति, नागरिकको कर्तव्य र जिम्मेवारी बोधका साथमा प्रचुर मनोरञ्जनले भरिने बताइएको फिल्मको मुहूर्त सट्मा चलचित्र विकास बोर्डका पूर्वसदस्य राजेन्द्र केसीले क्यामेरा स्वीच अन गरेका थिए ।
निर्देशक प्रदिप श्रेष्ठले क्ल्याप हानेका थिए । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको मुहूर्तमा निर्देशक सुचित्रा श्रेष्ठले नरिवल फोडेकी थिइन् ।
अभिनेता खड्काले समाज जागरणको बिगुल स्वरुपको संवाद बोलेका थिए भने संवादसँगै अभिनेत्री हमालले स्वतन्त्रता र शान्तिको प्रतिकस्वरुप एक जोडी परेवा उडाइएकी थिइन ।
दिनेश कोइरालाको कथामा मौनता श्रेष्ठको पटकथा र संवाद रहेको फिल्म शिव ढकालले खिच्ने छन् । कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा महेश कोइराला र सूर्यकान्त कोइराला छन् ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा बन्ने फिल्ममा बेनिशा र नरेनको साथमा नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी, हेमन्त बुढाथोकी, जेएन घिमिरे, सुमोद भारद्वाज, विनयराज पौडेल, सुपा खनाल, बबी भारती, तुलसी लम्साल, जयन्त रेग्मी, विकास अधिकारी, श्रेयान्सी थपलियाले अभिनय गर्नेछन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत हुनेछ । कविराज गहतराजको नृत्य निर्देशन रहने फिल्मको निर्माण व्यवस्थापकमा श्याम केसी छन् ।
प्रतिक्रिया 4