१७ वैशाख, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक भएको छ ।
२० वैशाखदेखि सुरु हुने लिगको बुधबार खेलतालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिबार कीर्तिपुर र सामाखुसी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो दिन शनिबार हाउन्ड्स एकेडेमी र रोएल्सबीच पनि प्रतिस्पर्धा हुनेछ । २१ वैशाखमा टाइम्स बास्केटबल क्लब र गोल्डेनगेट इन्टरनेसनल कलेजबीच हुनेछ ।
हिमालयन जाभासँगको सहकार्यमा हुने लिगमा ६ टिमको सहभागिता रहनेछ । विकेण्डमा खेलहरू आयोजना गर्ने योजना अनुसार यो बास्केटबल लिग हुन लागेको हो ।
सुरुमा शनिबार र आइतबार मात्रै खेल गर्ने तयारी रहे पनि वर्षाको मौसम र लामो समय लाग्ने भएकोले थप दुई दिन मंगलबार र बुधबार पनि खेल गर्न लागिएको आयोजक बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिए ।
६ साता चल्ने बास्केटबल लिगमा पाँच साता लिग चरणका खेलहरू हुनेछन् । हरेक साता कूल ६ खेल हुनेछ भने हरेक साता एक टिमले दुई–दुई खेल खेल्नेछन् ।
पहिलो साता मंगलबार हाउन्ड्स र टाइम्स तथा रोएल्स र गोल्डेनगेटबीच खेलहुनेछ भने बुधबार सामाखुसी र कीर्तिपुरबीच प्रतिस्पर्धा हुनेछ ।
दुई खेल हुने दिनमा पहिलो खेल दिउँसो ४ बजे र दोस्रो खेल बेलुका ७ बजे सुरु हुनेछ । यस्तै एक खेल हुने दिन साँझ ७ बजे मात्र खेल हुनेछ ।
लिगका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातमा रहेको आउटडोर कोर्टमा खेलाउने तयारी छ ।
प्रतियोगितामा टाइम्स क्लब, हाउन्ड्स एकेडेमी, गोल्डेनगेट इन्टरनेसनल क्लब, रोएल्स, कीर्तिपुर बास्केटबल क्लब र सामाखुसी युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
डबल राउन्ड रोविन प्रणालीका आधारमा हुने लिगमा ३० खेल हुनेछ । त्यसपछि शीर्ष दुईमा रहने टिमबीच फाइनल खेल हुनेछ । फाइनलमा भने दुई खेल हुनेछ ।
प्रतिक्रिया 4