
विस्तारै सबैतिर शिक्षाको ज्योति फैलँदैछ । पूर्वी परिवेशलाई केलाउने हो भने शिक्षाका क्षेत्रमा महिलामा विभेद देखिन छोडेको छ । महिला, पुरुष दुवै शिक्षित पनि बन्दैछन् । स्वरोजगार दर बढ्दो क्रममा छ । आत्मनिर्भरतासँगै आफ्ना समस्या खुलेर भन्न र समस्याको समाधान खोज्न दुवै पक्ष प्रयत्नरत देखिन थालेका छन्, तापनि हिंसा भने नजानिंदो किसिमले समाजमा जरो गाडेर बसेकै छ ।
हिंसा गर्ने तरिका फरक छ । जस्तालाई त्यस्तै भने झैं शिक्षितलाई शिक्षितै तरिकाले हिंसा गरिरहेको पाइन्छ । पुरुष सोचमा परस्त्री आकर्षण कम हुनसकेको छैन । पहिला बुबा, हजुरबुबाका समयमा बहुविवाहको चलन थियो ।
घरमा भएकी मन नपरे अर्की विवाह गरेर ल्याउँथे तर अहिले घरमा श्रीमती हुँदाहुँदै अर्की विवाह गर्न नपाउने कानून छ जसका कारण पुरुष सोचमा हुर्किरहेको परस्त्री क्रीडाले अर्को बाटो समाएको पाइन्छ ।
घरकीले थाहा नपाउने गरी लुकीछिपी परस्त्री राख्ने चलन समाजमा छ । घरमा श्रीमती हुँदाहुँदै पनि परस्त्रीसँग समय बिताउनुपर्ने, त्यसका लागि जस्तोसुकै कठिनाइ भोग्न तयार हुने शिक्षित पुरुषहरू र त्यसबाट मानसिक रूपमा प्रताडित शिक्षित महिलाहरू जो चाहेर पनि सम्बन्ध जोगाउने नाममा विरोधमा उत्रन सकिरहेका छैनन् ।
लोग्नेले आफूमाथि अन्याय गरेको देख्दादेख्दै पनि कतिपय महिलाहरू छोराछोरीमा पर्न सक्ने मानसिक असरलाई बुझेर सम्बन्ध तोड्दैनन् । समाज, परिवार र आफन्तलाई दिनुपर्ने स्पष्टीकरण र समाजमा रहेको आफ्नो मान–प्रतिष्ठालाई बचाउन त्यसबाट भोग्नुपर्ने मानसिक पीडा भन्दा जेसुकै होस् सहेर बस्छु भन्ने महिला सोचले पुरुषमा झन्–झन् शक्ति बढ्दै गएको देखिएको छ । यस्तै समस्याले ग्रसित समाजका केही प्रतिनिधि समस्या हेरौं ।
‘दिदी नमस्कार ! सञ्चै हुनुहुन्छ ? चिन्नुभएन होला ! म तल्लोगाउँकी बुहारी । तपाईसँग भेटघाट नै भएको थिएन । तर म तपाइँका लेखहरू पढ्ने गर्छु । मेरो पनि एउटा समस्या छ लेखिदिनु न !’
केही समय अगाडि म गाउँको कीर्तनमा गएको बेला करिब ३० वर्षकी जस्तो लाग्ने एक महिला म तपाईंको घरमै आएर सबै कुरा भन्छु नि दिदी भन्दै बिदा भइन् । नभन्दै उनी एक दिन मैरै घरमा आएर उनको समस्या बेलीबिस्तार लगाउन थालिन् ।
उनको समस्या यस्तो रहेछ- ‘दिदी मेरो घरमा म, मेरो श्रीमान् र एक छोरी छौं । अलिकति खेती छ, खान समस्या छैन । म पनि सानोतिनो काम गर्छु । बाहिर देख्दा त्यस्तो खटपट पनि छैन । व्यावहारिक काममा बोलचाल पनि राम्रो हुन्छ तर मेरो श्रीमान्को मति ठिक रहेनछ । एकछिन पनि घर बस्नुहुन्न ।’
उनले भनिन्, ‘विवाहको त्यस्तै एक हप्ता उहाँलाई मैले घरमा बसेको देखेकी थिएँ । त्यसपछि कहिल्यै घरमा भेटिंदैन । काम भए गर्ने, नत्र गाउँमै बस्ने हो । झरी–बादल, चाडबाड, केहीको पर्वाह छैन । शुुरूमा त यही कुराले म धेरै रोएँ । राति ९—१० बजेसम्म पर्खिएर बस्थें । यसरी नहिंड्न भन्थें । हिंड्नाको कारण सोध्थें । बरु ढुंगाले उत्तर देला तर उहाँबाट उत्तर आउँदैनथ्यो । रुँदा–रुँदा निदाउँथें ।’
बेलीबिस्तार लगाउँदै उनले भनिन्, ‘पछि छोरी जन्मेपछि म छोरीमै व्यस्त रहें । उहाँको स्वभावमा परिवर्तन थिएन । सासूसँग कुरा गर्दा यस्तै हो यसको बानी सानैदेखि हिंड्थ्यो भन्ने उत्तर आउँथ्यो । म गाउँ निस्कन मन नपराउने भएकाले केही थाहा पाउन्नथें ।’
उनका भनाइमा, पछि छोरी ठूली भएपछि खेतालासँग खेतमा सँगै काम गर्दा खस्याकखुसुक गर्थे । तर केही भन्दैनथे । एक दिन घरमा जरूरी काम पर्यो र श्रीमान्लाई खोज्न हिंडेकी त श्रीमान् विदेश गएको स्वास्नी मात्रै भएको एउटा घरको बाहिर बसिरहेको भेटें । गाउँकाहरू भन्थे सधैं आएर बस्ने ठाउँ यही हो । तपाईं वास्ता गर्नुहुन्न, यसको चाला निको छैन ।’
त्यसपछि मैले घरमा सासू–ससुराका अगाडि म उहाँसँग बस्दिनँ, चाला निको लागेन भनेर झगडा गरें । सबैले मेरो कुरा एक कानले सुनेर अर्को कानले उडाइदिए । म सहेरै बसें । केही दिन उहाँ बोल्नुभएन तर बानी जस्ताको तस्तै भयो । पछि हामी पसल गर्न थाल्यौं ।
उनले भनिन्, ‘छोरी सानी भएकीले म जान पाउन्नथें । कहिलेकाहीं जाँदा छिमेकी पसलेहरू भन्थे भाउजू तपाईं आउनुहुन्न यहाँ दिनभरि बस्ने अरू नै आउँछन् । उसलाई सोध्दा होइन भन्छ । अर्काले जे भन्यो त्यही पत्याउने । उल्याएको र सत्य भनेको चिनिंदैन ? भनेर उल्टै मलाई नै बुद्धु बनाउनुहुन्थ्यो ।’
विस्तारै मेरो जागिर खाने सोख भएकोले छोरी ठूली भएपछि काममा जान थालें । उहाँको र मेरो काम अलग–अलग थियो । उहाँले मलाई कहिल्यै आफ्नो कामको अनुभव साट्नुभएन । आफूलाई व्यस्त राख्न मन पराउने र गाउँ नहिंड्ने भएकाले गाउँबाट पनि म टाढा थिएँ ।
दिउँसो काममा जाने भएकोले बेलुका अबेरसम्म घरको काममा व्यस्त रहन्थें । बेलुका पनि छोरीलाई समय दिनुपथ्र्यो । म उहाँलाई वास्ता गर्न छोडें । नभए एक्लै बस्छु भन्ने आँट आउन थाल्यो । छोरी गफ गर्ने साथी थिई । राति आएर उहाँले बोल्ने भनेको नानी सुती ? मात्र हो ओछ्यानमा पस्यो गुटुमुटु भएर निदायो बस् । भोलिपल्ट उठ्यो फेरि उही ।
उनले भनिन्– घरमा बसे पनि उहाँ मेरो छेउमा कहिल्यै बस्नुभएन । मेरो छेउमा मोबाइल कहिल्यै निकाल्नुभएन । मोबाइल चलाउँदै गरेको बेलामा पुँगें भने हतार–हतार बन्द गर्नुहुन्थ्यो । मोबाइलको पासवर्डको लागि निकै झगडा गरें लिन सकिनँ ।
एक पटक मेरै आफन्तले पनि मलाई सचेत गराउन खोज्नुभएको थियो । मैले केही होइन भनेर टारिदिएँ । अब म थाहा पाएर पनि थाहा नपाए झैं गर्न थालें । उहाँको घर आउने र जाने समय आफ्नै हुनथाल्यो । उहाँ उहाँकै पाराले बाँच्न थाल्नुभयो म मेरै पाराले ।
पछि अनेक जुक्ति लगाएर मोबाइल पासवर्ड पत्ता लगाएँ । उहाँ निदाएको बेला खोलेर हेरेको एउटी गाउँकै महिलासँग कुराकानी हुँदोरहेछ । अश्लील भिडियो साटासाट हुँदोरहेछ । श्रीमान् विदेश गएको ठूला ठूला छोराछोरी भएकी महिला । पछि थाहा भयो तीनै महिलासँग बोल्न बाहिर जानु हुँदोरहेछ । मेरो छेउ नआउनाको कारण त्यही रहेछ ।
अहिले बाहिर हाम्रो सम्बन्ध राम्रो छ । हामी बीच यस्तो खटपट होला भनेर कसैले शंका पनि गर्न सक्दैनन् । उहाँसँग त्यसको बारेमा कुरा गर्दा केही होइन मैले अरू कोहीसित बोल्नै नहुने भन्दै उल्टै मलाई नै दोषी देखाउनुहुन्छ । अब म के गर्ने दिदी ! जेसुकै होस् वास्तै नगर्ने कि, यो सम्बन्धलाई तोडिदिउँ ? छोरीको ऊ बाबु हो तर छोरीकै लागि म यसको परस्त्री क्रीडा सहेरै बसौं ?
हाम्रो गाउँकै अर्कोे उदाहरण छ । एक जना बहिनीको विवाह भएको पाँच वर्ष भयो । एउटा छोरा छ । श्रीमान् विदेश गएको उतै अरू कसैसँग सम्बन्धमा रहेछ । उसकै कम्पनीमा काम गर्ने महिलाले तेरो श्रीमान् नराम्रो बाटोमा लागेको छ, सचेत गराइहाल है भनेर खबरदारी गरिदिएका रहेछन् ।
उनी भन्थिन् हेर्नु न दिदी नेपाल आएर पनि त्यसैलाई फोन गर्छ । राति अबेरसम्म घर बाहिरै हुन्छ । घरमा पनि त्यसैसँग बोलिरहेको हुन्छ । त्यो को हो भन्यो भने मेरो साथी हो भन्छ । हेरौं न भन्यो भने ‘तँलाई किन चाहियो भन्छ । तँ मात्र मेरो संसार होस् र ! मेरो प्राइभेट जीवन छैन ?’ भन्छ ।
अनि मैले त्यसको बारेमा खोजी गरें । त्यो विदेश गएका केटाहरूलाई हात लिएर सम्पत्ति कुम्ल्याउँदी रहिछे । यहाँ आएर पनि यिनीहरूको भेटघाट भइरहेको छ । मसँग सबै प्रमाण छ । भिडियो अडियो सबै रेकर्ड छ तर म सम्बन्ध तोड्न चाहन्नँ । त्यसैले मैले यसलाई गोप्य राखेकी छु ।
घरकालाई भन्दा उल्टै ममाथि दोष थुपारियो । मैले बिना काममा उसलाई शंका गरेकी रे ! कति झगडा गर्नु सबै मैमाथि खनिन्छन् । म त पागल हुन्छु होला दिदी । केही काम गर्न पनि मन लाग्दैन त्यसै टाउको मात्र दुखिरहन्छ । अस्ति पनि मेरै दोष देखाएर माइती बोलाएर माफ माग्न लगाए ।
प्रमाण हुँदाहुँदै पनि माइतीका अगाडि किन उसलाई नराम्रो पार्नु भनेर देखाइनँ । जिन्दगी लामो छ । डिभोर्स गरेर पनि के गर्नु पछि एक्लै बाँच्न पनि सजिलो छैन, अर्को विवाह गर्दा पनि यस्तै त होला नि तै बुद्धि आउँछ कि भनेर चुप लाग्या छु । अर्की ल्याउनै त पाउँदैन नि !
यस्तै एक पटक हाम्रै संस्थामा एक पुरुष कर्मचारी थिए, उमेरले पचास नाघिसक्या । छोराछोरीको बिहेवारी सकेर फार्से भएका । तर मन भने सोह्र वर्षे । बेलुका भएपछि होटलमा बसेर भएभरका महिला सहकर्मीहरूलाई फोन गर्ने । अबेरसम्म चाहिंदा नचाहिंदा विषयमा कुरा गर्ने ।
पछि हामीले मिटिङ नै राखेर यस्तो पाराले हाम्रो घरबार जान्छ । हामी काम गर्न सक्दैनौं भनेपछि उनी निष्काशित भए । पछि थाहा भयो यही कारणले धेरै ठाउँबाट निष्काशित भएका रहेछन् । यस्ता श्रीमान्बाट उनकी श्रीमतीले भोगेको पीडा कति दर्दनाक होला ?
आफ्नी श्रीमती इमानदार हुँदाहुँदै धोका दिनु सरासर गलत हो । विश्वास गरेर घर, बाबुआमा, परिवार या भनौं आफ्नो सृष्टि त्यागेर त्यही एउटा श्रीमान् असल मित्र पाउँला र जीवन सहज बित्ला भन्ने आशमा पराइघर भित्रिएकी महिलाले पलपलमा धोका, अपहेलना तिरस्कार पाउँछिन् भने सँगै बस्नुको औचित्य के ?
आज सुर्धेला, भोलि सुर्धेला भन्दाभन्दै जीवन समाप्त भइसक्छ । पहिला जस्तो माइतीले मारे पाप पाले पुण्य भन्ने समय अहिले छैन । एउटै घरमा मन नमिली बस्नुभन्दा छुट्टिएर अलग बस्दा दुवै पक्षलाई सहज हुन्छ । बाबुआमाले छोरी पाल्न नसकेर दिएका पक्कै होइनन् ।
अहिलेका छोरी पराइघर गएर पनि आफैं काम गरेर पालिएकै छन् भने शोषण केका लागि ? मन मिल्दैन भने सम्बन्ध तोड्ने अधिकार सबैलाई छ । घर सम्हाल्न एउटी चाहिने र मन बहलाउन अर्की लुकाएर राख्नुपर्ने पिपलपाते प्रवृत्तिले समाजमा समस्या बढेको हो । सबै आवश्यकता पूरा नभए सम्बन्ध तोड्ने अधिकार छँदैछ ! आवश्यकता पूरा भए किन परस्त्री आकर्षण ?
प्रतिक्रिया 4