
२१ वैशाख, काठमाडौं । पछिल्लो पटक नेपालबाट भारतमा भटमास तेल निर्यात ह्वात्तै बढेको छ । विदेशबाट कच्चा भटमास तेल ल्याएर यहाँ प्रशोधन (रिफाइन) गरी प्रशोधित भटमास तेल ठूलो परिमाणमा निर्यात भएको हो ।
सरकारको आधिकारिक तथ्यांक केलाउँदा चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) सम्ममा नेपालबाट प्रशोधित भटमास तेल निर्यात ७६ गुणाले वृद्धि भएको छ । यो भनेको ६२ अर्ब ७८ करोड रुपैयाँ बराबर हो ।
वस्तु तथा सेवा निर्यात हुनु सकारात्मक भए पनि भटमास तेल यसरी अस्वाभाविक हिसाबमा निर्यात हुनुमा भने धेरै कुराले अर्थ राख्ने अर्थविद्हरू बताउँछन् । छिमेकी भारतमा भटमास तेलको माग उच्च भएका कारण यताबाट निर्यात ह्वात्तै बढेको देखिएको हो ।
तर, यस खालको अस्वाभाविक निर्यात दिगो हुनेमा शंका गर्नुपर्ने ठाउँ धेरै देखिन्छ । यस्तो निर्यात दीर्घकालसम्म टिकाउ हुने पनि देखिँदैन ।
नेपालबाट भारतमा ठूलो परिमाणमा भटमास तेल निर्यात हुँदा भारतका व्यापारिक संघसंस्थाले त्यसलाई रोक्न सरकारसँग माग गरिरहेको भन्ने बुझिन आएको अर्थविद्हरूको भनाइ छ ।
आखिर किन भटमास तेल निर्यात ह्वात्तै बढ्यो ? अस्वाभाविक निर्यातले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ? यस्तो छ भटमास तेलको पछिल्लो निर्यात अवस्थाबारे जिज्ञासा र जवाफ :
चालु आव चैत मसान्तसम्म ६२ अर्ब ७८ करोड रुपैयाँ बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ । गत आव सोही अवधिमा ८२ करोड रुपैयाँ बराबरको मात्रै भटमास तेल निर्यात भएको थियो ।
भन्सार विभागका अनुसार गत चैतसम्म ६६ अर्ब ५ करोड रुपैयाँको कच्चा भटमास तेल आयात भएको छ ।
चैत २०८० सम्ममा भने १० अर्ब ८२ करोड रुपैयाँको मात्रै आयात भएको भटमासको कच्चा तेल २०८१ को सोही अवधिमा करिब साढे ५५ अर्ब बढीको आयात भएको हो ।
नेपालमा सबैभन्दा धेरै ५० अर्बको कच्चा भटमास तेल दक्षिण अमेरिकी देश अर्जेन्टिनाबाट आयात भएको छ ।
त्यस्तै ब्राजिल ७ अर्ब २६ करोड, चीन १ अर्ब १ करोड, इराक १ अर्ब ८४ करोड, थाइल्यान्ड २ अर्ब ३३ करोड र युक्रेनबाट १ अर्ब ७३ करोड रुपैयाँको आएको छ ।
त्यसरी आयात गरिएको कच्चा भटमास तेल प्रशोधन गरी नेपालबाट तेल निर्यात हुने गरेको छ । नेपालको कुल निर्यातको एकतिहाइ हिस्सा भटमास तेलले ओगट्दै आएको छ ।
भारतमा बढ्यो माग : भन्सार विभाग
भन्सार विभागका सूचना अधिकारी नारायणप्रसाद रेग्मी भारतमा माग बढेर भटमासको प्रशोधित तेल ठूलो परिमाणमा नेपालबाट निर्यात भएको बताउँछन् ।
उनका अनुसार पहिला पाम तेलको हिस्सा उच्च रहेकोमा अहिले भटमास तेल निर्यातमा वृद्धि भएको छ ।
‘हाम्रो अनुमान अर्थतन्त्रमा सुधार भएर गतिविधि बढ्न थालेको हो कि भन्ने छ,’ सूचना अधिकारी रेग्मी भन्छन्, ‘यो टिकाउ हुन्छ कि हुँदैन भोलिका दिनमा थाहा होला । तर, अहिलेलाई भने निर्यात बढ्दो छ ।’
खुसी भइहाल्नुपर्ने अवस्था छैन, टिकाउ हुँदैन : अर्थविद्
अर्थविद् केशव आचार्य भटमासको प्रशोधित तेल निर्यात बढ्दा कच्चा तेलको आयात पनि उत्तिकै बढेकाले यसमा खुसी भइहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् ।
भारतको करको दरले गर्दा नेपालको आफ्नो उत्पादन नभई अर्धप्रशोधित भटमास तेल आयात गरेर भारत निर्यात भएको हुँदा यसले तत्कालका लागि राम्रो गरे पनि पछिका लागि भने सोच्नैपर्ने उनको भनाइ छ ।
‘यो निर्यातको अवस्था दिगो होइन, गएको वर्ष भारतले आफ्नो देशमा तेलमा करको दर बढायो, यसले गर्दा हाम्रा निर्यात भारतमा सस्तो भयो,’ अर्थविद् आचार्यले अनलाइनखबरसँग भने, ‘उनीहरूले आन्तरिक उत्पादन गर्नुभन्दा नेपालमा उत्पादन गरेर लैजान फाइदा भएकाले निर्यात बढी भएको हो । तर, बदमासी के भयो भने कुनै प्रतिस्पर्धा मूल्यबाहेक अरू चिजमा गर्न सकिएन ।’
भारतका व्यवसायीहरूले ‘नेपालबाट आयात धेरै भयो यसलाई पुनरावलोकन गर’ भनेर सरकारसँग माग गरेका विवरण पनि सार्वजनिक भइरहेका छन् । यसले गर्दा कुनै बेला पनि यो धराशायी हुन सक्ने उनी बताउँछन् ।
‘बाहिरबाट भटमास ल्याएर यहाँ प्रशोधन गर्दा केही मूल्य अभिवृद्धि त भएको होला,’ उनी भन्छन्, ‘तेल निर्यात गर्दा सरकारलाई खासै कर आउँदैन । आयातमा पनि केही सहुलियत होला । केही न केही सरकारलाई राजस्व, कोठाभाडा, केही कर्मचारीको तलब दिन पुग्ला । तर, यो टिकाउ भने होइन ।’

भोलिका दिनमा भारतले महसुल, कर बढाइदियो र नन ट्यारिफ ब्यारियर (गैरभन्सार अवरोध) लगाइदियो भने धेरै गाह्रो पर्ने आचार्य बताउँछन् । यसले नेपाल–भारत व्यापार सन्धिमा कुराकानी हुँदा कालान्तरमा अप्ठ्यारो पार्न सक्ने उनको अनुमान छ ।
भारतले नेपालबाट गर्ने तेल आयात अचानक रोकिदियो भने नेपालको निर्यात अवस्था सखाप हुने उनी बताउँछन् ।
‘हाम्रो निर्यातको आधाभन्दा बढी हिस्सा भटमास तेलले नै बोकेको छ,’ अर्थविद् आचार्य भन्छन्, ‘तेलको निर्यात नभएपछि आयात गरिएको कच्चापदार्थ पनि कम हुन्छ । हाम्रो अन्तर्राष्ट्रिय व्यापार नै घट्न थाल्छ । त्यसैले यसमा दिगोपन भएन भने हानिकारक नै हुन्छ ।’
उनका अनुसार भारतले नेपालबाट सस्तो मूल्यमा तेल खरिद गरेर लैजान्छ । उनीहरूले आन्तरिक उत्पादनमा कर लगाउँछन् । विदेशबाट भटमास र त्यसको तेल आयात गर्दा हामीले लगाएको करको दरभन्दा बढी लगाउँछन् । भारतमा करको दर नेपालभन्दा बढी भएकाले निर्यात बढी भएको हो ।
नेपालबाट हुने निर्यात जुनसुकै बेला रोकिन सक्ने भएकाले यसको विकल्प खोजिहाल्नुपर्ने अर्थविद् आचार्यको सुझाव छ ।
नेपालको पहाड–तराई जहाँ पनि भटमास, तोरी, सस्र्युं उत्पादन हुने भएकाले यसमा जोड दिनुपर्ने उनी बताउँछन् । ‘देशमा भटमास, तोरी, बदाम, सनफ्लावर पनि मजाले फल्छ,’ उनी भन्छन्, ‘मुलुकमा व्यापक रूपमा यी वस्तु उत्पादन गर्ने हो भने यसमा राम्रो गर्न सक्छौं ।’
भटमास तेल निर्यात भरपर्दो होइन, जोखिमपूर्ण : कृषि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी महानन्द जोशी भारतले पहिला भटमास तेलको कच्चापदार्थ आफैंले विदेशबाट आयात गरेर बजारमा पठाउने गरेकोमा पछिल्लो समय त्यसमा रोक लगाएको हुँदा अहिले नेपालबाट उक्त तेल निर्यात वृद्धि भएको बताउँछन् ।
उनका अनुसार नेपाल–भारत वाणिज्य सन्धि अनुसार नेपालमा उत्पादित वस्तु ३० प्रतिशतसम्म मूल्य अभिवृद्धि गरेर निर्यात गर्न पाउने र आयातमा लगाउने भन्सार छुट नेपाली व्यवसायीले पाउने व्यवस्था छ ।
‘अहिले नेपालका व्यवसायीले भटमास तेल आयात गरी प्रशोधन गरेर भारत पठाइरहेका छन्,’ सूचना अधिकारी जोशी भन्छन्, ‘उक्त प्रशोधित तेलको सानो भोलुम मात्रै नेपालमा प्रयोग हुन्छ । बाँकी सबै निर्यात नै हुने हो ।’
कृषि अर्थ विज्ञ जोशी नेपालजस्तो देशका लागि आफ्नो देशको उत्पादन नभई बारिबाट आयातित वस्तु निर्यात गर्नु जोखिमपूर्ण नै हुने बताउँछन् ।
‘अघिल्लो वर्षकै तथ्यांक हेर्ने हो भने भटमास तेलको भारत निर्यात एकदमै कम छ, तर अहिले ह्वात्तै बढी भयो,’ उनी भन्छन्, ‘भारतले भटमास तेलमा लगाएको भन्सार अघिल्लो वर्ष जति पनि आयात गर्न पाउने भनेर खोलिदियो । भारतका व्यवसायीले सिधै ब्रााजिल, अर्जेन्टिना, युक्रेन लगायत देशबाट तेल आयात गरेर बिक्री गरे, त्यसपछि नेपालबाट हुने निर्यात रोकियो । यसले गर्दा यो निर्यात भरपर्दो छैन ।’
नेपालमा भटमास उत्पादन हुने विशेषगरी मध्यपहाडी क्षेत्रमा हो । भटमास उत्पादनकै लागि भनेर छुट्टै कुनै कार्यक्रमहरू पनि नआएको जोशी बताउँछन् । उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाबाट दलहन सम्बन्धी कार्यक्रम एक–दुई ठाउँमा गएको थियो ।
भारतले मगायो ३ अर्ब डलरको भटमास तेल
भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार भारतको कुल भटमास तेल आयात पनि अप्रिल–नोभेम्बर २०२४ मा १९ प्रतिशतले बढेर लगभग ३ अर्ब डलर (४ खर्ब ५ अर्ब रुपैयाँ) पुगेको छ । जुन २०२३ मा २ अर्ब ५० करोड डलर अर्थात् ३ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ बराबर थियो ।
भारतले तेलहन किसानहरूको हित संरक्षण गर्न भन्दै सेप्टेम्बर २०२४ मा भटमास, पाम र सूर्यमुखी तेलमा आधारभूत भन्सार शुल्क २० प्रतिशत बढाएको थियो । यसले कुल भन्सार शुल्क ३५.७५ प्रतिशत पुगेको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार भन्सार शुल्क परिवर्तन भएपछि नोभेम्बर २०२४ मा भारतले नेपालबाट २ करोड ३४ लाख ६० हजार डलर अर्थात् ३ अर्ब १६ करोड ७१ लाख रुपैयाँको भटमास तेल आयात गरेको छ ।
यो २०२३ मा १४ लाख २० हजार डलर अर्थात् १९ करोड १७ लाख रुपैयाँ बराबर मात्र थियो । अप्रिल र नोभेम्बर २०२४ बीच भारतले ३ करोड ८१ लाख ५० हजार डलर अर्थात् ५१ अर्ब ५० करोड बराबरको भटमास तेल आयात गरेको छ ।
भटमास तेलको प्रमुख उत्पादक ब्राजिलबाट भारतले अप्रिल र नोभेम्बर २०२४ मा ५४ करोड ९० लाख डलरको भटमास तेल आयात गरेको थियो । गत वर्ष सोही अवधिमा ८४ करोड ९१ लाख ९० हजार डलरको आयात गरेको थियो । संसारकै सबैभन्दा ठूलो भटमास तेल निर्यातकर्ता देश चीनले भने सिधै भारतमा निर्यात गर्ने गरेको छैन ।
नेपालमा तेल उत्पादन कति ?
तेल व्यवसायीहरूका अनुसार नेपालमा खानेतेल उत्पादन गर्ने उद्योगको संख्या ३० पुगिसकेको छ । यी उद्योगले अहिले वार्षिक २५ लाख टन तेल उत्पादन क्षमता राख्छन् ।
उक्त प्रशोधित तेलमध्ये ५ लाख टन मात्रै नेपाली बजारमा खपत हुन्छ । बाँकी २० लाख टन तेलका लागि भारतीय बजारमा भर पर्नुपर्ने व्यवसायी बताउँछन् ।
प्रतिक्रिया 4