
२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले नीति तथा कार्यक्रममा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् ।
प्रतिनिधिसभामा आजबाट सुरु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शर्माले एउटा पक्षले मात्र ल्याउने कार्यक्रमले देशका समग्र समस्या समाधान हुन नसक्ने बताए ।
‘परिणामविहीन विगतकै नीतिको निरन्तरतारले देशलाई परिवर्तन गर्न सक्दैन । ७० वर्षदेखि एक अंकको आर्थिक वृद्धिमा घिस्रिँदै आएको अर्थतन्त्रलाई दोहोरो अंकमा पुर्याउन निकै ठूलो सुधारको आवश्यकता देखिन्छ । टालेटुले कुराले अब देश चल्दैन, पार्टीहरू चल्दैनन् । चौतर्फी सुधार आजको आवश्यकता छ,’ उनले भने, ‘त्यसैले नीति कार्यक्रममा एउटा नेताको सोचले मात्र सबैलाई समेट्न सक्ने अवस्था रहेन । सबै पक्षसँगको छलफल र बहसबाट राष्ट्रिय सहमति कायम गरौं र नीति तथा कार्यक्रम बनाऔं ।’
सरकारले ल्याएको नीति तथा कार्यक्रम झन् पछाडि धकेल्ने गरी आएको बताएका शर्माले आर्थिक विकासमा सत्ता र प्रतिपक्ष नभनीं राष्ट्रिय सहमतिको आधारमा नीति तथा कार्यक्रमलाई संशोधन गर्नुपर्ने धारणा राखे ।
उनले शिक्षा, स्वास्थ्य, भूमिसुधार, रोजगार सिर्जना जस्ता विषयमा नीति तथा कार्यक्रम चुकेको चर्चा गरे । नीति तथा कार्यक्रममा पुरानै कुराहरूको रटान, असफल र फेल भइसकेका कार्यक्रमहरू दोहोरिएको उनको भनाइ थियो ।
सांसद शर्माले संघीयताको कार्यान्वयनमा सरकारको नीति तथा कार्यक्रम प्रतिबद्ध नदेखिएको पनि बताए । यस्तै, स्थानीय तहलाई सेवा प्रवाहको प्रतिस्पर्धामा ल्याउने सोच पनि सरकारमा नदेखिएको चर्चा गरे ।
प्रतिक्रिया 4