१ जेठ, काठमाडौं । नयाँबस्ती युथ क्लब बी डिभिजनबाट रेलिगेसनमा परेको छ । जारी शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत बुधबार मध्यपुर युथ एसोसिएसनले श्री भगवती क्लबलाई १-१ को बराबरीमा रोक्दै अंक खोसेपछि नयाँबस्ती दुई खेलअघि नै सी डिभिजनमा घटुवा हुने पक्का भएको हो ।
नयाँबस्ती पछिल्लो खेलमा झापा फुटबल क्लबसँग पराजित भएको थियो । यस्तै नयाँबस्तीले सरस्वती युथ क्लब विरुद्ध उजुरि हालेर पाएको ३ अंक पनि पनि घटेको छ । एन्फाको अपिल कमिटीले सरस्वती क्लबका धिरेन्द्र बहादुर शाहको निलम्बन फुकुवा गर्दै सरस्वती क्लबको खोसिएको ३ अंक पनि फिर्ता गरेपछि नयाँबस्ती संकटमा परेको छ ।
नयाँबस्तीको ११ खेलबाट ५ अंक मात्र छ र अंकतालिका पूछारमा छ । नयाँबस्तीले अब बाँकी दुवै खेल जितेपनि १२औं स्थानमा रहेको मध्यपुरलाई भेट्ने छैन । मध्यपुरको ११ खेलबाट १२ अंक छ ।
बी डिभिजन लिगबाट पूछारका दुई टिम रेलिगेसनमा पर्ने प्रावधान छ ।
११ खेलबाट ११ अंक नै जोडेको टुसाल युथ क्लब १३औं स्थानमा छ र रेलिगेसनबाट बच्न संघर्षरत छ । टुसालसँगै मध्यपुर,ब्रिगेड ब्वाइज क्लब र श्री कुमारी क्लब रेलिगेसन ब्याटलमा छन् । यी टिममध्ये एक टिम रेलिगेसनमा पर्नेछ ।
११औं चरणको खेल सकिँदा ए डिभिजनमा बढुवा हुने एक टिम र रेलिगेसन पर्ने एक टिमको टुङ्गो लागेको छ भने अब बढुवा हुने र रेलिगेसन पर्ने एक-एक टिमको टुङ्गो लाग्न बाँकी छ ।
हाल ११ खेलबाट २३ अंकसहित दोस्रो स्थानमा रहेको श्री भगवती क्लब बढुवा हुने होडमा छ । मध्यपुरसँग बराबरीमा रोकिँदा श्री भगवतीले बढुवा हुन कुर्नुपर्ने भएको हो ।
११ खेलबाट अपराजित रहँदै २७ अंक जोडेको प्लानिङ ब्वाइजले ए डिभिजनमा बढुवा पक्का गरिसकेको छ ।
प्रतिक्रिया 4