+
+
Shares

ढुंगा-गिटी निकाल्दा रह बन्यो, पौडी खेल्दा डुबेर सिजलको ज्यान गयो

एसईई दिएर हिमालय मावि सौरपानीमा कम्युटर सिकिरहेका सिजल आफ्ना अन्य चार साथीसहित ढोडेनीभन्दा तल कालिका हाइड्रोको ड्याम क्षेत्रमा ५/६ किलोमिटर हिँडेर पौडी खेल्न पुगेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १६ वर्षीय सिजल गुरुङको गहिरो पानीमा डुबेर मृत्यु भएको हो, उनी साथीहरूसँग पौडी खेल्न गएको थिए।
  • ताल र रहको कारणले गर्दा दरौंदी खोलामा ठूलो खतरा भएको र यसले किशोरको ज्यान लिएको प्रहरीको अनुसन्धानले देखाएको छ।
  • गाउँपालिकाले उत्खनन गर्दा बनाएको ताल र हाइड्रोको ड्यामको कारणले यस्तो घटना भएको हुन सक्ने आशंका गरिएको छ।

१ जेठ, पोखरा । अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकाको सीमा दरौंदी खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।

गोरखा बारपाक सुलिकोट वडा नम्बर ४ जोडाँडा–लामागाउँका १६ वर्षीय सिजल गुरुङको कालिका हाइड्रोको ड्याम क्षेत्रमा बनेको रहमा डुबेर मृत्यु भएको हो ।

एसईई दिएर बसेका सिजल आफ्ना अन्य चार साथीसहित ढोडेनीभन्दा तल कालिका हाइड्रोको ड्याम क्षेत्रमा ५/६ किलोमिटर हिँडेर पौडी खेल्न पुगेका थिए ।

हिमालय मावि सौरपानीमा कम्युटर सिकिरहेका उनीहरू त्यतैबाट दरौंदीमा पौडी खेल्न पुगेको स्थानीय नवराज लामाले जानकारी दिए ।

पौडी खेल्न पारंगत थिएनन् र खेल्ने क्रममै गहिरोतिर पुगेपछि सिजलको डुबेर मृत्यु भएको बुझिएको इलाका प्रहरी कार्यालय जौबारी गोरखाका इन्स्पेक्टर किरण घिमिरेले बताए ।

‘साथीहरू सँगै पौडी खेल्न गएका थिए, त्यही क्रममा गहिरोतिर पुगेछन् र पौडिन नजान्दा ज्यान गुमाएछन्,’ इन्स्पेक्टर घिमिरेले भने ।

कालिका हाइड्रोको ड्यामै आडमा दरौंदी खोलामा ठूलो रह बनेको छ । हाइड्रो, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका दुवैले राजश्वका लागि ढुंगा, गिटी बालुवा ठेक्कामा लगाएर उत्खनन गर्दा त्यहाँ ठूलो रह बनेको स्थानीयहरूले बताएका छन् ।

‘ढुंगा, गिटी, बालुवा निकाल्दा त्यहाँ ताल नै बन्न पुग्यो । गाउँपालिकाले नै ठेक्का लगाएर उत्खनन गर्दा ताल बन्यो तर त्यसले किशोरको ज्यानै लियो । नजिकै हाइड्रोको ड्याम पनि छ,’ नवराजले भने, ‘अहिले सबै स्थानीय, प्रहरी प्रशासनलगायत सम्बन्धित ठाउँमै भेला भएका छौं ।’

सिजल सुरेश दम्पत्तिका एक मात्र सन्तान हुन् । उनी इन्जिनियर बन्ने लक्ष्यसहित कम्युटरसमेत सिकिरहेको सुरजले बताए । गर्मी छाल्ने नाममा दरौंदीमा पौडी खेल्न पुग्दा सिजलको ज्यान गएपछि अहिले परिवार विह्वल बनेको छ ।

सिजल डुब्न लागेपछि अन्य साथीहरूले सहायता माग्न दौडिएको तर वरपर कोही नभएपछि तत्कालै उद्धार हुन नसकेको पाइएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर घिमिरेले जानकारी दिए ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?