News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल चिनी उद्योग संघले भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको भए पनि नेपालमा चिनी अभाव नहुने जनाएको छ।
- संघका अनुसार चालु क्रसिङ सिजनमा १३ चिनी उद्योगहरूले करिब १ लाख ९० हजार ८ सय ७० टन चिनी उत्पादन गरेका छन्।
- संघले अनावश्यक भण्डारण नगर्न आग्रह गर्दै चिनी उपलब्धता पर्याप्त भएकाले मूल्यमा तत्काल वृद्धि नहुने स्पष्ट पारेको छ।
१ जेठ, काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरे पनि नेपालमा चिनी अभाव नहुने नेपाल चिनी उद्योग संघले जनाएको छ ।
संघले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वदेशी उद्योगहरूमा पर्याप्त चिनी मौज्दात रहेकाले उपभोक्ताहरूलाई चिन्तित नहुन आग्रह गरेको हो ।
संघका अनुसार चालु क्रसिङ सिजनमा सञ्चालनमा आएका १३ वटा चिनी उद्योगहरूबाट करिब १ लाख ९० हजार ८ सय ७० टन चिनी उत्पादन भएको छ । जसमध्ये २८ वैशाखसम्मको तथ्यांक अनुसार उद्योगहरूसँग अझै १ लाख ८ हजार टन चिनी मौज्दात छ ।
उद्योगीहरूको मौज्दात बाहेक बजारमा व्यवसायीहरूसँग करिब २० हजार टन र चालु आर्थिक वर्षमा आयात भएको करिब ६० देखि ७० हजार टन चिनी बजारमा उपलब्ध रहेको संघले जानकारी दिएको छ ।
यसका साथै खुला सिमानाबाट समेत चिनी आयात भइरहेकाले आगामी क्रसिङ सिजनसम्मका लागि नेपालमा चिनी उपलब्धता पर्याप्त रहेको संघको दाबी छ ।
चिनी उपलब्धता पर्याप्त रहेकाले तत्काल कारखानास्तरबाट चिनीको मूल्यमा कुनै उल्लेख्य वृद्धि नहुने बेहोरा समेत संघले स्पष्ट पारेको छ । ‘स्वदेशमा पर्याप्त मात्रामा चिनी उपलब्ध र मौज्दात रहेको हुँदा तत्काल कारखानाबाट हुने मूल्यमा वृद्धि हुँदैन,’ विज्ञप्तिमा छ ।
अनावश्यक भण्डारण नगर्न आग्रह
भारतको निर्यात प्रतिबन्धका कारण बजारमा कृत्रिम अभाव सिर्जना हुन सक्ने भन्दै संघले सरोकारवालाहरूलाई अनावश्यक मात्रामा चिनी भण्डारण नगर्न र नगराउन समेत अनुरोध गरेको छ ।
भारतको निर्णयले नेपाली बजारमा चिनी आपूर्ति र उपलब्धतामा कुनै कमी नआउनेमा ढुक्क हुन संघले सबैलाई आश्वस्त पारेको छ ।
प्रतिक्रिया 4