
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाको योजना अनुगमन समितिले लैनचौर मार्गको अस्फाल्ट कामको अनुगमन गरेको छ।
- अनुगमनले कामको गुणस्तर जाँच गर्न प्राविधिक प्रतिवेदन माग गरेको छ।
- सडकको काम लगभग पूरा भइसकेको भए पनि साइड ड्रेनको काम बाँकी रहेको छ।
२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको योजना अनुगमन समितिले लैनचौर मार्गमा गरिएको अस्फाल्ट (सडकमा कालोपत्र थप गर्ने) काम अनुगमन गरेको छ ।
बिहीबार समिति संयोजक एवं महानगर उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अनुगमन भएको हो । यस क्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, सहरी योजना आयोग उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, वडाध्यक्ष ख्यामराज तिवारी, सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्य, योजना, अनुगमन तथा मूल्यांकन एकाइ प्रमुख सुमित्रा सुवेदी लामिछाने सहित प्राविधिक थिए ।
प्राविधिक प्रतिवेदन माग
अनुगमन क्रममा बाहिरी आँखाले देखिएका त्रुटि सुधार गर्न निर्देशन दिँदै उपप्रमुख डंगोलले, प्राविधिक प्रतिवेदन माग गरेकी छिन् ।
‘काम राम्रो देखिएको छ, तर यसलाई पुष्टि गर्न कागजमा लेखिएको र फिल्डको अवस्था दाँजेर हेर्नुपर्छ,’ उनले इन्जिनियरहरूसँग प्राविधिक प्रतिवेदन पेस गर्न भनिन् ।
अनुगमन क्रममा सडक कालोपत्र गर्न प्रयोग गरिएको बिटुमिनको मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, कम्प्याक्सन (खँदिलोपना), निर्माण सामग्री मिश्रण, ढल निकास, खानेपानी सहित अन्य संरचनासँगको सञ्जाल सम्बन्ध हेरिएको थियो ।
निर्माण कार्य अन्तर्गत अस्फाल्टको काम सकिएको छ । साइड ड्रेन (सतह पानीको निकास) का लागि काम गर्न बाँकी छ ।
यो मार्ग ४ सय ३४ मिटर लामो छ । महानगर गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत सडकमा ओभरलेइङ गरिएको हो । यो मार्गसँगै महानगरको उत्तरी क्षेत्र (वडा नम्बर १, २, ३, ४, ५, २६, २८, २९ र ३०) का ९ वटा वडाका सडक ओभरलेइङ भइरहेका छन् ।
यस क्षेत्रको कामका लागि आह्वान गरिएको सार्वजनिक बोलपत्रको सूचनाबाट आएका निर्माण पक्षमध्ये ढुकुछु–आरए जेभीले कामको जिम्मा पाएको छ ।
निर्माण पक्षसँग ७ असार २०८१ मा सम्झौता भएको थियो । सम्झौता अवधि असार २०८३ सम्म छ । करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोडमा सम्झौता भएको छ । यसअन्तर्गत अहिलेसम्म करिब २० करोड बराबरको काम भइसकेको छ ।
प्रतिक्रिया 4