
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ६ किलो गाँजा बरामद गरेको छ।
- प्रहरीका अनुसार दुई भारतीय नागरिकलाई जाँच गर्दा उनीहरूको साथबाट गाँजा बरामद भएको हो ।
- उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि लागु औषध नियन्त्रण ब्युरोमा पठाइएको छ।
५ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ ।
दुई छुट्टाछुट्टै घटनामा करिब ६ किलो गाँजा बरामद गरेको हो । विमानस्थलको आगमन भन्सार एरियाबाट १ किलो ५ सय ग्राम गाँजासहित भारतीय नागरिक २७ वर्षीय अरुण पलाथिङ्गल सोमन पक्राउ परेका हुन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेसबाट उक्त गाँजा बरामद भएको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागु औषध नियन्त्रण ब्युरो पठाइएको छ ।
यसैगरी विमानस्थलको पार्किङ एरियाबाट ४ किलो २ सय १५ ग्राम गाँजासहित अर्का भारतीय पनि पक्राउ परेका छन् । भारतीय नागरिक ३५ वर्षीया सुमैया मेहबुब शिखलाई प्रहरीले पक्राउ गरेको हो ।
थाई एयरवेजको उडानमार्फत बैंककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको सुटकेसबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागु औषध नियन्त्रण ब्युरो पठाइएको छ ।
प्रतिक्रिया 4