+
+
Shares

सूर्य थापाको प्रश्न : सांसद विकास कोषविरुद्ध किन बकबास गरेको ?

थापाले सांसदले मतदाताको विश्वास जितेर आएको हुनाले बजेट सिफारीस गर्ने अधिकार हुने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सांसद सूर्य थापाले सांसदको भूमिका कमजोर बनाउने प्रयास अस्वीकार्य भएको बताए।
  • उनले सांसदहरूलाई योजना सिफारिस गर्ने अधिकार रहेको र बजेटसँग अलग गर्न नहुने बताए।
  • थापाले निर्वाचन क्षेत्रको विकासमा सांसदको भूमिका प्रभावकारी र प्रभावशाली हुन आवश्यक रहेको बताए।

६ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले निर्वाचित जनप्रतिनिधिको भूमिका कमजोर बनाउने प्रयास कुनै पनि बहानामा उचित नहुने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापाले प्रश्न गरे, ‘सांसदहरूलाई कोष हैन योजना सिफारिस गर्ने अधिकार दिँदा त्यसविरुद्ध किन बकबास गरिन्छ ?’

थापाले सांसद विकास कोषको रकमबारे अनावश्यक प्रचार भइरहेको भन्दै सांसदहरूलाई कोष नभएर योजना सिफारीस गर्ने अधिकार रहेको तर्क गरे ।

‘निर्वाचन क्षेत्रको विकास प्रक्रियामा सांसदको भूमिकालाई प्रभावकारी, अटुट र अन्योन्याश्रित रूपमा जोड्नु अनिवार्य छ,’ उनले भने, ‘समाजमा एकथरी मानिस यस कार्यमा सांसदहरूलाई अलग गर्नुपर्ने वाहियात छलफल, बुद्धिविलास र पूर्वाग्राही एवं नकारात्मक भाष्य निर्माणमा लागेका भेटिन्छन् ।’

थापाले सांसदले मतदाताको विश्वास जितेर आएको हुनाले बजेट सिफारीस गर्ने अधिकार हुने बताए ।

‘वास्तवमा एक सय ६५ वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदहरू आ-आफ्नो क्षेत्र जिल्लाको विकासमा सक्रिय योजना दिने पार्टीको स्पष्ट घोषणापत्र र प्रतिबद्धतासहित मतदाताको विश्वास जितेर निर्वाचित भएको वस्तुगत यथार्थलाई बजेट विनियोजनका क्रममा हेक्का राख्नुपर्छ,’ उनले भने ।

बजेट र सांसदलाई अलग गर्न नहुनेमा थापाले जोड दिए । ‘बजेट सुन्ने छलफल गर्ने र त्यसलाई पारित गर्ने हामी सांसदहरूको संवैधानिक र कानुनी अधिकार नै हो । जननिर्वाचित प्रतिनिधिको भूमिका कमजोर बनाउने कुरा कुनै बहानामा पनि सह्य हुनसक्दैन,’ उनले भने ।

सांसदलाई बजेटबाट अलग गर्दा व्यवस्था विरोधीहरूलाई फाइदा हुने तर्क गरे । ‘यसबाट व्यवस्था विरोधी, अस्थिरतावादीहरू र अराजकतावादीहरू हौसिने तथा अनावश्यक रूपमा आम नागरिक र मतदाताहरू थप असन्तुष्ट बन्ने अवस्थाको अन्त्य हुनुपर्छ ।’

उनले निर्वाचन क्षेत्रका विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी, अटुट र अन्योन्याश्रित जोड्नु अनिवार्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?