+
+
Shares

विश्वमै पहिलोपटक मूत्रथैलीको प्रत्यारोपण, बिरामीले ७ वर्षपछि आफैं गरे पिसाब

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यालिफोर्नियाका डाक्टरहरूले विश्वमै पहिलोपटक मूत्रथैली प्रत्यारोपण गर्न सफल भए।
  • शल्यक्रिया मे ४ मा लस एन्जल्सको रोनाल्ड रेगन युसीएलए मेडिकल सेन्टरमा सम्पन्न भयो।
  • यो सफलता चिकित्सा क्षेत्रमा नयाँ आशा र चुनौतीहरू ल्याएको छ।

अमेरिकाको क्यालिफोर्नियाका डाक्टरहरुले चिकित्सा विज्ञानको क्षेत्रमा नयाँ तथा ऐतिहासिक सफलता हात पारेका छन् । उनीहरुले विश्वमै पहिलोपटक एकजना व्यक्तिमा मूत्रथैली प्रत्यारोपण गर्न सफल भएका छन्, जसलाई चिकित्सा विज्ञानको क्षेत्रमा कोशेढुंगा मानिएको छ ।

लस एन्जल्सको रोनाल्ड रेगन युसीएलए मेडिकल सेन्टरमा गत मे ४ का दिन उक्त शल्यक्रिया भएको हो । यो सफलताले ती व्यक्तिहरुको लागि नयाँ आशा जगाएको छ, जसको मूत्राशयले राम्रोसँग काम गर्दैन ।

यी हुन् मूत्रथैली प्रत्यारोपण गर्ने व्यक्ति

४१ वर्षीय अस्कर लेरेन्जर विश्वमै पहिलोपटक मूत्रथैली प्रत्यारोपण गर्ने व्यक्ति बनेका छन् । उनी चार सन्तानका पिता हुन् ।

अस्करलाई मूत्रथैलीको दुर्लभ क्यान्सर थियो । त्यसको उपचारका क्रममा उनको मूत्रथैलीको अधिकांस हिस्सा निकालियो । सामान्य मूत्रथैलीले ३ सय मिलिलिटर भन्दा धेरै पिसाब राख्न सक्दछ । तर, अस्करको मुत्रथैलीमा चाहिँ केवल ३० मिलिलिटर मात्रै पिसाब अट्थ्यो ।

क्यान्सरकै कारण उनका दुबै मिर्गौला पनि निकालिएको थियो । सात वर्षदेखि उनी डायलाइसिस गरेर बाँचिरहेका थिए र जिवन निकै कठीन थियो । उनले राम्रोसँग पिसाब गर्न पनि सक्दैनथे । त्यस्तो अवस्थामा आफू कुनैपनि बेला फुट्नसक्ने बमजस्तै रहेको भन्दै अस्करले मुत्रथैली प्रत्यारोपणपछि चाहीँ बाँच्ने आशा पलाएको बताए ।

शल्यक्रियाको तयारी

क्यालिफोर्निया विश्वविद्यालयको रोनाल्ड रेगन अस्पतालका डाक्टर निमा नस्सीरी र युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाका डाक्टर इदरबीर गिलले संयुक्त रुपमा उक्त शल्यक्रिया गरे । उनीहरुले उक्त शल्यक्रियाका लागि पछिल्लो ४ वर्षदेखि तयारी गरिरहेका थिए । सुरुमा उनीहरुले सुँगुर तथा मानिसको शवमा अभ्यास गरे । त्यसपछि यस्ता मानिसहरुमा परीक्षण गरे जसको मस्तिष्कले काम गर्न छाडिसकेको थियो, तर मुटु चाहिँ चलिरहेको थियो ।

मूत्रथैली प्रत्यारोपण कठिन थियो, किनकि यसका लागि रगतका नलीहरुलाई सावधानीपूर्वक जोड्नु पर्दथ्यो । डाक्टरहरुले यसका लागि एक नयाँ प्रविधि तयार पारे, जसमा मूत्रथैलीलाई बरफमा राखेर त्यसका नसाहरुलाई जोडियो ताकि बिरामीमा केवल दुईवटा मात्रै जडान गर्नुपर्‍यो ।

आठ घण्टाको शल्यक्रिया

गत मे ४ का दिन डाक्टरहरुले अस्करको सरीरमा एक नयाँ मूत्रथैली र एउटा नयाँ मिर्गौला प्रत्यारोपण गरे । त्यो शल्यक्रिया ८ घण्टासम्म चल्यो । सुरुमा मिर्गौला प्रत्यारोपण गरियो र त्यसपछि मूत्रथैली ।

शल्यक्रिया लगत्तैबाट मिर्गौला र मूत्रथैलीले राम्रोसँग काम गर्न थाले । बिरामीको मिर्गौलाको स्वास्थ्य बताउने रगतको क्रिएटिनिनको स्तर पनि राम्रो हुन थाल्यो । अस्करले रगतमा रहेको २० पाउण्ड अतिरिक्त तरल पदार्थ पनि उत्सर्जन गरे ।

यसअघिका उपचार र उत्पन्न समस्याहरू

जो मानिसको मूत्रथैली निकालिन्छ उनीहरुका लागि डाक्टरहरुले आमरुपमा आन्द्राको एक हिस्साको प्रयोग गर्दछन् । त्यसबाट पिसाबलाई बाहिर निकाल्न सहयोग पुग्छ । तर, आन्द्रामा ब्याक्टेरिया हुने कारणले त्यसबाट ८० प्रतिशत बिरामीलाई समस्या उत्पन्न हुन्छ र त्यसले संक्रमण तथा मिर्गौला रोगको पनि अवस्था पनि निम्त्याउँछ । तर, अब मूत्रथैली नै प्रत्यारोपण गरेपछि आन्द्राबाट काम चलाउने पुरानो समस्याको हल हुनेछ । प्रत्यारोपित मूत्रथैलीले पूरानो वास्तविक मूत्रथैलीले जस्तै काम गर्दछ ।

चुनौती तथा भविष्य

मूत्रथैलीको प्रत्यारोपणमा सबैभन्दा ठूलो चुनौती भनेको शरीरले बाह्य प्रत्यारोपित अंगलाई स्वीकार नगर्नु तथा औषधिहरुको साइड इफेक्ट हो । अस्करले पहिलेदेखि नै मिर्गौला प्रत्यारोपणका लागि औषधि लिनु पर्दथ्यो । त्यसैले उनी त्यस शल्यक्रियाका लागि सही व्यक्ति थिए । तर, हरेक बिरामीका लागि यो सजिलो हुँदैन । डाक्टर राचेल फोब्र्सका अनुसार औषधि विनाका अन्य विकल्प पनि छन् । तथापि हामीले सावधानी अपनाउनु पर्दछ ।

मूत्रथैली प्रत्यारोपण पछि पनि अस्करलाई उक्त मूत्रथैलीमा पिसाब भरिएको महसुस हुन्छ कि हुँदैन भन्ने कुरामा डाक्टरहरुलाई एकिन थिएन । तर, शल्यक्रियापछि जब क्याथेटर हटाइयो तब अस्करले तुरुन्तै पिसाब गरे । डाक्टर नस्सिरीले यसलाई चमत्कार बताए र तत्कालै डाक्टर गिललाई फोन गरेर अस्करले पिसाब गरिरहेको जानकारी गराए । त्यो सुनेर डाक्टर गिल पनि तिनछक परे । वास्तवमा अस्करले ७ वर्षपछि यसरी आफै पर्याप्त पिसाब गरेका थिए ।

वास्तवमा यो शल्यक्रिया युनिभर्सिटी आफ क्यालिफोर्निया लस एन्जल्सका लागि एउटा चिकित्सा ट्रायलको हिस्सा थियो । डाक्टरहरुले अरु चारजना बिरामीमा पनि यसैगरी प्रत्यारोपण गर्नेछन् ताकि परिणामका बारेमा उनीहरु एकिन हुन सकुन् । यदि यो परीक्षण सफल भएमा भविष्यमा ठूलो परिमाणमा यसको प्रयोग हुन सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?