News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भलिबल संघको आयोजनामा जेठ ८ देखि १५ गतेसम्म पोखरामा नवौं पीएम कप एनभीए भलिबल लिग हुँदै छ।
- प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । दुवै विजेताले ८ लाख पुरस्कार पाउनेछन् ।
- हेल्प नेपाल, गण्डकी र एभरेष्ट क्लमा विदेशी खेलाडी समावेश छन् ।
७ जेठ, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा यही जेठ ८ देखि १५ गतेसम्म पोखरामा नवौं पीएम कप एनभीए महिला/पुरुष भलिबल लिगका आयोजना हुँदैछ ।
पहिलो पटक पोखरामा हुन लागेको एनभीए लिगको सम्पूर्ण तयारी पूरा भएको भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए । ‘नेपाल भलिबल संघले पहिलो पटक पोखरामा एनभीए भलिबल लिग आयोजना गर्दैछ । लिगको तयारी पूरा हुँदैछ’ अध्यक्ष चन्दले अनलाइनखबरसँग भने, ‘भलिबल सिटीको रुपमा रहेको पोखराका समर्थहरु निकै उत्साहित छन्।’
आठौं राष्ट्रिय भलिबल दिवसको अवसरमा जेड ८ गते सुरु भएर एक साताभन्दा बढी चल्ने प्रतियोगिताको खेलहरु पोखरा रंगशालाको बहुउद्देशिय कभर्डहलमा हुनेछ । यसअघि लायन्स कप पुरुष भलिबल प्रतियोगिता पोखराको कभर्डहलमा आयोजना भएको थियो ।
अध्यक्ष चन्दले प्रतियोगिताका लागि पोखरा महानगरपालिका देखि विभिन्न स्थानीय खेलकुद संघ/संस्थाहरुले सहयोग गरिरहेको बताए । ‘यहाँको कभर्डहलको मेन्टेनेन्स देखि लाइटहरु राख्ने काम भइरहेको छ । पार्केटिङ चेन्ज गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले १३ सय लक्स लाइट राखेको छ’ चन्दले भने ।
पीएम कप एनभीए लिग हुने भएपछि अहिले पोखरामा भलिबलको माहोल तातिरहेको अध्यक्ष चन्दले जानकारी दिए । ‘पोखरामा भलिबलको राम्रो माहोल बनिरहेको छ । यहाँको हलको क्यासिटी पनि धेरै छ । समर्थकहरु पनि उत्सहित छन्।’
पोखरामा हुँदै आएको टाइगर कप भलिबलमा पनि उल्लेख्य संख्यामा दर्शकहरुको उपस्थिति रहने गर्छ । एनभीए भलिबल लिगमा पनि दर्शकको त्यही खालको सहभागिता र समर्थन रहने नेपाल भलिबल संघको विश्वास छ ।

यसअघि संघले एनभीए लिग काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा रहेको कभर्डहलमा आयोजना गर्दै आएको थियो । यसपटक उक्त कभर्डहलको मर्मर सम्भार कार्य भइरहेको छ । यद्यपी पोखरामा एनभीए लिग गराउनुको कारण त्यो मात्र भने होइन ।
‘भलिबल संघले ठूलो प्रतियोगिताहरुलाई विकेन्द्रिकरण गर्ने लष्यका साथ पहिलो पटक एनभीए लिग पोखरामा आयोजना गर्न लागेको हो’ भलिबल संघका अध्यक्ष चन्दले भने ।
स्पोर्ट्स सिटीकै रुपमा परिचित पोखरामा भलिबल यसै पनि चर्चामा छ । त्यसमाथि भलिबल संघले नै पोखरामा आफ्नो ठूलो प्रतियोगिता गर्न लागेपछि पोखरावासी नै उत्साहित छन् ।
भलिबल संघ अध्यक्ष चन्दले आगामी दिनमा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत पोखरामा आयोजना गर्न सकिने सम्भावना रहेको समेत बताए ।
‘पोखराको हलको क्षमता काठमाडौंको भन्दा धेरै छ । यहाँको चेन्जिङ रुम देखि सुविधाहरु पनि राम्रो छ । लाइट थपिँदैछ । आगामी दिनमा अझै सुधार होला । काठमाडौंको कभर्डहल पनि मर्मत भइरहेको छ । भलिबल संघको कार्यालय पनि रिनोभेट हुँदैछ’ चन्दले भने ।

उत्कृष्ट १४ टोलीको सहभागिता
एनभीए भलिबल लिगमा पुरुषतर्फ ८ तथा महिलातर्फ ६ टिमहरूको सहभागिता रहनेछ । एनभीए क्लब च्याम्पियनसिपबाट छनोट भएका उत्कृष्ट पुरुष र महिला टोलीहरुले एनभीए भलिबल लिगमा प्रतिस्पर्धा गर्ने प्रावधान छ ।
जस अनुसार पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै महिलातर्फ नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब बुटबल र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।
पीएम कप आठौं एनभीए भलिबल लिगमा महिलातर्फ नेपाल पुलिस क्लब र पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब च्याम्पियन बनेको थियो ।
राउण्ड रोविनका आधारमा हुने एनभीए भलिबल लिगको महिला तथा पुरुष दुवैतर्फका विजेताले नगद ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
पीएम कप एनभीए भलिबल लिगको विजेताले काभा भलिबल क्लब च्याम्पियनसिपम खेल्ने मौका पाउनेछ ।
हेल्प नेपाल, गण्डकी र एभरेष्टमा विदेशी खेलाडी
यस पटक पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेश तथा महिलातर्फ बुटवलको एभरेष्ट भलिबल क्लबले विदेशी खेलाडी समावेश गरेका छन् ।
खेल स्तरमा सुधार ल्याउने लक्ष्यका साथ सहभागि टिमहरुले ३ जना विदेशी खेलाडीहरु राख्न पाउने प्रावधान नेपाल भलिबल संघले जनाएको छ । जस अनुसार हेल्प नेपाल र गण्डकीले पाकिस्तानबाट खेलाडी ल्याएका छन् ।
हेल्प नेपाल र गण्डकीले पाकिस्तानबाट ३-३ खेलाडी ल्याएको छ । स्पाइकरद्वय मुवासर राजा वाट्टो, माजर अली र सेटर वालिद खानले हेल्प नेपालबाट खेल्नेछन् ।

यस्तै गण्डकीले आउटसाइड हिटर वाकर खान, अपोजिट हिटर अएमल खान र सेटर अडनान खानलाई अनुबन्ध गरेको छ ।
हेल्प नेपालका वालिद र गण्डकीमा वाकर खान पहिलोपटक नेपाल आएका हुन् । बाँकी ४ पाकिस्तानी खेलाडीले यसअघि हेल्प नेपालबाटै नेपालमा भएका विभिन्न घरेलु प्रतियोगिताहरु खेलिसकेका छन् ।
यसैगरी हेल्प नेपालले एनभीए लिगका लागि राष्ट्रिय टिम र त्रिभुवन आर्मी क्लबको पूर्व कप्तान मानबहादुर श्रेष्ठलाई समेत अनुबन्ध गरेको छ । गत कात्तिकमा राष्ट्रिय टिमबाट सन्यास घोषणा गरेर अष्ट्रेलिया बस्दै बएका मान बहादुर यही प्रतियोगिता खेल्न नेपाल आइसकेका छन् ।
यसैगरी महिलातर्फ एभरेष्ट क्लबले थाइल्याण्डबाट महिला खेलाडीहरु ल्याएको छ ।

एभरेष्टले आउटसाइड हिटर सुथिना पासाङ, मिडल बल्कर काएवकाल्य कामुलथला र अपोजिट साओवाफा सुसकलाई भित्र्याएको छ ।
एभरेष्टमा नेपाली राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीसहित यू-२० राष्ट्रिय टिमका मिना सुनार, निशा चौधरी, आरती चौधरी जस्ता खेलाडीहरु पनि छन् ।
प्रतिक्रिया 4