+

‘युवापुस्तामा लागुऔषधको कारण स्नायुतन्त्रको रोग बढेको छ’ (भिडियोसहित)

२०८२ जेठ  ११ गते १४:४१ २०८२ जेठ ११ गते १४:४१
‘युवापुस्तामा लागुऔषधको कारण स्नायुतन्त्रको रोग बढेको छ’   (भिडियोसहित)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामाजिक विश्वास र जनचेतनाको अभावले बिरामीहरूलाई उपचारमा ढिलाइ हुन्छ र समाजले न्यूरोलोजिकल बिरामीहरूलाई समर्थन गर्नुपर्ने आवश्यकता औंल्याए।

जनकपुरधामका साँघुरा गल्लीदेखि सर्लाही, महोत्तरी, सिरहा र सप्तरीका फराकिला  सडकहरूमा हरेक दिन हुने सवारी दुर्घटनाले मानिसको जीवन क्षणभरमै बदलिदिन्छ । जनकपुर न्यूरो अस्पतालका न्यूरोसर्जन डा. विजयकुमार राउत भन्छन्, ‘उच्च गतिमा मोटरसाइकल चलाउने र हेलमेट नलगाउने प्रवृत्ति यहाँको ठूलो समस्या हो। जति तीव्र गति, त्यति गम्भीर चोट।’

यी दुर्घटनाहरूले टाउको र मेरुदण्डमा गम्भीर चोट पुर्‍याउँछ। समयमै उपचार नहुँदा कतिपय जीवनभर अपाङ्ग हुन्छन्, त कतिपयले ज्यान गुमाउँछन् । तराईमा स्नायु (न्यूरो) समस्याहरू सडक दुर्घटनामा मात्र सीमित छैनन् । मस्तिष्कघात (स्ट्रोक) यहाँको अर्को ठूलो चुनौती हो ।

उच्च रक्तचाप र मधुमेहका कारण स्ट्रोकको जोखिम उच्च छ, तर समयमै अस्पताल नपुग्दा बिरामीको अवस्था जटिल बन्छ । डा. राउतका अनुसार, धेरैजसो बिरामीले सानो टाउको दुखाइलाई बेवास्ता गर्छन्, जसले ब्रेन ट्युमर, छारेरोग वा अन्य गम्भीर रोगको रूप लिन सक्छ।

‘मैले एक बिरामीलाई भेटेँ, जसले १४ वर्षसम्म छारेरोगको उपचारमा धामी-झाँक्रीको भर परे । हामीले औषधि सुरु गरेपछि उनी स्वस्थ भए ।  यदि समयमै उपचार भएको भए उनको जीवन धेरै सहज हुन्थ्यो,’ डा. राउत सुनाउँछन् । माइग्रेन र तनावजन्य टाउको दुखाइ पनि यहाँ सामान्य छ, विशेषगरी युवा र महिलाहरूमा । तर यस्ता लक्षणलाई सामान्य ठान्ने र धामी-झाँक्रीमा निर्भर हुने प्रवृत्तिले बिरामीलाई समयमै अस्पताल पुग्नबाट रोक्छ ।

२०-३० प्रतिशत बिरामी स्थानीय अस्पतालप्रति विश्वास नगरी काठमाडौँ, विराटनगर वा भारतको दिल्ली-पटना जान रुचाउँछन् । ‘यो अविश्वासले समय र पैसाको बर्बादी मात्र होइन, बिरामीको स्वास्थ्य पनि जोखिममा पर्छ,’ डा. राउत गुनासो गर्छन् ।

जनचेतनाको कमी अर्को ठूलो चुनौती हो । धेरैजसो बिरामीहरू सानो टाउको दुखाइलाई बेवास्ता गर्छन् वा धामी-झाँक्रीको भर पर्छन् । स्ट्रोक जस्ता गम्भीर रोगलाई भिटामिन इन्जेक्सन वा मसाजले ठिक हुन्छ भन्ने गलत धारणा छ। भाषा र सांस्कृतिक भिन्नताले मधेशी समुदायमा उपचार प्रक्रियालाई जटिल बनाउँछ। ‘उनीहरूले आफ्ना समस्या स्पष्टसँग व्यक्त गर्न सक्दैनन्, न त हामीले भनेका कुरा सबै बुझ्छन्,’ डा. राउत भन्छन्।

युवा पुस्तामा मदिरा र लागुपदार्थको बढ्दो प्रयोगले सडक दुर्घटना र न्यूरोलोजिकल समस्याहरू थप बढाएको छ । ‘शिक्षाको अभावले मानिसहरू समयमै चिकित्सककहाँ पुग्दैनन्। सानो टाउको दुखाइ पनि ट्युमर वा स्ट्रोकको लक्षण हुनसक्छ,’ उनी चिन्ता व्यक्त गर्छन् ।

स्ट्रोक वा टाउकोमा चोट लागेका बिरामीलाई समाजले ‘पागल’ वा ‘काम नलाग्ने’ भन्छ ।  हामीले उनीहरूलाई हिँड्न, बोल्न र सामान्य जीवनमा फर्कन सक्छन् भन्ने आत्मविश्वास दिनुपर्छ,’ उनले जोड दिए । स्ट्रोकको उपचार चार घण्टाभित्र सुरु गर्न सकियो भने ८० प्रतिशत बिरामी निको हुने उनको अनुभव छ ।

डा. राउत स्वास्थ्यलाई पहिलो प्राथमिकता दिन आग्रह गर्छन् । ‘स्वास्थ्यभन्दा ठूलो केही छैन। सानो टाउको दुखाइलाई पनि बेवास्ता नगर्नूस् । नजिकको स्वास्थ्य चौकी, जिल्ला अस्पताल वा अस्पतालमा आउनूस्,’ उनी भन्छन्, ‘आफ्ना समस्या खुलस्त राख्नूस् र शंका भए सोध्नुस् । उपचार पाउनु तपाईंको अधिकार हो।’

मधेशको समाजमा न्यूरोलोजिकल बिरामीहरूलाई हेला होइन, समर्थन प्राप्त होस् भन्ने उनको चाहना छ । ‘मैले ट्युमरको शल्यक्रिया गरेको एक बिरामीलाई समाजले ‘बाँच्दैन’ भन्यो। तर उनी एक वर्षपछि पनि स्वस्थ छन् । हामीले यस्तो समाज बनाउनुपर्छ जहाँ बिरामीले हौसला पाउन्,’ उनले भने ।

न्यूरो उपचार
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय