+
+
Shares

एमाले निष्कर्ष- गृहमन्त्रीबारे कांग्रेसले नै निर्णय गरोस्

‘यसरी जाने हो भने कुनैपनि मन्त्रालय चल्नै सक्दैन । कहाँ कुन कर्मचारीले गल्ती गर्छ, अनि मन्त्रीले राजीनामा दिँदै जाने हो भने अर्कै ठाउँ पुगिन्छ’, प्रधानमन्त्री ओलीले तर्क गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते २२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपको अनुसन्धान सम्बन्धित निकायले गर्नुपर्ने बताएको छ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती कर्मचारीको भएको र मन्त्रीलाई जोड्न आवश्यक नभएको तर्क गरे।
  • कांग्रेसले गृहमन्त्रीको विषयमा छलफल गर्दै राजीनामा नदिने पक्षमा रहेको र एमालेले निर्णय नगरेको निष्कर्ष निकाले।

११ जेठ, काठमाडौं । पार्टी सचिवालय बैठकको निर्णय सुनाउने क्रममा नेकपा एमालेका महाचिव शंकर पोखरेलले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपको अनुसन्धान सम्बन्धित निकायले नै गर्ने बताए ।

‘आरोपको मात्रै विषयले सबै कुरा निर्धारण गर्दैन । के भएको छ भन्ने कुरा त सम्बन्धित निकायको ध्यान पुगेकै होला नि ? होइन र ?,’ महासचिव पोखरेलले बैठकपछि भनेका थिए । अर्थात् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागबाट भिजिट भिसा घुस प्रकरणमा जोडेर गृहमन्त्री लेखकमाथि लागेको आरोपबारे एमालेले कुनै प्रष्ट निर्णय गरेको देखिएन ।

बैठक स्रोतका अनुसार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त गृहमन्त्री लेखकको रक्षार्थ बोलेका थिए । यद्यपि बैठकको एजेण्डा भने यो विषय थिएन ।

‘बैठकको एजेण्डा नभए पनि नेताहरूले यो विषय उठाउनुभयो, कसरी जाने हो भनेर सोध्नुभयो,’ एक पदाधिकारी भन्छन्, ‘यसपछि त गृहमन्त्रीको कुरा छलफलकै एजेण्डा जस्तो बन्यो ।’

उनका अनुसार प्रधानमन्त्री ओलीले यसमा गृहमन्त्री जोड्नुपर्ने कारण नभएको तर्क गरेका थिए । ‘एउटा कर्मचारीले गरेको गल्ती हो, उसमाथि अनुसन्धान भइरहेकै छ । यस्तोमा मन्त्रीलाई जोड्न जरुरी कुरा होइन,’ प्रधानमन्त्री ओलीले भनेका थिए ।

कर्मचारीले गरेको गल्तीमा मन्त्री हटाउन थाल्ने हो भने गलत नजीरको विकास हुने प्रधानमन्त्रीको तर्क थियो । ‘यसरी जाने हो भने कुनैपनि मन्त्रालय चल्नै सक्दैन । कहाँ कुन कर्मचारीले गल्ती गर्छ, अनि मन्त्रीले राजीनामा दिँदै जाने हो भने अर्कै ठाउँ पुगिन्छ’, प्रधानमन्त्री ओलीले तर्क गरेका थिए ।

तर गृहमन्त्रीबारे निर्णय कुनै प्रष्ट निर्णय गरेर जान नसकिने सुझाव अरु नेताहरूले दिएका थिए । ‘भोलि कांग्रेसले अर्कै निर्णय गरेर जाला, त्यस्तो बेला हामी अप्ठ्यारोमा पर्छौ भन्ने कुरा बैठकमा उठ्यो,’ ती पदाधिकारी भन्छन्, ‘सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, योगेश भट्टराईहरूले यस्तो कुरा राख्नुभयो ।’

यदि कांग्रेसले गृहमन्त्री फेर्ने कुरा ल्याएमा एमालेले रक्षार्थ गर्ने निर्णय अर्थहीन हुने तर्क उनीहरूको थियो । यसपछि एमालेले कुनै निर्णय नगर्ने निष्कर्षमा पुग्यो ।

‘छलफल भयो, प्रधानमन्त्रीले कुरा राख्नुभयो । अरुले पनि बोल्यौं । तर कुनै निर्णय गरिएन’, अर्का पदाधिकारी भन्छन् । उनका अनुसार गृहमन्त्रीबारे निर्णय लिने जिम्मा कांग्रेसलाई नै दिन नेताहरू सहमत भएका छन् ।

‘कांग्रेसले के निर्णय गर्छ, त्यसमा हामी सहमत हुन्छौं । तर नगरेको गल्तीमा कसैलाई अन्याय नहोस् भन्नेमा चाहिँ प्रष्ट छौं’, उनी भन्छन् ।

एमालेको सचिवालय बैठकपछि प्रधानमन्त्री ओलीले कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई साथमा राखेर प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतसँग बैठक राखे ।

लगत्तै प्रधानमन्त्री ओलीले सभापति देउवासँग एक्लाएक्लै पनि भेटवार्ता गरेका छन् । भोलि बिहान सभापति देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । कांग्रेस स्रोतका अनुसार पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको विषयमा पनि छलफल हुनेछ ।

‘गृहमन्त्रीकै विषयमा मात्र बैठक बस्न लागेको होइन, तर छलफल हुन्छ’, देउवा निकट एक नेता भन्छन् । कांग्रेसभित्रै संस्थापन इतर नेताहरुले गृहमन्त्री लेखकले मार्गप्रशस्त गर्नुपर्ने सार्वजनिक माग गरेका छन् ।

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की माग हुनासाथ गृहमन्त्रीले राजीनामा गर्न नहुने बताउँछन् ।

‘उहाँले राजीनामा दिनुहुन्नँ । बिना आधार गलत मनसाय राखेर मागिएको राजीनामा मान्दै जाने हो भने त्यो प्रणालीले राज्य सञ्चालन हुन सक्दैन,’ उनी भन्छन्, ‘यसले राज्यलाई अस्थिरतातिर लैजाने र इमानदार नेतालाई निरुत्साहित गर्ने काम गर्ने भएकाले त्यसको विरुद्धमा अडिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?