
News Summary
Generated by OK AI. Editorially reviewed.- लमजुङमा नेपाली कांग्रेसको तरुण दलको अधिवेशनमा विवाद हुँदा खुकुरी प्रहार भएको थियो।
- प्रहरीले खुकुरी हान्ने ४२ वर्षीय किरण गुरुङलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
- घाइते भएका व्यक्तिहरूमा विभिन्न पदाधिकारी र सदस्यहरू रहेका छन्।
१४ जेठ, काठमाडौं। नेपाली कांग्रेसको भातृ संस्था तरूण दलको लमजुङ अधिवेशनमा दुई पक्षको विवादमा खुकुरी हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका-६ बस्ने ४२ वर्षीय किरण गुरुङ रहेका छन् ।
पक्राउ परेका उनीमाथि लमजुङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूर मुद्दामा ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बेसीसहर बजारमै दुई मन्त्रीको द्वन्द्वले खुकुरी प्रहार भएको थियो ।
खुकुरी प्रहारबाट नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा घाइते भएका थिए ।
संस्थापन समूहका गुरुङ पक्षधरले पूर्णकालीन सदस्य हटाउने, प्रतिनिधि छनोटमै रोक्ने काम गरेको विरोध गर्दा ज्यान मार्ने मनसायले खुकुरी प्रहार भएको थियो । घाइतेहरू सबै संस्थापन इतर थिए ।
तरुण दलको जिल्ला अध्यक्षको आकांक्षीसमेत रहेका खुसीजंग, नेता भीम गुरुङ, बेसीसहर नगर सभापति विशाल अधिकारीलगायतलाई पूर्णकालीन सदस्यबाट हटाएर प्रतिनिधि बन्नबाट रोकिएको भन्दै भेषबहादुर समूहले विरोध गरेका थिए । कांग्रेसका भातृ संगठनहरू नै कब्जा गर्ने रणनीति टकराज समूहको भएको भन्दै नाराबाजीसमेत भएको थियो ।
अधिवेशनमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ, वनमन्त्री भेषबहादुर पौडेलसमेत सहभागी थिए ।
प्रतिक्रिया 4