News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन जाभा बास्केटबल लिगमा गोल्डेनगेटले टाइम्स क्लबलाई ७३-६४ ले पराजित गर्यो ।
- गोल्डेनगेटले पहिलो खेलमा टाइम्ससँग व्यहोरेको हारको बदला लिँदै लगातार छैटौं जित हात पारेकव हो ।
- अजय कुश्वाहलाई उत्कृष्ट प्रदर्शनको लागि मोस्ट भ्यालुएबल प्लेयर घोषित गरियो ।
१४ जेठ, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा बुधबार भएको खेलमा गोल्डेनगेटले टाइम्स क्लबलाई ७३-६४ ले पराजित गरेको छ । जारी लिगमा गोल्डेनगेटको यो लगातार छैटौं जित हो । यस जितपछि गोल्डेनगेटले पहिलो खेलमै टाइम्ससँग व्यहोरेको हारको बदला समेत लिएको छ ।
७ खेलमा ६ खेल जितेको गोल्डेनगेटले हाउण्ड्स एकेडेमी समान १३ अंक जोडेको छ । हाउण्ड पहिलो र गोल्डेनगेट दोस्रो स्थानमा छ । गोल्डेनगेटले नै हाउण्ड्सको लगातार तीन खेलको जित यात्रामा ब्रेक लगाएको थियो ।
टाइम्सको भने यो तेस्रो हार हो । टाइम्स यसअघि हाउण्ड्स एकेडेमी र रोएलसँग पराजित भएको थियो । ७ खेलमा ४ जितबाट ११ अंक जोडेर टाइम्स तेस्रो स्थानमै छ ।
वर्षाका कारण कीर्तिपुर कभर्डहलमा ढिला गरी सुरु भएको खेलको पहिलो क्वाटर गोल्डेनगेटले २०-१९ ले आफ्नो पक्षमा पार्दै झिनो अग्रता लिएको थियो । दोस्रो क्वाटरमा पनि २१-१२ को अग्रता बनाएपछि गोल्डेनगेटले हाफटाइमसम्म ४१-३१ को अग्रता बनायो ।
तेस्रो क्वाटर टाइम्सले १४-१२ ले आफ्नो पक्षमा पारेपनि चौथो क्वाटरअघि गोल्डेनगेट नै ५३-४५ ले अघि थियो । चौथो तथा अन्तिम क्वाटर गोल्डेनगेटले २०-१९ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
गोल्डेनगेटको जितमा उत्कृष्ट प्रदर्शन गरेका अजय कुश्वाह मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । उनले १५ रिबाउण्डसहित १७ अंक स्कोर गरे ।
गोल्डेनगेटका लागि अभिषेक सिंह र निकेश मगरले सर्वाधिक २०-२० अंक स्कोर गरेका थिए ।
यस्तै टाइम्सका लागि सदिश प्रधानले सर्वाधिक १५ अंक स्कोर गरे ।
प्रतिक्रिया 4