News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रममा खेलकुदलाई विशेष प्राथमिकता नदिए पनि, अर्थमन्त्री विष्णु पौडेलले २०८२/८३ को बजेटमा ६ अर्ब ८ करोड रकम विनियोजन गरे।
- बजेट ऐतिहासिक भएको प्रतिक्रिया दिँदै खेलकुद संघका अध्यक्ष दीपक श्रेष्ठले यसले खेलकुद क्षेत्रमा उत्साह जगाउने बताए, तर व्यवस्थापन चुनौतीको संकेत गरे।
- क्रिकेटको पूर्वाधारमा केन्द्रित बजेटले क्रिकेट रंगशालाको स्तरोन्नति र नयाँ मैदान निर्माणमा जोड दिएको छ, तर फुटबल र भलिबलको विषयमा कुनै उल्लेख छैन।.
गत वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम घोषणा गर्दा खेलकुद क्षेत्रलाई खासै उत्साह जनाउने खालको थिएन ।
खेलकुदमा स्कुल स्पोट्र्स नयाँ कार्यक्रम थियो भने निजी क्षेत्रलाई पनि खेलकुदमा जोड्ने प्रयास गरिएको थियो । बाँकी पुरानै कार्यक्रमले निरन्तरता पाउँदा केही कार्यकम हटाइएको थियो ।
तर, बिहीबार अर्थमन्त्री विष्णु पौडेलले बाचन गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट भने खेलकुदका लागि उत्साहजनक देखिएको छ । मन्त्री पौडेलले युवा तथा खेलकुदमा ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको घोषणा गरे ।
यद्यपि, यो बजेट खेलकुदको कुन क्षेत्रमा कति छुट्याइएको भनेर आउन बाँकी नै छ । जे होस् खेलकुदमा बजेट बढ्दा यसले सकारात्मक माहोल सिर्जना गरेको छ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बजेट ऐतिहासिक भएको प्रतिक्रिया दिए । ‘नेपाली खेलकुदमा यो ऐतिहासिक बजेट हो । यसले खेलक्षेत्रलाई पक्कै पनि उत्साहित बनाउनेछ,’ उनले अनलाइनखबरसँग भने ।
अहिलेसम्मकै धेरै बजेट
बजेटको इतिहासमा युवा तथा खेलकुदका लागि विनियोजन भएको यो अहिलेसम्मकै धेरै हो । खेलकुदमा गत आर्थिक वर्षको भन्दा यो वर्ष झण्डै दोब्बर बजेट विनियोजन गरिएको छ ।
गत आर्थिक वर्षमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ९९ करोड बजेट विनियोजन गरिएको थियो ।
उत्साहपूर्ण बजेट
यो बजेटले खेलक्षेत्रमा उत्साह जगाएको सरोकारवालाहरूले प्रतिक्रिया दिएका छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदको बजेट उत्साहजनक रहेको बताए ।
’खेलकुदमा राम्रो बजेट आएको छ । पुँजीगतमा बजेट धेरै छ । त्यो खर्च गर्न सक्नुपर्छ,’ उनले अनलाइनखबरसँग भने ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले अनलाइनखबरसँग छोटो प्रतिक्रिया दिँदै बजेट राम्रो रहेको बताए । ‘बजेट उत्साहपूर्ण छ । राम्रो छ, खेलकुदमा उत्साह जगाउने खालको छ,’ उनले भने ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) का अध्यक्ष दीपक श्रेष्ठले खेलकुदमा बजेट बढ्नु राम्रो भएको बताए । ‘बजेट बढेर आउनु राम्रो हो । ६ अर्ब बढी बजेट नेपाली खेलकुदमा इतिहास नै हो । समग्र बजेटको १ प्रतिशत नै होला,’ उनले भने ।
कार्यान्वयनमा चुनौती
बजेट बढे पनि यसको व्यवस्थापन पाटो चुनौती रहेको एनएनआईपीए अध्यक्ष श्रेष्ठले बताए । ‘बजेट बढ्दा सकारात्मक साथै चुनौती पनि थपिएको छ । बजेट बढ्नुमा चुनौती पनि हुन्छ । फ्रिज होला कि भन्ने डर हुन्छ । त्यसमा व्यवस्थापन चुस्त हुनुपर्छ,’ श्रेष्ठले भने । यसअघि पनि पटकपटक खेलकुदको बजेट फ्रिज हुने गरेको उदाहरण दिँदै उनले त्यसलाई राम्रोसँग व्यवस्थापन गर्नुपर्ने बताए ।
क्रिकेटकेन्द्रित पूर्वाधार
यसपटक पनि खेलकुदको बजेट क्रिकेटको पूर्वाधारमा केन्द्रित देखिएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको स्तरोन्नतिदेखि मूलपानी र काठमाडौंबाहिरका क्रिकेट मैदानका लागि पनि बजेट विनियोजन गरिएको छ ।
क्रिकेट रंगशालाका लागि मात्र ८२ करोड घोषणा नै भएको छ । ‘काठमाडौंको मूलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रूपन्देहीको सिद्धार्थ क्रिकेट स्टेडियम निर्माणका लागि ४२ करोड विनियोजन गरेको छु,’ बजेट भाषणमा अर्थमन्त्री पौडेलले भने, ‘कीर्तिपुरस्थित क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड विनियोजन गरेको छु ।’
चितवनको गौतम बुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिद गर्न पनि सशर्त अनुदानको व्यवस्था गरेको बजेटमा उल्लेख छ । ‘त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थानबाट गरिने मूल्याङ्कनका आधारमा चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरेको छु । खेल पूर्वाधार निर्माण गर्न बजेटमा उल्लेखनीय वृद्धि गरेको छु,’ मन्त्री पौडेलले भने ।
क्रिकेटको पूर्वाधारका लागि करोडौं बजेट हुँदा नेपालको राष्ट्रिय खेल भलिबल, सबैभन्दा चर्चित खेल फुटबलको विषयमा भने कुनै सम्बोधन गरेको देखिएन ।
दशौं राष्ट्रिय खेलकुदलाई ५४ करोड
दशौं राष्ट्रिय खेलकुदका लागि ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘सुर्खेतको वीरेन्द्रनगरमा १०औं राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि ५४ करोड बजेट विनियोजन गरिएको छ,’ अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा भने ।
नीति तथा कार्यक्रममा दशौंको विषय समावेश नहुँदा कतै दशौं राष्ट्रिय खेलकुदका लागि बजेट विनियोजन नहुने पो हो कि भन्ने चिन्ता रहे पनि बजेटमा भने समावेश गरिएको छ ।
यसअघि अघिल्लो आर्थिक वर्षमै हुने तय भएको दशौं राष्ट्रिय खेलकुदका लागि ६० करोड बजेट विनियोजन गरिएको थियो । तर दुई पटक मिति सर्दासमेत तोकिएको समयमा दशौं राष्ट्रिय खेलकुद आयोजना हुन सकेन ।
पछिल्लो पटक २०८२ जेठमा दशौं राष्ट्रिय खेलकुद आयोजना गर्ने भनिए पनि स्थगित गरिएको हो । त्यसपछि दशौंको नयाँ मिति घोषणा गरिएको छैन ।
निजी क्षेत्रलाई जोड्ने लक्ष्य
यसपटक बजेटमा निजी क्षेत्रलाई खेलकुदसँग जोड्ने प्रयास पनि भएको छ । नीति तथा कार्यकममा पनि निजी क्षेत्रलाई जोड्ने उल्लेख गरिएको थियो । अर्थमन्त्री पौडेलले खेल पूर्वाधारको निर्माण तथा खेलाडीको व्यावसायिकता विकासका लागि लगानी बढाउँदै लगिने उल्लेख गर्दै निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गरिने जनाए ।
‘राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन र खेल प्रतियोगिता प्रवर्द्धन गर्न निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गरिनेछ ।’ बजेट भाषणमा मन्त्री पौडेलले भने, ‘त्यस्ता खेल पूर्वाधारका लागि सडक, खानेपानी र बिजुलीको पहुँच सुनिश्चित गरिनेछ ।’
त्यस्तै, झापाको दमकमा सबै खेल आयोजना गर्न सकिने अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ । साथै सोलुखुम्बु, मुस्ताङलगायतका हिमाली क्षेत्रमा हाइ अल्टिड्युड स्पोट्र्स स्टेडियम निर्माण गरिने पनि मन्त्री पौडेलले बताए ।
उत्कृष्ट महिला खेलाडीलाई पुरस्कार
खेलकुदमा महिला सहभागिता बढाइने र पुरस्कार व्यवस्था पनि गरिने उल्लेख छ । ‘खेल क्षेत्रमा महिला सहभागिता अभिवृद्धि गर्न महिलालक्षित प्रशिक्षण तथा अभ्यास कार्यक्रम सञ्चालन गरिनेछ । उत्कृष्ट महिला खेलाडीका लागि पुरस्कारको विशेष व्यवस्था गरिनेछ,’ बजेटमा उल्लेख छ ।
यस्तै, खेलाडीलाई प्रदान गरिँदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिइने र खेलाडीको सन्ततिका लागि अध्ययन छात्रवृत्ति पनि प्रदान गरिने भएको छ ।
‘अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहन गरिनेछ । यस्ता, खेलाडी र उनीहरूका सन्ततिलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ । खेलाडी र प्रशिक्षकलाई प्रदान गरिंदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिएको छु,’ मन्त्री पौडेलले बजेट भाषणमा भने ।
यसैगरी, राष्ट्रिय एन्टी डोपिङ एजेन्सी सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था मिलाइएको अर्थमन्त्री पौडेलले जनाएका छन् । यसैगरी, प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस एकेडेमी सञ्चालन गर्न बजेट व्यवस्था गरेको अर्थमन्त्री पौडेले बताए ।
युवालाई सहुलियतपूर्ण कर्जा
बजेटमा शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र र परियोजना प्रस्तावको आधारमा बिनाधितो दुई लाखदेखि २० लाखसम्म तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने उल्लेख गरिएको छ ।
यस्तै, युवा जनशक्तिलाई आत्म अनुशासन र सेवाभावका साथ राष्ट्र निर्माणमा परिचालित हुन अभिप्रेरित गरिने र मुलुकको आर्थिक सामाजिक विकास र सेवा प्रवाहमा युवाको योगदान वृद्धि गरिने कुरा बजेटमा समावेश छ ।
यसैगरी, राष्ट्रिय युवा परिषद्को समन्वयमा १६ वर्षमाथिका युवालाई निश्चित मापदण्डका आधारमा राष्ट्रिय स्वयंसेवक परिचयपत्र प्रदान गरिने र उनीहरूलाई तालिम तथा प्रशिक्षणबाट योग्य बनाई शिक्षा, स्वास्थ्य, सामाजिक जागरण, वातावरण संरक्षण, विपद्मा उद्धार, राहत र पुनस्र्थापनाका लागि परिचालन गरिने उल्लेख छ ।
बालबालिका तथा युवायुवतीलाई स्काउटका माध्यमबाट कर्तव्यपरायण, अनुशासित, स्वावलम्बी, चरित्रवान तथा सुयोग्य बनाई सामाजिक सेवा र उद्धार कार्यमा परिचालन गरिने पनि बजेटमा समावेश गरिएको छ ।
प्रतिक्रिया 4