News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिका र जापानका वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्तिको रहस्य खोज्दै न्यूट्रिनो र एन्टी–न्यूट्रिनो अध्ययन गरिरहेका छन्।
- अमेरिकाले ‘डून’ परियोजना मार्फत पृथ्वीको १,५०० मिटर गहिराइमा अनुसन्धान गरिरहेको छ भने जापानले ‘हाइपर–के’ उपकरण प्रयोग गर्दैछ।
- वैज्ञानिकहरूले न्यूट्रिनो र एन्टी–न्यूट्रिनोको व्यवहार फरक छ कि छैन भन्ने अध्ययन गरी ब्रह्माण्डको उत्पत्तिको कारण पत्ता लगाउने प्रयासमा छन्।
अमेरिकाको साउथ डकोटा राज्यको घना वनमाथि रहेको एक प्रयोगशालामा वैज्ञानिकहरू हाम्रो ब्रह्माण्ड किन अस्तित्वमा छ ? भन्ने प्रश्नको उत्तर खोज्दै छन् । यो सवाल मानव विज्ञानको सबैभन्दा ठूलो रहस्य हो ।
यसको उत्तर खोज्ने दौडमा अमेरिकी वैज्ञानिकहरूसँगै जापानी टोली पनि होडबाजीमा छन् । वास्तवमा जापान यो अनुसन्धानको प्रतिस्पर्धामा धेरै वर्ष अगाडि छ । दुवै देशका वैज्ञानिकहरूले न्यूट्रिनो नामक सूक्ष्म कण (सुबाटोमिक पार्टिकल्स) को गहिरो अध्ययन गरेर ब्रह्माण्डको उत्पत्तिको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन् ।
अमेरिका ‘डून’ परियोजनाबाट उत्तरको खोजी
अमेरिकाले नेतृत्व गरेको डून (डीप अन्डरग्राउन्ड न्यूट्रिनो एक्सपेरिमेन्ट) नामक अनुसनधान परियोजनामार्फत वैज्ञानिकहरूले पृथ्वीको सतहभन्दा १,५०० मिटर तल तीनवटा विशाल भूमिगत सुरुङहरूमा अध्ययन गरिरहेका छन् । यी सुरुङहरू यति विशाल छन् कि त्यहाँ छिर्ने वैज्ञानिक र बुल्डोजरहरू प्लास्टिकका साना खेलौना जस्ता देखिन्छन् ।
यस परियोजनाका विज्ञान निर्देशक डा. जारेट हेजले ती सुरुङहरुलाई “विज्ञानको गिर्जाघर” को संज्ञा दिएका छन् । उनी उक्त सानफोर्ड अन्डरग्राउन्ड रिसर्च फ्यासिलिटी (सर्फ) मा पछिल्लो १० वर्षदेखि संलग्न छन् ।
’डून’ लाई बाहिरी विकिरण र आवाजबाट बचाउन पूर्ण रूपमा सिल गरिएको छ र अब यो अर्को चरणको अनुसन्धानका लागि तयार छ । डा. हेज भन्छन्: हामी यस्तो यन्त्र निर्माण गर्दैछौं जसले ब्रह्माण्डप्रतिको हाम्रो सोच नै बदलिदिन सक्छ । यसमा ३५ देशका १४ सय भन्दा बढी वैज्ञानिकहरुको सहकार्य हुनेछ ।
के हो मुख्य वैज्ञानिक प्रश्न ?
जब ब्रह्माण्डको निर्माण भयो, त्यतिबेला दुई प्रकारका कण उत्पन्न भए-
पहिलो, म्याटर (पदार्थ)- जसबाट तारा, ग्रह र हाम्रो आसपासका सबै चिजको निर्माण भयो । अनि अर्को, एन्टी–म्याटर (विपरीत पदार्थ) – जसले पदार्थसँग ठक्कर खाँदा आपसमा विनाश गरी ऊर्जा मात्र बाँकी राख्यो । ब्रम्हाण्डको निर्माण हुँदा पदार्थ जत्तिकै नै विपरीत पदार्थ उत्पन्न भयो ।
हुनत सैद्धान्तिक रुपमा यी दुईले एक अर्कालाई नष्ट गर्नु पर्ने थियो, जसबाट उर्जाको एउटा ठूलो हिस्सा विस्फोट हुनुका अलावा केही पनि बच्दैन । तथापि पदार्थको रुपमा हाम्रो उपस्थिति छ ।
त्यसैले पदार्थले किन जित्यो र हामी किन अस्तित्वमा छौँ भन्ने सवालको जवाफ न्युट्रिनो नामक एक कण र त्यसको विपरीत एन्टी म्याटर अर्थात् एन्टी न्युट्रिनोको अध्ययनमा निहित रहेको वैज्ञानिकहरुको विश्वास छ ।
यसको लागि, अमेरिकाको इलिनोइसस्थित एक गहिरो प्रयोगशालाबाट ८०० माइल टाढा साउथ डकोटा स्थित डिटेक्टरमा न्यूट्रिनो र एंटी–न्यूट्रिनोको तरंग पठाउने तयारी छ । यस प्रयोगबाट वैज्ञानिकहरुले ती दुई कणको व्यवहार तथा गुणहरू वास्तवमा फरक छन् कि छैनन् भन्ने कुरा जान्न चाहन्छन् । यदि यस्तो फरक फेला परेमा म्याटरले एन्टी म्याटरलाई हराएको भनेर पुष्टि हुनेछ ।
जापान : ’हाइपर-के’ को उदय
जापानमा वैज्ञानिकहरूले पनि यहीँ रहस्यको उत्तर खोज्दै छन् । तर उनीहरूले त्यसका लागि चम्किलो सुनजस्तो डोम प्रयोग गर्दैछन्। उनीहरूको हाइपर–के नामक उपकरण पुरानो ‘सुपर–के’ को विशाल र परिष्कृत संस्करण हो ।
आगामी तीन वर्षभित्र आफ्नो न्यूट्रिनो बिम सञ्चालनमा ल्याउने जापानको योजना छ । वास्तवमा अमेरिकाको डून परियोजनाभन्दा जापानको परियोजना वर्षौं अगाडि छ । इम्पेरियल कलेज लन्डनका वैज्ञानिक डा. मार्क स्कट भन्छन्: हामीसँग ठूला डिटेक्टर छन्, जसले हामीलाई अमेरिकाको तुलनामा छिटो संवेदनशील जानकारी दिन सक्छ।
वैज्ञानिक सहकार्य, तर एक प्रकारको प्रतिस्पर्धा
डून परियोजनामा संलग्न डाक्टर लिन्डा क्रेमोनेसीका अनुसार यस क्षेत्रमा केही न केही प्रतिस्पर्धा त छ नै। तर हाइपर–केमा अहिलेसम्म ती सबै प्रविधि छैनन् जसले न्यूट्रिनो र एंटी–न्यूट्रिनोबीचको भिन्नता स्पष्ट गर्न सकून्।
विश्वका देश तथा वैज्ञानिकहरुबीच यस विषयमा प्रतिस्पर्धा चलिरहेकै भएपनि ब्रह्माण्डको उत्पत्तिबारे उत्तर पत्ता लगाउन अझै केही वर्ष लाग्नेछ । त्यति बेलासम्म यो प्रश्न एक रहस्यकै रुपमा रहनेछ कि आखिर समयको सुरुवातमा के त्यस्तो घटना भयो जसले हामीलाई अस्तित्वमा ल्यायो ? -बीबीसी
प्रतिक्रिया 4