
News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायली सेनाले गाजामा मानवीय सहायता वितरण स्थलमा आक्रमण गर्दा कम्तिमा २४ जनाको मृत्यु भएको छ।
- इजरायलको सीमातर्फ अघि बढ्नेहरुविरुद्ध आफ्ना सेनाले गोली चलाउनु परेको भन्दै इजरायलले आक्रमणको बचाउ गरेको छ।
- आइतबार मात्रै प्यालेस्टाइनी र अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूले कम्तिमा गाजामा ३१ जना मारिएको र दर्जनौं घाइते भएको बताएका थिए।
२० जेठ, काठमाडौं । गाजामा खाना वितरण भइरहेको स्थलमा इजरायल सेनाले आक्रमण गर्दा कम्तिमा २४ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । घटनामा दर्जनौं घाईते भएका छन् । स्थानीय स्वास्थ्य अधिकारीहरूले मानवीय सहायता वितरण कार्य चलिरहेको बेला मंगलबार फेरि हिंसा र रक्तपातका घटना देखिएको बताएका समाचार संस्था रोयटर्सले लेखेको छ ।
इजरायलले राफाहस्थित राहत वितरण केन्द्र नजिकै तोकिएको क्षेत्रभन्दा बाहिर गएका र इजरायलको सीमातर्फ अघि बढ्नेहरुविरुद्ध आफ्ना सेनाले गोली चलाउनु परेको भन्दै आक्रमणको बचाउ गरेको छ । उत्तरी गाजा पट्टीमा इजरायली सेनाले विद्रोही हमासका लडाकुहरूविरुद्ध महिनौँदेखि चलिरहेको आक्रमणलाई निरन्तरता दिँदै आएको छ ।
आफ्ना तीन सैनिक मारिएकाबताएको केही घण्टा नबित्दै इजरायलले राहत वितरण केन्द्रलाई निसाना बनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।अमेरिका समर्थित गाजा ह्युमनटेरियन फाउन्डेसन (जीएचएफ) ले गाजाको युद्धग्रस्त जनसंख्यामा मानवीय सहायता पुर्याउने भन्दै गतहप्ताबाट राहत वितरण कार्य थालेको थियो ।
यो संस्थालाई संयुक्त राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय संस्थाहरुले भने मान्यता दिएका छैनन् । जीवन रक्षाका लागि घर छाडेर आश्रय लिइरहेका मानिसहरु युद्धको चपेटमा पर्दै आएका छन् ।
मानवीय सहायता कार्यलाई ईजरायल र अमेरिकाले आफ्नो स्वार्थ प्राप्ति लागिका प्रयोग गरेको भन्दै राष्ट्रसंघले कडा आलोचना गरेको छ । तर, जीएचएफले भने मंगलबार बिहान गाजामा कुनै सुरक्षितरुपमा २१ ट्रक खाद्य सामग्री वितरण गरेको दाबी गरेको छ ।
राहत वितरणस्थलमा सहायता लिन आउने मानिसहरुको अत्यधिक भीडका कारण पछिल्लो समय दिनहुँजसो हत्याका घटना हुन थालेका छन् । इजरायली पक्षले भने राफामा पीडितहरुले पाउनुपर्ने राहत हमासका लडाकुको हातमा नपरोस् भनि साबधानी अपनाइएको र आवश्यक पर्दा आक्रमण गर्ने गरेको तर्क गर्ने गरेका छन् ।
आइतबार मात्रै प्यालेस्टाइनी र अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूले कम्तिमा गाजामा ३१ जना मारिएको र दर्जनौं घाइते भएको बताएका थिए । सोमबार पनि इजरायली सेनाले गोली चलाउँदा थप तीन प्यालेस्टाइनी मारिएको बताइएको थियो ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार सहायता खोज्ने क्रममा प्यालेस्टाइनीहरू मारिएको र घाइते भएको घटनाले आफूलाई स्तब्ध बनाएको प्रतिक्रिया दिँदै स्वतन्त्र छानबिनको माग गरेका छन् ।
७ अक्टोबर, २०२३ मा विद्रोही समूह हमासका लडाकुले एक हजार २ सय मानिसको हत्या गर्दै २५१ जनालाई बन्धक बनाएपछि इजरायलले गाजामा सैन्य अभियान सुरु गरेको थियो । त्यसयता ५४ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया 4